शिक्षा ऐन जारी गराउन दबाबसहित पुनः आन्दोलनको चेतावनी

फाल्गुन १६, २०८१

प्रकाश बराल

Warning of another movement with pressure to promulgate the Education Act

बागलुङ — नेपाल शिक्षक संघले संसद्‌को चालु हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गराउन दबाबासहित पुनः आन्दोलन गर्ने भएको छ । महासंघले एक लाखभन्दा बढी शिक्षकलाई काठमाडौंकेन्द्रित आन्दोलनमा उतार्ने केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

शुक्रबार नेपाल शिक्षक संघ बागलुङको ४३ औं प्रतिनिधिसभाको उद्घाटन गर्दै सुवेदीले अग्रगामी ऐन ल्याएर देशभरका १७ थरी शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए । संघीय शिक्षा ऐन नआउँदा शिक्षकको सरुवा, बढुवा र सेवासुविधामा समस्या भएको उनले टिप्पणी गरे । पटकपटकका सम्झौतालाई कमजोरी ठानेर सरकारले शिक्षा ऐन ल्याउन बेवास्ता गरेको भन्दै निर्णायक आन्दोलन छेड्ने उनले चेतावनी दिए ।

२०२८ सालमा आएको संघीय शिक्षा ऐनले अहिलेसम्म पनि काम गर्न खोज्दा धेरै समस्या थपिएको उनले बताए । संविधान जारी भएपछि ६ महिनाभित्र आउनुपर्ने ऐन नआएपछि शिक्षामा बेथिति  देखिएको उनको दाबी छ । अग्रगामी ऐन ल्याएर विद्यालय शिक्षकका समस्याको समाधान गर्न अन्तिम चरणको आन्दोलन सुरु भएको पनि उनले बताए ।

महासंघले सरकारलाई दिएको २४  बुँदे सुझाव कार्यान्वयन हुनैपर्ने उनको अडान छ । अबको आन्दोलनले पनि ऐन आएन भने कहिले पनि नआउने भन्दै उनले सबै शिक्षकलाई २० गते काठमाडौंमा भेला हुन आग्रह गरेका छन् । 

अबका दिनमा अस्थायी शिक्षक नराख्ने गरी ऐन ल्याउन, अस्थायी शिक्षकको पनि बिदा सञ्चित गर्न, सामाजिक सुरक्षा कोषमा आाधारित पेन्सनको व्यवस्था गर्न दबाब दिइने उनले बताए । बाल विकासका शिक्षकको पनि प्राथमिक तह तृतीय श्रेणीबराबर तलब हुनैपर्ने, योग्यता नपुगेका शिक्षक भए ससम्मान 'गोल्डेन ह्यान्सेक'सहित बिदाइ गर्ने लगायतको काम पनि छिट्टै गर्न महासंघले सुझाव पेस गरेको सुवेदीले बताए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully