काठमाडौँ — शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यार्थीलाई दिवा खाजा खुवाउन ७ प्रदेशका एक/एक नगरपालिकामा मेघा किचन स्थापना र सञ्चालन गर्ने भएको छ ।
केन्द्रका अनुसार मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका मेगा किचन स्थापना र सञ्चालनका लागि छनौट भएका छन् । केन्द्रका अधिकृत शान्ति विष्टले मेगा किचन स्थापना गर्न यी स्थानीय तहलाई ५० लाखका दरले बजेट पठाईएको बताईन ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा विद्यालयका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा खुवाउन दिवा खाजा कार्यक्रम परिमार्जन गर्ने घोषणा गरिएको थियो । बजेटमा ७ वटै प्रदेशको एक/एक वटा स्थानीय तहमा एकीकृत भान्साको अवधारणाअनुसार मेगा किचन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्ने उल्लेख छ । हाल सरकारले कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन विद्यालयमा नै दैनिक १५ रुपैंयाका दरले रकम उपलब्ध गराउँदै आएको छ ।
मेगा किचन अर्न्तगत स्थानीय तह भरका बालबालिकालाई स्थानीय उत्पादनमा आधारित खाजा एकद्धार प्रणालीमा खुवाउने लक्ष्य राखिएको छ । केन्द्रले मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रमको कार्यविधि समेत जारी गरिसकेको छ । कार्यविधिअनुसार स्थानीय तथा वा वडा भित्रको अगुवा विद्यालय मार्फत केन्द्रीकृत खाजा आपूर्तिको प्रबन्ध गर्नुपर्नेछ । छनोटमा परेका स्थानीय तहले मेगा किचन कार्यक्रम सञ्चालन गर्ने स्थान, खाजा उपलब्ध गराउने विद्यार्थीको संख्या, खाजा बनाउने जनशक्ति तथा ढुवानी व्यवस्था, स्थानीय, स्वच्छ र पोषणयुक्त खाजा बनाउने विधि प्रक्रियाको प्रतिबद्धता गरेका थिए ।
