अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले गाउँको पाठशालामा पाटी बोकेर अक्षर चिनेको बताएका छन् । उनले सामुदायिक स्कुलमा पढेको व्यक्ति प्रोफेसर, डाक्टर, इन्जिनियरदेखि देशको उच्च तहमा पुगेको बताएका छन् ।
उनले आफूले पढेको सन्धिखर्क नगरपालिका–९ अर्घारजस्थल माविबाट ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको उद्घाटन गर्दै सामुदायिक विद्यालयलाई नै शैक्षिक गुणस्तरमा अब्बल स्कुल बनाउनुपर्ने बताए ।
‘यही विद्यालयमा अक्षर चिनेँ, गुरुले सही शिक्षा नदिएको भए श्रेष्ठता हासिल गर्ने थिएन, अहिले यो स्थानसम्म पुग्न सफल भएँ,’ उनले भने, ‘सामुदायिक स्कुलका विद्यार्थीको मनोबल उच्च राख्न आफू मेरो विद्यालय, मेरो दायित्व अभियानको सुरुआत गरेका छौं ।’ उनले यही स्कुलमा आधारभूत तहको अध्ययन गरेका थिए । सुरुमा पाठशालाका रुपमा रहेको सो स्कुल अहिले अर्घा रजस्थल मावि बनेको छ ।
उद्घाटनका क्रममा आफ्नो दायित्वअनुसार मुख्यमन्त्री आचार्यले पूर्वविद्यार्थीको नाताले १ लाख ११ हजार १ सय ११ रुपैयाँको स्वर्गीय मातापिताको नाममा टीकाराम–तारादेवी अक्षयकोष स्थापना गरेका छन् । सो अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट दलित तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कृत गरिनेछ । त्यस्तै मेरो विद्यालय, मेरो दायित्व अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ आफूले जम्मा गर्दै अभियानको आचार्यले शुक्रबार शुभारम्भ गरेका हुन् । आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लाका सबैले आफूले पढेको विद्यालयमा कुनै न कुनै तरबारबाट मुठ्ठीदान गरी विद्यार्थीको शैक्षिक सुधारको निम्ति महत्वपूर्ण योगदान गर्दै यो अभियानमा जोडिन प्रदेशवासीलाई अपिल गरेका छन् ।
उनले मुठी दानले थैलो भरिने भएकाले मन फुकाएर शैक्षिक गुणस्तरवृद्धिको लागि आफूले पढेको स्कुलमा विभिन्न ठाउँमा पुगेका पूर्वविद्यार्थीलाई योगदान गर्न अनुरोध गरेका छन् । अर्घा रजस्थलमै पढेका विद्यार्थी अहिले उपप्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, डाक्टर, इन्जिनियरदेखि उच्च तहमा पुगेको पनि स्मरण गरे ।
लुम्बिनीको सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गरिएको हो ।
प्रदेशभित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ गरिएको हो । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको मन्त्रालयकी वरिष्ठ उपसचिव शारदा बस्यालले बताइन् ।
सार्वजनिक विद्यालयको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालय प्रतिको जवाफदेहीता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो । अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।
प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन् । जसमध्ये ४ हजार ५ सय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थीमध्ये ९ लाख २५ हजार ६ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यक देखाएअनुसार अभियान थालिएको हो ।
२०८० को एसईई परीक्षामा सहभागी ८० हजार २ सय २७ विद्यार्थीमध्ये ३१ हजार १ सय ३ जना मात्र ग्रेडेड हुन सफल भएका थिए, जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा ४ हजार ५ सय ३१ सामुदायिक विद्यालयमध्ये २ हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ ।
अभियानमार्फत विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । अभियानअन्तर्गत शिक्षाबाट वञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिने उपचिव बस्यालले बताइन् ।
