प्रदेशका १० मन्त्री, सभामुख, प्रदेश प्रमुख सचिव र पूर्वमुख्यमन्त्री आफूले अक्षर चिनेको विद्यालयमा शुक्रबार पुग्दै
बुटवल — लुम्बिनीका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदै छ । सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबार बिहान ११ बजे प्रदेशका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु हुन लागेको हो ।
अभियानका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा शुक्रबार पुग्दै छन् । मन्त्रालयका उपसचिव रामहरि रिजालका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य शुक्रबार ११ बजे अर्घाखाँचीको अर्घारजस्थल मावि पुग्नेछन् । सामाजिक विकासमन्त्री बर्दियाको गेरुवा–२ स्थित एकप्रिय राठौर मावि र भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल गुल्मीको कालीगण्डकी–१ मा रहेको दुर्गाभवानी मावि छापचौर पुग्नेछन् ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की गुल्मी दरबार–६ चारपालाको ईश्वरी मावि, प्रदेश प्रमुख सचिव बाबुराम अधिकारी पाल्पाको रिब्दीकोटस्थित आदर्श मावि पुग्ने कार्यक्रम छ । पूर्वमुख्यमन्त्रीहरू डिल्लीबहादुर चौधरी दाङको श्रीमहेन्द्र मावि तुलसीपुर, जोखबहादुर महरा रोल्पाको जनज्योति मावि गजुलकोट र प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर कपिलवस्तुको नेपाल आदर्श मावि शिवपुरमा उपस्थित हुनेछन् । रूपन्देहीको ज्ञानोदय मावि बुटवलमा कांग्रेस प्रमुख सचेतक जमुना ढकाल जाने तयारी छ । कृषिमन्त्री दिनेश पन्थी, दाङमा ऊर्जामन्त्री सीता शर्मा र उद्योग पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने गुल्मीका विद्यालयमा पुग्नेछन् । रुकुम पूर्वमा प्रदेशसभा सदस्य धनबहादुर खत्री, पाल्पामा स्वास्थ्यमन्त्री खेम सारू र बाँकेमा आन्तरिक मामिलामन्त्री आदेशकुमार अग्रवाल पुग्नेछन् ।
मुख्यमन्त्रीसहित सबै मन्त्री र पूर्वविशिष्टलाई पूर्वविद्यार्थीको हैसियतमा अभियानमा जोडेर सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास सुरु गर्न लागिएको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बताए । ‘ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा शिक्षक र अभिभावकले पनि सुधारका लागि आवश्यक पहल गर्नुभएकै छ, त्यसमा थप सहयोग हामीले गर्न लागेका हौं,’ उनले भने । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारले ग्रामीण क्षेत्रको बसाइँसराइ रोक्ने, चर्को शुल्कमा निजीमा पढाउने प्रतिस्पर्धा न्यूनीकरण गर्ने भएकाले पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन अभियान ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपानेले पहिलो चरण सकिएपछि दोस्रो चरणको अभियान चल्ने जानकारी दिए । ‘सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पूर्वविद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्छन् भन्ने विश्वास छ ।’
मुख्यमन्त्री आचार्यले ७ कक्षासम्म शिक्षा लिएको सन्धिखर्क–९ अर्घास्थित अर्घारजस्थल माविका प्रधानाध्यापक नीरज भट्टराईले पूर्वविद्यार्थी र सरोकारवालालाई जुटाउने प्रयास भइरहेको बताए । पूर्वविद्यार्थीबाट विद्यालयको शैक्षिक सुधारमा कस्तो सहयोग हुन सक्छ, के गर्दा गाउँको वा आफ्नो विद्यालयको सुधार हुन सक्छ, के प्रतिबद्धता आउन सक्छन् भन्ने नै शुक्रबारको उपस्थितिको उपलब्धि हुने उनको भनाइ छ ।
