व्यवहारिक शिक्षा र आकर्षक सुविधा नहुँदासम्म युवा पलायन रोकिँदैन : थापा

माघ १०, २०८१

नवीन पौडेल

Youth migration will not stop until there is practical education and attractive facilities: Thapa

परासी — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजारको मागअनुसार शैक्षिक कार्यक्रम संचालन नहुँदा बेरोजगारी बढेको बताएका छन् । बजारमा माग एउटा जनशक्ति छ, हामीले शिक्षित बनाउने नाममा व्यवहारिक शिक्षामा जोड दिन नसक्दा अहिलेको अवस्था आएको उनले बताए । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सेमरीमा प्रस्तावित आदर्श क्याम्पस भवनको शिलान्यास गर्दै थापाले यस्तो बताएका हुन् । ‘बजार कठोर छ, उसले व्यवहारिक र दक्ष जनशक्ति खोजेको छ । तर, हामीले प्राविधिक शिक्षामा जोड दिन सकेनौं,’ उनले भने, ‘अबको आवश्यकता प्राविधिक शिक्षा, रोजगारीको ग्यारेन्टी र आकर्षक सुविधा नभएसम्म युवा जनशक्तिको विदेश पलायन रोक्न निकै कठिन छ । ’

नेपालमा हरेक वर्ष ५ लाख युवा जनशक्तिलाई रोजगारीको आवश्यकता भए पनि सरकारले मुस्किलले २० हजारलाई रोजगारी दिने र बाँकी निजी क्षेत्रको जिम्मामा आउने बताए । त्यसका लागि सरकारले निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना हुने वातावरण बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । 

प्रतापपुर गाउँपालिकाले सेमरीमा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले १० कोठे पक्की भवन सहितको क्याम्पस निर्माण गर्न लागेको छ । जसको लागि ३ करोड ६५ लाख लागत अनुमान गरिएकोमा चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully