वीरगन्ज — सात महिनादेखि तलब नपाएको भन्दै पर्साको बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षकले विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म तलब तथा सेवासुविधा नपाएका २० वटा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीले आइतबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई साँचो हस्तान्तरण गरेका हुन् । ‘२०८१ साउनदेखिको हाम्रो तलब खोई ?, शिक्षक एकता जिन्दावाद, हाम्रो माग पूरा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर शिक्षकहरु जिल्ला प्रशासन पुगेका थिए ।
पटकपटक माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउनु परेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए । ‘हामी बालबालिकाप्रति संवेदनशील छौँ, पढाई लेखाई रोक्ने पक्षमा कहिले हुँदैनौं । तर, सात महिनादेखि तलब नपाएपछि बाध्य भएका छौं,’ उनले भने ।
सरकारले अनिवार्य गरेको दिवा खाजाबाट समेत बहुदरमाई नगरपालिकाका बालबालिका बञ्चित बनेका छन् । परीक्षा सञ्चालनका लागि समेत नगरपालिकाले रकम निकासा नगरेको उनले खुलाए । दसैंतिहार, छठ, माघे संक्रान्तिलगायतका पर्वमा समेत तलब नपाएपछि जीविकोपार्जन गर्न कठिनाई भएको उनीहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी अर्यालले तलब निकासाका लागि मौखिक र लिखित रुपमा प्रयास गर्दा पनि सफल नभएको बताए ।
चालु आर्थिक वर्षको सातौं महिना पुग्दा पनि बहुदरमाई नगरपालिकाको बजेट प्रमाणीकरण भएको छैन् । नगर प्रमुख सिंघासन साह तेलीले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा बजेट निकासा हुन नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम असार १० सम्ममा अगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ । तर, बहुदरमाईको २०८१/०८२ को बजेट निर्धारित समयभन्दा झन्डै चार महिना पछि गत कात्तिक ८ गते ११ औं नगरसभामा प्रस्तुत भएको थियो ।
नगरसभा सम्पन्न भएको तीन महिना पुग्न लाग्दा पनि नगर प्रमुखले बजेट खर्चको अख्तियारी दिएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ । नगर प्रमुख साहले नगरसभामा प्रस्तुत भएको बजेटले नगरपालिकाको विकास नहुने भन्दै खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएको बताउँदै आएका छन् । वडा ३ का अध्यक्ष दिनेश यादवका अनुसार नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृत मो.शेरे मुस्ताफाको सरुवा नहुन्जेल आफूले बजेट प्रमाणीकरण नै नगर्ने अडान लिएको बताए ।
तलब निकासा नहुँदा शिक्षकले विद्यालयमा पठनपाठन नगराएको भन्दै गत पुस ५ गते विद्यार्थीहरुले नगरपालिका कार्यालयमा आगजनी तथा तोडफोडसमेत गरेका थिए ।
