हिमाली जिल्लाको शैक्षिक सत्र फागुन १ देखि सुरु गर्न माग 

माघ १, २०८१

डीबी बुढा

Demand to start the academic session of the Himalayan district from February 1

जुम्ला — वर्तमान शैक्षिक सत्रले हिमाली जिल्लाहरुको पठनपाठनमा समस्या भएको भन्दै फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु गर्न माग गरिएको छ । वैशाख महिनादेखि हुने शैक्षिक सत्रले हिमाली जिल्लाका विद्यालयहरु प्रभावित बनेको भन्दै साविकको फागुन १ गतेदेखि नै शैक्षिकसत्र सुरु गर्न माग गरिएको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश मल्लले शैक्षिकसत्र संशोधनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई पत्र पठाइसकिएको छ । जिल्लामा बसेको शिक्षाका सरोकारवाला, माध्यमिक विद्यालय तहका प्रधानाध्यापकहरु र जनप्रतिनिधिहरुसँगको छलफलको निष्कर्षलाई आधार मानेर शैक्षिकसत्र संशोधनको माग गरिएको उनको भनाइ छ । 

गत मंसिर २० गते बसेको माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले पनि हिमाली जिल्लाहरुको शैक्षिकसत्र संशोधन गर्नुपर्ने निष्कर्ष निकालेका थिए । यो भन्दा अघि वैशाख महिनामा पनि शिक्षाका सरोकारवालासँग अहिलेको शैक्षिकसत्रले पारेको समस्याका बारेमा छलफल भएको थियो । उनीहरुको राय पनि फागुन १ देखि नै शैक्षिकसत्र सुरु हुनुपर्ने थियो । 

आठवटा स्थानीय तहका प्रमुख, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखहरु थिए । शैक्षिक सत्रले जुम्लालगायत हिमाली क्षेत्रमा पठनपाठन तथा शैक्षिक गतिविधिमा कठिनाइ ल्याइरहेको स्थानीयले बताएका छन् । जाडो महिनामा सहज रूपमा पठनपाठन सुनिश्चित गर्न साविककै फागुन १ गतेबाट शैक्षिक सत्र सुरु गर्नुपर्ने सुझाव सहितको माग पत्र पठाइएको प्रमुख मल्लको भनाइ छ ।

पत्रमा बैठक र छलफलमा शैक्षिकसत्र संशोधनका लागि गरेका निर्णयहरु समेत संलग्न गरी आवश्यक कार्यान्वयन गर्न आग्रह गरिएको छ । जुम्लाको भौगोलिक बनावट र मौसमी परिस्थितिका कारण वर्तमान शैक्षित्र सत्रले विद्यार्थीहरुको सिकाइ प्रक्रियामा अवरोध ल्याइरहेको छ । यसलाई केन्द्रमा राख्दै निर्णय कार्यान्वयनका लागि पत्र पठाइएको हो । 

इकाइ प्रमुख मल्लले शिक्षा मन्त्रालय र मानव स्रोत विकास केन्द्रले लिने निर्णयका आधारमा जुम्लामा शैक्षिकसत्र सुरुवात कहिलेदेखि गर्ने भन्ने टुंगोमा पुग्न सकिने बताए । 

मंसिरमा वार्षिक परीक्षा दिएर नतिजा आइसकेपछि फागुनदेखि शैक्षिकसत्र थालनी गर्न माग गरिएको हो । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully