मेरिटका आधारमा नियुक्ति गर्न बाधा पुग्ने कार्यविधि संशोधन गर्ने, जग्गासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पत्र लेख्ने, उत्तरपुस्तिका हराउनुमा दोषी ठहरिएकालाई कारबाही गर्ने त्रिविको प्रतिबद्धता
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) कार्यकक्ष अगाडि पाँच विद्यार्थी संगठनले एक सातादेखि गर्दै आएको धर्ना स्थगित भएको छ । तिनै विद्यार्थी संगठनले त्रिविका तीन निकायमा गरेको तालाबन्दी भने कायमै छ ।
माओवादीनिकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादीसम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौं), नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल समाजवादी र समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले १० बुँदे माग राख्दै रेक्टर खड्ग केसीको कार्यकक्ष छिर्ने ढोकामा धर्ना दिँदै आएका थिए ।
विद्यार्थी कल्याण निर्देशनालयसँगको सहमतिपछि धर्ना स्थगन गरिएको अखिल क्रान्तिकारी त्रिवि इकाईका अध्यक्ष दिनेश ऐरले जानकारी दिए । धर्नाका कारण रेक्टर केसीलाई कार्यालय आउजाउ गर्नसमेत बाधा पुगेको थियो । ‘माग पूरा गर्न विश्वविद्यालय तयार भएपछि धर्ना स्थगन गरेका छौं,’ ऐरले भने ।
क्याम्पस र विभागीय प्रमुखको नियुक्ति दलीय भागबन्डाबिना गर्नुपर्ने, त्रिविको जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, विभागमा बिहानी र दिवा कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने, सेवा आयोगको विज्ञापन तत्काल खोल्नुपर्नेलगायतका माग विद्यार्थी संगठनले अघि सारेका थिए ।
त्रिविले मेरिटका आधारमा उत्कृष्टलाई नियुक्ति गर्न बाधा पुग्ने कार्यविधि संशोधन गर्ने, जग्गासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पत्र लेख्ने, उत्तरपुस्तिका हराउनुमा दोषी ठहरिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि ३५ बुँदे माग राख्दै उपकुलपति कार्यकक्षको मूल ढोकामा धर्ना बसेका सत्तारूढ एमालेनिकट अनेरास्ववियुका इकाई अध्यक्ष सिद्धान्त भट्टसँग त्रिविले पुस १४ मा सहमति गरेको थियो । अखिल क्रान्तिकारीलगायत पाँच विद्यार्थी संगठनले केन्द्रीय क्याम्पस, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखा र स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा तालाबन्दी जारी राखेका छन् ।
एनपीएलमा पार्किङ शुल्क उठाएको विषयमा छानबिनको माग राख्दै उनीहरूले यी निकायमा तालाबन्दी गरेका हुन् । सोही समूहले भौतिक विज्ञान विभागमा गरेको ताला भने गत साता खुलेको छ । स्ववियु अध्यक्ष श्यामराज ओझानिकट विद्यार्थीले प्रतियोगिताको पहिलो दिन शुल्क उठाएको आरोप छ ।
