कक्षा छोडेर ट्युसन पढ्न कालीकोटबाट सुर्खेत

पुस १४, २०८१

तुलाराम पाण्डे, कृष्णप्रसाद गौतम

Surkhet from Kalikot to study tuition after leaving class

सुर्खेत, कालीकोट — कालीकोटको तिलागुफा नगरपालिका–४ राचुलीस्थित कालिका माध्यमिक विद्यालयमा आगामी बुधबारसम्मका लागि मंसिर १४ गतेदेखि जाडो बिदा भयो । तर त्यसअघि नै विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी एसईईको ट्युसन पढ्न सुर्खेत झरिसकेका छन् ।

विद्यालयमा कक्षा १० मा ३३ जना विद्यार्थी अध्ययनरत भए पनि अहिले गाउँमा कोही नभएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर शाहीले बताए । उनका अनुसार दसैंतिहार बिदापछि नै केही विद्यार्थी सुर्खेत झरिसकेका थिए ।

‘अब जाडो बिदा सकिन एक हप्ता पनि बाँकी छैन, तर कसैले पनि विद्यालय आउनेबारे जानकारी दिएका छैनन्,’ उनले भने, ‘ट्युसन पढ्न सुर्खेत जाने त यहाँका लागि फेसनजस्तै भइसक्यो, अब उनीहरु फागुन—चैतमा मात्र एसईई दिन जिल्ला फर्किन्छन् ।’

उनका अनुसार गत वर्ष विद्यालयबाट ३४ जनाले एसईई दिएकोमा नियमिततर्फ एक जना मात्र उत्तीर्ण भएका थिए । विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षकको संख्या शून्य छ भने २ जना राहत र एक पालिका अनुदानका शिक्षकले पठनपाठन गरिरहेका छन् ।

तिलागुफाकै शिवालय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आदित्य शाहीले मंसिर पहिलो साता ट्युसन पढ्न सुर्खेत झरेको बताए । ‘कोर्ष बढीमा ५० प्रतिशत पनि सकिएको छैन, त्यसैमा दसैं र जाडो बिदाले पढाइ रोकियो,’ उनले भने, ‘अब गाउँमा बस्दा एसईईको तयारी नपुग्ने देखिएपछि यता आएर ट्युसन सुरु गरेका हौं ।’

उनीसहित कक्षा १० कै विमल ढकालले पनि एक इन्स्टिच्युटमा ट्युसन पढिरहेका छन् । विद्यालयबाट झण्डै एक दर्जन विद्यार्थीले आफूहरुसँग ट्युसन पढिरहेको ढकालले बताए । अहिले प्रदेश राजधानी वीरेन्द्रनगरका ट्युसन सेन्टरहरु खचाखच भरिएका छन् ।

ट्युसन सेन्टरले प्रतिविद्यार्थी २ हजार मासिक शुल्क लिएर एसईईको ट्युसन पढाइरहेका हुन् । गत वर्ष ६२ विद्यार्थीले कक्षा ९ को रजिष्ट्रेसन फाराम भरेकोमा दसैं बिदाअघि ३० जना नियमित विद्यालय आउने गरेको महादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद न्यौपानेले बताए । उनका अनुसार कक्षा १० मा झण्डै ६० देखि ८० प्रतिशतसम्म कोर्ष सकिएको छ ।

‘एसईई दिने विद्यार्थीका लागि गाउँमै अतिरिक्त कक्षाको व्यवस्था गर्नसके अभिभावकको खर्च जोगिन्थ्यो, विद्यार्थीको शैक्षिक गुणस्तर पनि बढ्थ्यो,’ उनले भने, ‘यसमा विद्यालयको प्रयासले मात्र विद्यार्थी रोक्न सक्ने अवस्था छैन ।’ उनका अनुसार विद्यालयमा ४ जना माध्यमिक तहका शिक्षक कार्यरत छन् भने एक शिक्षकका लागि विद्यालयले पदपूर्तिको सूचना निकाल्ने तयारी गरेको छ ।

विषयगत शिक्षकको अभाव, चिसो मौसम, देखासिकी र बाहिरै पढ्नुपर्ने विद्यार्थीको मानसिकताले विद्यार्थीलाई गाउँमा रोक्न नसकिएको शिवालय माविका व्यवस्थापन समिति अध्यक्ष बिर्ख सुनारले बताए । ‘कम्तीमा ४ महिना विद्यार्थीहरु सुर्खेतमा ट्युसन पढ्छन्, एक महिनामा कम्तीमा विद्यार्थीको १० देखि १२ हजार खर्च हुन्छ,’ उनले भने, ‘यहाँका अभिभावक सबैजसो विपन्न छन्, जसका कारण ऋण खोजेर भए पनि बालबालिकालाई सुर्खेत पढाउनुपर्ने बाध्यता छ ।’

Surkhet from Kalikot to study tuition after leaving class

स्थानीय अभिभावक सन्तोष शाहीले अंग्रेजी, गणित, विज्ञान, ऐच्छिक गणित गरी ४ विषयको ट्युसन पढ्न बालबालिकाले गाउँ छोडेको बताए । ‘यो बाध्यता त बर्सेनिको हो, विद्यालयमा कोर्ष नसकिँदा पनि विद्यार्थी ट्युसन पढ्न सुर्खेत झर्छन्,’ गत वर्ष र अघिल्लो वर्षगरी दुई छोरा विपिन र राकेशलाई सुर्खेतमा ट्युसन पढाएका उनले भने, ‘३/४ महिना ट्युसन पढाउँदा बालबालिका लागि ५०/६० हजार खर्च गर्नुपर्ने बाध्यता छ ।’

गाउँमा अत्यधिक चिसो हुने र नियमित पढाइ नहुने भएकाले ट्युसन पढ्न जिल्ला छोडेको कालिका मावि कक्षा १० का विद्यार्थी विटी शाहीले बताए । जाडोका कारण फोइमहादेव, राचुली, चिल्खायालगायतका तिलागुफा नगरपालिकाका-११ वटा माध्यमिक विद्यालयमा मंसिर, पुस र माघमा पढाइ प्रभावित हुने गरेको छ । आर्थिक अवस्था कमजोर भएर टाढा जान नसक्ने विद्यार्थी भने सदरमुकाम मान्मका ३ ट्युसन सेन्टरमा जाने गरेका छन् ।

अंगेजी, गणित र विज्ञान विषयको ट्युसन पढ्न गाउँबाट गएका विद्यार्थीले प्रतिविषयको २ हजारका दरले मासिक शुल्क तिर्ने गरेको कालिका माविका शिक्षक कृष्णऋषि न्यौपानेले बताए । तिलागुफा नगरप्रमुख शंकरप्रसाद उपाध्यायले एसईई दिने विद्यार्थी बाहिर जाने प्रवृत्ति वर्षौदेखि रहेकाले रोक्नका लागि कार्ययोजना बनाउन थालिएको बताए ।

‘यसमा शिक्षक, विद्यार्थी, अभिभावक सबै जिम्मेवार हुन जरुरी छ,’ उनले भने, ‘विद्यालयमा नियमित पठनपाठन गराउने, समयमै कोर्ष सकाउने, अतिरिक्त कक्षा विद्यालयमै सञ्चालन गर्नेलगायत योजना समेटेर विद्यालय सुधारका लागि पालिकास्तरीय कार्ययोजना बनिरहेको छ ।’

कालीकोटका ६४ माविबाट यो वर्ष झण्डै ४ हजार विद्यार्थीले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लालप्रसाद पोखरेलले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully