गुणस्तरीय र प्रविधिमैत्री शिक्षा जरुरी : मन्त्री तिमिल्सिना

पुस ९, २०८१

सन्जु पौडेल

Quality and technology-friendly education is necessary: ​​Minister Timilsina

तिलोत्तमा — लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् । उनले त्यसका लागि अहिलेको शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने बताए ।

रुपन्देहीको सियारी गाउँपालिकामा सुरु भएको पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रको सुधारका लागि लुम्बिनी प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरेको बताए । 

'शिक्षा सुधारका लागि शिक्षकसँग सम्बन्धित सम्पूर्ण संघ, संगठन तथा बौद्धिक वर्गले आवश्यक सहयोग तथा सुझाव दिनुहोस्,' उनले भने, 'हामी शिक्षाको विकास गर्न मिलेर अघि  बढौं ।'

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद् तुलसीप्रसाद चौधरीले शिक्षाको गुणस्तर विकास र प्रविधिमैत्री शिक्षाका लागि सरकारले आवश्यक काम गर्दै जानुपर्ने बताए । उनले शिक्षा क्षेत्रको विकासमा पनि हरेक क्षेत्रले हातेमालो गर्न जरुरी रहेको बताए ।

पुस १२ गतेसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका २५ सामुदायिक, ६ संस्थागत र २ मदरसासहित ३३ वटा विद्यालयको सहभागिता रहने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए  ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully