नेपाल विश्वविद्यालयको कुलपतिमा लोहनी

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Chancellor of Nepal University

काठमाडौँ — नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । संरक्षण परिषद्को काठमाडौंमा सम्पन्न पहिलो बैठकले लोहनीलाई कुलपतिमा चयन गरिएको विश्वविद्यालयले जनाएको छ ।

उनको ४ वर्षे कार्यकाल हुनेछ् । नेपाल विश्वविद्यालय ऐन २०८१ मा सर्वोच्च शासकीय निकायका रुपमा संरक्षण परिषद् (बोर्ड अफ ट्रष्टी) हुने व्यवस्था छ । संघीय संसदबाट पहिलो पटक प्रधानमन्त्री, शिक्षामन्त्रीबाहेकबाट कुलपति हुने व्यवस्थासहित गत असोजमा ऐन प्रमाणित भएको थियो ।

संरक्षण परिषद्का मनोनित सदस्यहरू मध्येबाट कुलपतिको चयन हुने ऐनको व्यवस्थाअनुसार लोहनीलाई चयन गरिएको विश्वविद्यालयले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

एसियाली विकास बैंकको उपाध्यक्ष भईसकेका लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका थिए ।

उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । 

नेपाल सरकारको निजामती सेवाबाट पेसागत जीवन सुरु गरेका उनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत थिए । नेपाल विश्वविद्यालय ऐन पारित भएपछि स्थापना र सञ्चालनको तयारी गरिरहेको छ । नवलपरासी क्षेत्रमा विश्वविद्यालय सञ्चालन गर्ने तयारी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully