काठमाडौँ — शिक्षा मन्त्रालयको सहकार्यमा रातो बंगाला फाउन्डेशनले गुणस्तरीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।पुस ५ देखि ७ गतेसम्म ललितपुरमा हुने ३ दिने सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, पढाइ र सिकाइ, पूर्वप्राथमिक शिक्षा, प्रविधि र नवप्रवर्द्धन, जलवायु परिवर्तन र शिक्षा र समावेशीकरण र समाजिक भावनात्मक विकास विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
फाउन्डेसनले तेस्रो संस्करणका रुपमा सम्मेलन आयोजना गर्न लागेको हो । यसअघि सन् २०१३ र २०१९ मा सम्मेलनको आयोजना गरिएको फाउन्डेसनले अध्यक्ष शान्ता दीक्षितले जनाइन् । शिक्षालाई गुणस्तरीय बनाउने उपायहरुको खोजी गर्न सम्मेलन आयोजना गरिएको उनले बताइन् । ‘देश विदेशका नीति निर्माता अनुसन्धानकर्ता र शिक्षामा आबद्ध सरोकारवालाबीच संवाद गरी गुणस्तरीय शिक्षा बनाउने उपायको खोज सम्मेलनले गर्छ,’ उनले भनिन् ।
शिक्षाको अवस्थाको समीक्षा गर्दै अन्तराष्ट्रिय स्तरको शिक्षा बनाउन सम्मेलनबाट आएका सुझावहरू प्रतिवेदन बनाएर सरकारलाई बुझाउने फाउन्डेसनले जनाएको छ । ‘सम्मेलनको उद्देश्य शिक्षाको गुणस्तरको विषयमा छलफल गरी शिक्षामा भएका कमीकमजोरीहरु निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु हो,’ फाउन्डेसनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालको भावी शिक्षा प्रणालीलाई सकारात्मक मोड दिनु सम्मेलनको लक्ष्य रहेको जनाइएको छ । सम्मेलनमा देश र बिदेशका गरी ५ सयभन्दा बढी शिक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ । ६३ वटा सत्रमा छलफल गरेर प्रतिवेदन तयार गरिने दीक्षितले बताइन्। शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले सम्मेलनपछि प्राप्त सुझावले शिक्षा प्रणालीमा सुधार गर्न सरकारलाई सहयोग पुग्ने जनाए ।
