डिन नियुक्तिमा सधैंको भागबन्डा

कांग्रेस र माओवादी निकटका पहिलो नम्बरमा परेकालाई हटाएर एमाले निकट नियुक्त

मंसिर ३०, २०८१

सुदीप कैनी

Permanent stake in dean appointments

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका हरेक पदमा राजनीतिक भागबन्डा वर्षौंदेखि चलिरहेको छ । ५ अध्ययन संस्थान र ३ संकायमा ८ जना डिन नियुक्तिमा पनि यसैको निरन्तरता देखियो । प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि बनाएर छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरी प्रक्रिया अघि बढाएइए पनि नियुक्तिअघि सत्तारुढ दलको स्वार्थ सतहमा देखियो । 

रेक्टर खड्ग केसीले कार्यकारी परिषद्को बैठकले डिन नियुक्त गर्ने निर्णय गरेको बताए । त्रिविले प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि पछ्याएको थियो । तर सत्तारुढ एमालेले उक्त प्रक्रियामा प्रश्न उठाउँदै विरोध गरेपछि अन्ततः मेरिट मिचेर डिन नियुक्त गरियो ।

कतिसम्म भने नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएपछि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले समेत पुस ७ गतेसम्म नियुक्ति गर्न उपकुलपति केशरजंग बराललाई निर्देशन नै दिनुपरेको थियो । बराल सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेकालाई डिन नियुक्त गर्नुपर्ने अडानमा उभिएका थिए । रेक्टर केसी लगायत कार्यकारीका सदस्यहरु सिफारिस परेका ३/३ जना मध्ये एक जनालाई नियुक्त गर्न सकिने पक्षमा थिए ।

विवाद बढेपछि ३ मध्ये एकलाई छनोट गर्दै डिन नियुक्त गरियो । किनकि यसो गर्दा छनौटमा परेको तीनमध्ये एक छान्दा राजनीतिक भागबन्डा पूरा गर्न सकिने थियो । जहाँ जहाँ राजनीतिक स्वार्थ छ, त्यहाँ त्यहाँ छनौटमा परेका तीनबाट एक जना छानियो भने जहाँ जहाँ दलहरुको प्राथमिकता थिएन, त्यहाँ भने एक नम्बरमै परेकालाई डिन बनाइयो । नियुक्ति गर्दा दल निकट भनेर प्रस्ट नखुलेका एकसहित कांग्रेस निकट ३, एमाले/माओवादी निकट २/२ जना प्राध्यापक डिन नियुक्त भएका छन् । 

Permanent stake in dean appointments

दसैंअघिदेखिको रस्साकस्सीपछि अन्ततः चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा महानन्द चालिसे, मानविकी तथा सामाजिकशास्त्र संकायमा द्विविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शंकर खनाल डिन नियुक्त भए । उनिहरुले आजै उपकुलपति कार्यालयमा पुगेर नियुक्तिपत्र बुझिसकेका छन् ।

डिन नियुक्तिमा एमालेको सबैभन्दा धेरै चासो ईन्जिनियरिङ अध्ययन संस्थान र शिक्षा संकायमा थियो । यी दुवैमा एमालेले मेरिट मिचेर डिन नियुक्ती गरीछाड्यो । ईन्जिनियरिङ अध्ययन संस्थानमा सुवर्ण शाक्य र शिक्षामा चित्रबहादुर बुढाथोकी पहिलो नम्बरमा थिए । यद्यपी विगतमा डिन नदोहोर्‍याउने कार्यकारी परिषद्को नीतिका कारण बुढाथोकी बाहिरिएको र शाक्यको बिषयमा निजी कलेजमा लगानी लगायतका बिषयमा गुनासो आएकाले विकल्प खोजिएको पदाधिकारी निकट स्रोतले दावी गरेको छ ।

व्यवस्थापन संकाय, वन र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा भने कांग्रेस निकट प्राध्यापक डिन नियुक्त भएका छन । आईओएममा नवनियुक्त डिन शर्मा स्वतन्त्र छविका भएका रुपमा पनि चिनिन्छन् । कृषि तथा पुश विज्ञान अध्यक्ष संस्थान र मानविकी संकाय माओवादी पक्षधरले हात पारेका छन् । पदाधिकारीले भने कार्यकारी परिषद्ले तीन जना मध्ये एक जना छान्ने विधिबाट सर्वसम्मतिले नियुक्ति गरिएकाले मेरिट नमिचिएको दावी गरेका छन् । पदाधिकारीले दलको सिफारिसमा सिधै नियुक्ति दिनुभन्दा प्रतिस्पर्धा ३ जना मध्ये एक जना छनौट गर्दा भागवन्डा निरुत्साहित हुदैं जाने तर्क गर्ने प्राध्यापकहरु पनि छन् ।

उपकुलति, रेक्टर, रजिष्ट्रार पद भागवण्डा गरेर लिने अभ्यासको सुरुवात २०६२/०६३ भएको थियो । त्यसयता कांग्रेस, एमाले, माओवादीले भागवन्डा गरेरै यि पदहरु लिदै आएका छन् । यस्तै अभ्यास डिन नियुक्तीमा पनि देखिन्छ । यसअघि एमाले कोटाबाट धर्मकान्त बास्कोटा उपकुलपति हुँदा एमालेलाई ५, कांग्रेस/माओवादीले २/२ डिन भागवन्डा गरिएको थियो । 

केपी शर्मा ओलीको नेतृत्वमा त्यतिबेला नेकपा सरकार भएकाले रेक्टर र रजिष्ट्रार समेत माओवादी र एमाले निकटलाई बनाईएको थियो । बाँस्कोटा अघि कांग्रेसको कोटामा तीर्थ खनियाँ उपकुलपति हुँदा एमाले कोटामा रजिष्ट्रार र माओवादी कोटामा रेक्टर थिए । उनले कांग्रेस निकट ५ र एमाले /माओवादीबाट २/२ जनालाई डिन बनाएका थिए । डिन भागवन्डामा राजनीतिक दलबीच सबै किचलो हुँदैं आएको छ । आईओएमका पूर्वडिन जगदिश अग्रवाल डिनहरु मार्फत राजनीतिक स्वार्थ पुरा गर्ने उद्देश्यले दलहरुले दबाव र हस्तक्षेप गर्ने गरेको बताउँछन् । ‘डिन कार्यालय मार्फत निजी सम्बन्धनमा चलखेल हुनेगर्छ,’ उनले भने, ‘डिन कार्यालयमा अरु त्यस्तो धेरै अधिकार त केहि छैन ।’ राजनीतिक प्रतिष्ठाको कारण पनि दलहरुले नियुक्तिमा चासो दिने गरेको त्रिविका प्राध्यापकहरु बताउँछन् ।

यसपटक एक सय पूर्णाङ्कमा प्रतिस्पर्धा गर्ने गरी कार्यकारी परिषद्ले डिन नियुक्ति सम्बन्धी विनियम (कार्यविधि) जारी गरि छुट्टाछुट्टै सिफारिस समिति समेत गठन गरेको थियो । सिफारिस समितिले सिफारिस गरेको पहिलो नम्बरमा एमाले निकट प्राध्यापक नपरेपछि एमाले नेता, कार्यकर्ता रुष्ट बनेका थिए । महासचिव शंकर पोखरेलले ‘मेरिटोक्रेसीको नाममा भत्ता मजाक गरेको’ आरोप लगाउँदै उपकुलपति बरालको सार्वजनिक रुपमै आलोचना गरेका थिए । उनले विश्वविद्यालयबाट एउटा वैचारिक समुहलाई निषेध गर्ने गरी‘मेरिटोक्रेसीको भत्ता नाटक मञ्चन’ गरिएको दावी गरेका थिए । 

भातृसंगठन अनेरास्ववियुले पनि मेरिट पारदर्शी नभएको र आफु निकटलाई नियुक्ति दिन लागिएको आरोप लगाएको थियो । उपकुलपति बराल नै दोस्रो नम्बरमा सिफारिस भएकोबाट बनाएकाले पहिलो नम्बरबाट डिन बनाउने भए उपकुलपतिले पद छाड्नु पर्ने नेता, कार्यकर्ता तर्क गर्थे । मेरिटको आधारमा नियुक्ति गरेपनि काम गर्ने वातावरण नहुने भन्दै बराल पहिलो नम्बरबाटै नियुक्ति गर्ने अडानबाट पछि हटेको उनको सचिवालय निकट स्रोतले जनायो । विश्वविद्यायमा एमाले निकट विद्यार्थी, कर्मचारी, प्राध्यापकले विभिन्न माग राखी आन्दोलनको थालनी गरेका थिए ।

कार्यकारी परिषद्ले दुई अनुसन्धान केन्द्र र एक निर्देशनालयमा निर्देशकहरू पनि नियुक्त गरेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा मिना राजभण्डारी र त्रिवि योजना निर्देशनालयमा लक्ष्मीकान्त शर्मा नियुक्त गरेको छ । यसअघि मेरिटको आधारमा उपकुलपति बरालले पहिलो नम्बरका परेकाहरुबाट ६ जना सहपरीक्षा नियुक्त गरिसकेका छन् । १८ वटा क्याम्पसको प्रमुख सोहि प्रक्रियाबाट नियुक्त गर्ने तयारी छ । त्रिविमा डिनहरु असारदेखि रिक्त छ । दसैंअघि नै डिनहरु नियुक्त गर्ने भनेपनि कार्यकारी परिषद्मा सहमति नहुँदा ढिलाई हुँदै आएको थियो ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully