काठमाडौं विश्वविद्यालयका १ हजार २ सय ५६ विद्यार्थी दीक्षित

मंसिर ३०, २०८१

ज्योती श्रेष्ठ

1 thousand 256 students of Kathmandu University Dixit

काभ्रे — काठमाडौं विश्वविद्यालयका १ हजार २ सय ५६ विद्यार्थी शनिबार दीक्षित भएका छन् । पीएचडी तहका ३, पीजीडीका ५१, एमफिलका ३३, स्नातकोत्तर तहका ३ सय ८५, स्नातक तहका ७ सय ८४ जना दीक्षित भएका हुन् ।

तीमध्ये मानविकी संकायका १ सय ११, शिक्षाका २ सय ५३, इन्जिनियरिङका ७७, कानुनका ३९, व्यवस्थापनका ४ सय ६५, चिकित्सा विज्ञानका १ सय ८१ र विज्ञानका १ सय ३० जना छन् । उनीहरूमा भारत, चीन, श्रीलंका, बंगलादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भुटान गरी ९ देशका ७५ जना छन् ।

काठमाडौं विश्वविद्यालयले स्कुल अफ आर्ट्सको मास्टर इन अर्बान स्टडिजमा ५, मास्टर इन मिडिया स्टडिजमा १ र मास्टर अफ फाइन आर्ट्समा २१ जनालाई पहिलो पटक उपाधि प्रदान गरेको छ । स्कुल अफ एजुकेसनको मास्टर इन इन्डिजिनियस एजुकेसन एन्ड डेभलपमेन्टमा १९ र मास्टर इन ट्रेनिङ एन्ड डेभलपमेन्टमा १२ जनाले पनि पहिलो पटक उपाधि पाएका छन् ।

यस्तै, स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ र एम टेक इन इनर्जी सिस्टममा ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको छ । 

स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साइन्स मेडिकल इमेजिङ टेक्नोलोजीमा ८ र ब्याचलर अफ साइन्स इन ल्याबरोटरी मेडिसिनमा १० जनाले पनि पहिलो पटक उपाधि प्राप्त गरेका छन् । शनिबारको तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये नेपालबाहेक ५७ देशका ५ हजार ५ सय ४२ जना छन् । 

1 thousand 256 students of Kathmandu University Dixit

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सरकार अब रोजगारी खोज्ने शिक्षाभन्दा पनि रोजगारी प्रदान गर्ने शिक्षा दिनेमा केन्द्रित भएको बताए ।

‘अहिले युवामा रोजगारी पाइन्छ कि पाइँदैन भन्ने चिन्ता छ,’ उनले भने, ‘रोजगारी खोज्ने शिक्षा होइन, अब रोजगारी प्रदान गर्ने शिक्षाका लागि अगाडि बढेका छौं, विद्यार्थीलाई पढाइसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशकै नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्नेछौं ।’ 

विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षाको पनि आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘विश्वविद्यालयमा आफूले आर्जन गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने समय भएको छ,’ उनले भने, ‘यहाँसम्मको अध्ययनपछि अब आफ्नै व्यवहारबाट धेरै कुरा सिक्दै जाने हो, इन्टर्नसिपमार्फत विद्यार्थीले व्यावहारिक ज्ञान पनि सिक्न सक्नेछन् ।’ 

भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्राध्यापक टीएन सिंहले शिक्षा व्यक्तिगत उन्नतिका लागि मात्र नभएर समाज सुधारको एउटा आधार भएको बताए । आफ्नो देशका लागि मात्र नभएर मानवताका लागि राम्रो भविष्य निर्माण गर्न उनले विद्यार्थीलाई सुझाव दिए । 

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले विश्वविद्यालयले विभिन्न नवीनतम कार्यक्रम अघि सारेको जानकारी दिँदै नेपालको वातावरणीय र जलवायु परिवर्तनसम्बन्धी अभियानको नेतृत्व गर्दै आएको बताए । काठमाडौं विश्वविद्यालयले अत्याधुनिक अनुसन्धानमा अगुवाइ गरिरहेको उनको भनाइ थियो ।

जलवायु परिवर्तनबारे सम्बोधन र शैक्षिक कार्यक्रममार्फत दिगो विकास प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ काठमाडौं विश्वविद्यालयले हिमनदी विज्ञान, प्राकृतिक स्रोत, कर्जा प्रणाली, भवन डिजाइन र खानी इन्जिनियरिङ जस्ता विषयमा विशेषज्ञता कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully