मेरिटको आधारमा डिन नियुक्ति गर्न स्ववियुको माग

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Swaviyu's demand to appoint dean on merit basis

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनहरुले पनि मेरिटअनुसार विश्वविद्यालयमा हुने नियुक्ति गर्न ध्यानाकर्षण गराएका छन् । स्ववियु त्रिवि विश्वविद्यालय क्याम्पसका अध्यक्ष श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै मेरिट मिचेर गरिने नियुक्तिको प्रतिवाद गरिने जनाएका छन् ।

मेरिटमा प्राप्त गरेको अंकसहित पारदर्शी तरिकाले सार्वजनिक गरेर नियुक्ति प्रक्रिया अघि बढाउन स्ववियुले त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई आग्रहसमेत गरेका छन् । मेरिट मिच्दै नियुक्ति गर्न दबाब नदिनसमेत अध्यक्ष ओझाले आग्रह गरेका छन् ।

नेपाल ल क्याम्पस स्ववियुले पनि राजनीतिक भागबन्डा अन्त गर्दै मेरिटको आधारमा नियुक्ति अघि बढाउन अपिल गरेको छ । अध्यक्ष विष्णु ढुंगेलले विज्ञप्ति जारी गर्दै मेरिटोक्रेसीको विरोध गरेर आफ्नो कार्यकर्तालाई नियुक्ति दिने प्रवृत्तिको विरोध गरेका छन् ।

‘राजनीतिक दलको स्वार्थ नमिल्दा मेरिटोक्रेसीलाई विवादमा ल्याउने दलका नेता र कार्यकर्ताले पूर्वाग्राही ढंगले विरोध गर्नु लज्जास्पद विषय हो,’ विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully