दुर्गमको विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन

मंसिर २१, २०८१

तुलाराम पाण्डे

Running science labs in remote schools

कालीकोट — सान्नीत्रिवेणी गाउँपालिकाको मेहेलमुडीमा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । 

कक्षा १ देखि १२ सम्मको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक कामका लागि गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकामा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पुर्‍याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताइन् ।

प्रयोगशाला स्थापना गर्न किर्डाक नेपाल कालीकोटले प्लान नेपालको सहयोगमा ६ लाख २४ हजार ३७ रुपैयाँ, गाउँपालिकाको १ लाख ५० हजार र विद्यालयको योगदान ५० हजार गरी कुल ८ लाख २४ हजार ३७ रुपैयाँको प्रयोगशाला स्थापनाका भएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिँदै विद्यालयलाई हरित विद्यालय बनाउन पनि पहल भइरहेको बताए ।

शुक्रबार प्रयोगशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विज्ञान शिक्षक रत्नलाल अधिकारीले केही विद्यार्थीलाई सामग्री प्रयोग गरेर देखाए । विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष पार्वतीसिंह संज्यालले बताइन् । विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८ देखि १२ सम्मका  विद्यार्थी लाभान्वित हुने भएका छन् ।

विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाइ थियो । सान्नीत्रिवेणी गाउँपालिका र साझेदार संस्थामार्फत प्रयोगशालाका लागि पर्याप्त सामग्री उपलब्ध भएपछि हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना गरिएको छ । छुट्टै प्रयोगशाला कक्षा कोठा भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष केसीले प्रयोगशालाको उद्घाटन गरे । उनले प्रयोगशालाको उद्घाटन गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

सहयोग गरेको सामग्रीको बारेमा जानकारी दिँदै सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले पञ्चदेवल माविमा २० लाखको लैंगिकमैत्री शौचालय-६ लाखको विज्ञान प्रयोगशाला, ५ लाखको नमुना कक्षाकोठा व्यवस्थापन र ४ लाख ५० हजारको हरित विद्यालय गरी ३५ लाखको सहयोग गरिएको जानकारी दिए ।

बालबालिकालाई विज्ञान र प्रविधिसँग जोड्न आधुनिक पढाई र विज्ञान प्रयोगशााला स्थापना भएर सञ्चालनमा आउनु विद्यार्थीका लागि एक सुनौलो अवसर भएको विव्यस अध्यक्ष देवनारायण सञ्ज्यालले बताए । हस्तान्तरण गरिएको सामग्रीमा विद्यार्थीले छुन पाउने, पढ्न पाउने र सिक्न पाउने कुरामा आफू विश्वस्त रहेको उनले सुनाए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully