काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले आवेदकहरुबीच प्रतिस्पर्धा गरेर मेरिटको आधारमा सोमबार परीक्षा नियन्त्रण कार्यालयका सह-परीक्षा नियन्त्रकहरुको नियुक्ति गरेको छ । उपकुलपति केशरजंग बरालले केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयमा गरी ६ जना सह-परीक्षा नियन्त्रकको नियुक्ति गरेका हुन् ।
छनोट तथा सिफारिस समितिले सिफारिस गरेकाहरुमध्ये मेरिटको आधारमा नियुक्ति गरिएको बरालले जनाए । प्रत्येक कार्यालयमा ३/३ जना गरी समितिले १८ जनाको नाम सिफारिस गरेको थियो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको सहपरीक्षा नियन्त्रकम सूर्यनाथ कुलौनी र दावा शेर्पा नियुक्त भएको उपकुलपति कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्रीय कार्यालयहरु नेपालगञ्जमा लक्ष्मण पोखरेल, मधेस प्रदेशमा रामहित यादव, विराटनगरमा डिल्लीराम प्रसाईं र पोखरामा रामनाथ न्यौपाने नियुक्त भएका छन् ।
रिक्त सह-परीक्षा नियन्त्रकका लागि त्रिविले गत भदौंमा दरखास्त आव्ह्रान गरेको थियो । ६ पदका लागि ६२ जनाले आवेदन दिएका थिए । डिन, निर्देशक, परीक्षा नियन्त्रक, सह-नियन्त्रक, क्याम्पस प्रमुख लगायत नियुक्तिका लागि त्रिविले विनियम जारी गरेको छ ।
विनियममा दरखास्त दिनेहरुबीच व्यक्तिगत विवरणसहित, कार्ययोजना, सोचपत्रको एक सय पूर्णाङकमा मूल्याङ्कन गरी ३ जनाको नाम सिफारिस गर्ने र ती मध्येबाट १ जनालाई नियुक्ति गर्ने व्यवस्था छ । उक्त प्रक्रिया पुरा गरि पदाधिकारी नियुक्ति गर्न ढिलाई हुँदै आएको छ । गत असारदेखि रिक्त डिनहरु अझै नियुक्त हुन सकेका छैनन् । सिफारिस समितिले डिन, क्याम्पस प्रमुख लगायत रिक्त पदमा उमेद्वारहरु सिफारिस गरि सकेकाले मेरिटको आधारमा नियुक्ति प्रक्रिया थालिएको उपकुलपति कार्यालयले जनाएको छ ।
