सीटीईभीटीको उपाध्यक्षमा प्राध्यापक बराल नियुक्त

मंसिर ७, २०८१

कान्तिपुर संवाददाता

Professor Baral appointed as Vice President of CTEVT

काठमाडौँ — सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा ओमप्रसाद बराललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बराललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सीटीईभीटीमा उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । बराल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । कास्की घर भएका उनी पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गराउँदै त्रिविको अनुगमन निर्देशनालयमा निर्देशकमा समेत काम गरिसकेका छन् ।

तत्कालीन उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको असार १ गते कार्यकाल सकिएको थियो । त्यसपछि उपाध्यक्ष नियुक्तिका लागि शिक्षा मन्त्रालयले कार्यविधि बनाएर दरखास्त आव्ह्रान गरेको थियो ।

दरखास्त दिनेहरुको एक सय पूर्णाङकमा व्यक्तिगत विवरण सहित योजना र सोचपत्र आधारमा राष्ट्रिय योजना आयोगका सदस्य संयोजकत्वको छनोट तथा सिफारिस समितिले मुल्याङ्कन गरी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सीटीईभीटीको सर्वोच्च निकाय परिषद्को अध्यक्षता भने शिक्षामन्त्रीले गर्ने व्यवस्था छ । उपाध्यक्ष भने पूर्णकालीन रुपमा त्यसको नेतृत्वमा रहने व्यवस्था छ । कार्यकारी प्रमुखको भुमिकामा सदस्यसचिव रहन्छन् । 

कान्तिपुर

Link copied successfully