कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सांसद प्रदीप यादवको प्रश्‍न : शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन ?

आश्विन १९, २०८०
सांसद प्रदीप यादवको प्रश्‍न : शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन ?

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनर्लेखनको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को छलफलमा भाग लिँदै उनले विधेयक सोचेर बनाउनुपर्ने बताए । उनले विधेयकमा व्यापक हेरफेर र संशोधन हाल्न जरुरी रहेको उल्लेख गरे । उनले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन ? भन्दै प्रश्न समेत गरे ।

‘शिक्षा विधेयक संवेदनशील विषय हो । यो विधेयक यस्तो बन्नुपर्छ कि आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ । यो विधेयक सोचेर बनाउनु पर्छ । यो विधेयकको पुनः लेखनको आवश्यकता छ,' उनले भने, 'यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय विस्थापन गर्न त आएको होइन ? '

निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठीचार्ज गर्न बाध्य किन भयो भन्ने पनि प्रश्न गरे । 'शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो । सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : आश्विन १९, २०८० १३:३३
×