पेस्तोल नपड्किँदाको पीडा

राजेन्द्र नाथ

काठमाडौँ — पदक चुम्दा धेरै खेलाडी रोएको दृश्य स्वभाविक मानिन्छ । ती हर्षमिश्रित आँसु हुन्छन् । खुसी र भावना प्रस्फुटित भइरहेको हुन्छ त्यस्तो रुवाइमा । बुधबार सातदोबाटोस्थित सुटिङ रेञ्जमा सीमा तुलाधर पनि निकै बेर भक्कानिइन् । तर उनको नयनबाट खुसीका होइनन्, दुःखका आँसु एकनास बगिरहेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अधिकांस स्पर्धा सातदोबाटोमै भइरहेका छन् ।


छेउमै कराते र तेक्वान्दोका खेलाडीले स्वर्ण पदकको हर्षबढाइँ गरिरहँदा सीमा भने २५ मिटर स्पोर्ट्स पेस्तोलतर्फको स्पर्धाबाट बाहिरिएकी थिइन् । कारण थियो, बीचमै उनले प्रयोग गरिरहेको पेस्तोल नपड्किनु । ‘फायर गर्दा पेस्तोल बीच–बीचमा जाम भइरहेको थियो,’ उनले सुनाइनन्, ‘नयाँ दिनुस् भन्दा पनि टेरेनन् । मेडलको आसमा खेलिरहेकी थिएँ । भविष्य नै बर्वाद हुने भयो ।’


खेल भइरहेकै बेला सीमाले सुटिङ संघकै त्रिलोचन ढकाललाई भनिन् पनि, ‘कुनै अन्य देशकै खेलाडीको पेस्तोल भए पनि एकछिनलाई मागिदिनुस् सर ।’ त्रिलोचन पेस्तोलका लागि निकैबेर भौंतारिए । त्यतिन्जेलसम्म खेल सुरु भइसकेको थियो । ‘उहाँले पनि के गर्न सक्नुहुन्थ्यो र ?,’ सीमालाई थुम्थुमाइरहेकी टिम म्यानेजर प्रतिमा शाहले भनिन्, ‘जुन देशसँग प्रतिस्पर्धा भइरहेको छ, तिनकै हतियार मागेर खेल्नुपर्ने बिडम्बना छ । यस्तोमा खेलाडीको मनोबल कसरी उच्च रहला ?’


सीमा घरेलु प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट खेल्छिन् । उनी बुधवार विभागीय टोलीले नै प्रशिक्षणमा प्रयोग गर्ने पेस्तोल चलाइरहेकी थिइन् । प्रमुख प्रशिक्षक उपेन्द्र थापाले गोलीहरू ओस्सिएर ‘मिस फायर’ भएको हुनसक्ने बताए ।


‘दुई दशक पुराना हतियार र गोली छन् । तिनको कुनै भरोसा छैन,’ उनले भने, ‘हाम्रा खेलाडीहरू रामभरोसामा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो अवस्था बुधबारमात्रै आएको थिएन । अघिल्लो दिन पनि भारतीय खेलाडीसँग गोली र पाकिस्तानीसँग पेस्तोल मागेर खेलेका थिए, नेपाली खेलाडीले । २५ मिटर सेन्टर फायर पेस्तोल (पुरुष) तर्फको स्पर्धामा त्यस्तो बाध्यता आएको अर्का खेलाडी बदरुद्दिन अन्सारीले बताए ।




‘एउटा पेस्तोलको भरमा ९–९ खेलाडीले खेल्नुपर्छ,’ उनले भने, ‘खेल्नुअघि अरु देशका खेलाडीलाई हतियारका लागि हारगुहार गर्नुपर्ने अवस्था छ । सुटिङ संघ र राष्ट्रिय खेलकुद परिषदको बेवास्ताले हामी निकै दुःखी छौं ।’ २५ मिटर सेन्टर फायर पेस्तोलमा मंगलबार अनिल ठकुरी, सुमन तुलाधर र विजय कार्कीले भाग लिएका थिए । अनिलले त्यसरी मागेर काम चलाएका थिए ।


अर्को दिन फेरि त्यस्तै दृश्य दोहोरियो । सीमाको पेस्तोल पड्किएन भने अर्को एकले श्रीलंकन खेलाडीबाट बन्दुक सापट मागेर काम चलाइन् । उक्त बन्दुक फिर्ता लिन श्रीलंकन खेलाडी पछि–पछि हिँडिरहेको उदेकलाग्दो दृश्य त्यहाँ देखिन्थ्यो । त्यसैमा विदेशी खेलाडीका बन्दुक कस्तो कन्डिसनमा छ भन्ने जानकारी नहुँदा पनि समस्या भएको एक खेलाडीले बताइन् ।


२५ मिटर स्पोर्टस पेस्तोलतर्फ नेपालको तर्फबाट सीमासँगै हेमा चौधरी र दुर्गा सिंजालीले पनि प्रतिस्पर्धा गरिरहेका थिए । उनीहरू पनि निरास भए । सीमाले ६० गोली फायर गर्नुपर्नेमा र्‍यापिड फायर गर्दा अड्केर ४ वटा मिस भएको बताइन् । उनी १० मिटर एयर राइफलमा पनि खेल्छिन् । अनुभवी खेलाडीमा दरिएकी सीमाले यसअघि सन् २०१० को ढाका साग र भारतको गुवाहाटी–सिलोङमा सम्पन्न १२ औं सागमा भाग लिइसकेकी छन् ।


सुटिङतर्फको २५ मिटर स्पोर्टस पेस्तोल, सेन्टर फायर पेस्तोल र ५० मिटरको थ्री पोजिसन राइफल गरी तीनवटा विधामा नेपालले दुई दशकपछि प्रतिस्पर्धा गरेको हो । नेपालमा सम्पन्न सन् १९९९ को सागपछि यी तीन विधामा भागै लिइएको थिएन । ‘यस्तै अवस्था रहने हो भने अब सहभागिता झनै अनिश्चित हुनेछ,’ सुटिङकै खेलाडी नरेन्द्र थापाले भने, ‘अहिले पनि मापदण्डभन्दा कमसल सामाग्री प्रयोग गरिरहेका छौं ।’ खेलाडी र संघले धेरैपटक ताकेता गर्दा पनि राष्ट्रिय खेलकुद परिषद्ले हतियार र गोली खरिद नगरेको थापाले बताए ।


२० वर्ष पुरानो पेस्तोलकै भरमा सागमा प्रतिस्पर्धा गर्दा समस्या भइरहेको खेलाडीहरू बताउँछन् । चीनले सुटिङ रेन्ज नयाँ बनाइदिएको छ । तर, हतियार र गोली भने पुरानै छन् । पेस्तोल हान्दा बीचैमा गोली बिग्रने र जाम हुने गरेको खेलाडीको गुनासो छ । बदरुद्दिन अन्सारी सरकारले सुटिङमा प्रयोग हुने सामग्रीलाई पनि हतियारकै रुपमा सूचीकृत गरेका कारण यसको खरिद प्रक्रियामै ढिलाइ भएको बताउँछन । खेल सामग्रीलाई पनि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत समेटेका कारण नया पेस्तोल र राइफल खरिद नभएकाले सागमा पुरानो बन्दुक प्रयोग गर्नुपरेको उनले बताए ।


‘खेल सामग्रीलाई हातहतियारको रूपमा कानुनमा राख्दा समस्या भएको हो । साग हुन्छ भन्ने कुरा सबैलाई जानकारी थियो । तर, कसैले पनि समयमा हतियार ल्याउनेबारे चासो नदेखाउँदा समस्या भयो,’ अन्सारीले भने ।

नेपाल सुटिङ संघले पटक–पटक नयाँ हतियार खरिदका लागि टेण्डर भइरहेको भन्दै झुक्याएको खेलाडीको आरोप छ । सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ भने त्यो कुरासँग सहमत छैनन् । उनले खेलाडीहरूले राम्रो प्रदर्शन गर्न नसकेपछि संघमाथि दोष थोपरेको उल्टो आरोप लगाए ।


‘खेलाडीहरू पराजित भएपछि विरोध गर्न थाले । स्वर्ण जितेका हुन्थे भने यस्तो अवस्थामा पनि हामीले स्वर्ण जित्यौं भनेर भन्थे,’ श्रेष्ठले भने । उनले नेपालसँग १० मिटरका लागि पेस्तोल पर्याप्त रहे पनि २५ र ५० मिटरका लागि राइफल भने अभाव रहेको स्वीकारे । ‘हामीसँग पेस्तोल पर्याप्त छन् । तर, २५ र ५० मिटरका लागि आवश्यक पर्ने राइफल नहुँदा मात्रै समस्या भएको हो,’ श्रेष्ठले भने, ‘सागका लागि सामग्री समयमै माग गरेका थियौ । उहाँहरू (परिषद्) ले सधैं ल्याउँछौ मात्रै भन्नुभयो । अन्तिममा ल्याइदिनुभएन ।’


प्रकाशित : मंसिर १९, २०७६ ०८:३१

प्रतिक्रिया
पठाउनुहोस्

दौडन थालेको वर्षदिनमै पदक

ध्रुव तुलाधर

काठमाडौँ — स्वर्ण जितेको अघिल्लो दिनको लय समात्न नसके पनि धावक दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जित्दै मध्यम दूरीको इज्जत धानेका छन् । दशरथ रंगशालाको ट्र्याकमा भारतीय, पाकिस्तानी र श्रीलंकाली खेलाडीको दबदबाबीच दीपकले एथलेटिक्सबाट एउटा पदक थपेका हुन् ।

भारतले ५ स्वर्ण, पाकिस्तान र श्रीलंकाका खेलाडीले १–१ स्वर्ण पदक जितेका छन् ।

उनले उक्त दूरी ३० मिनेट ५०.०६ सेकेन्डमा पार गरेका थिए । अन्तर्राष्ट्रिय अनुभव भएको भए उनले सजिलै रजत जित्नसक्ने स्थिति थियो । श्रीलंकाली सान मुगेश्वरनले थोरैले उनलाई उछिन्दै दोस्रो स्थान भेट्टाएका थिए । सानको टाइमिङ ३० मिनेट ४०.२० सेकेन्ड थियो । स्वर्ण जितेका भारतीय सुरेश कुमारले दूरी पार गर्दा २९ मिनेट ३३.६१ सेकेन्ड लगाएका थिए ।

अघिल्लो दिन सन्तोषी श्रेष्ठले मिलिसेकेन्ड अन्तरबाट सोही इभेन्टमा स्वर्ण जितेकी थिइन् भने १५०० मिटर दौडबाट टंकबहादुर कार्कीले नेपाललाई कांस्य दिलाएका थिए ।

‘अघिल्लो दिन दिदीदाइ (सन्तोषी र टंकबहादुर) ले पदक जितेकाले मलाई पनि केही गर्छु भन्ने थियो,’ कांस्य विजेता २४ वर्षे दीपकले भने, ‘टंक दाइले पनि बेलुका होटलमा बस्दा हौसला बढाइदिनुभयो ।’

दीपकको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । उनी कुद्न थालेको धेरै भएको छैन । एक वर्षयता मात्र उनी दौडमा लागेका हुन् । आर्मीमा छिरेको ५ वर्षजति भयो । ११ पढ्दै गर्दा आर्मीमा आबद्ध भएका उनले एक वर्षयता मात्र दौड्न थालेका हुन् । धेरै प्रतियोगिताको अनुभव छैन उनलाई । मात्र आर्मीको आन्तरिक प्रतियोगिता प्रधानसेनापति ट्रफीको ५ र १० हजार मिटर दौडमा स्वर्ण जितेको अनुभव छ । यद्यपि उनले छनोटमा निकालेको टाइमिङभन्दा राम्रो समयमा दौड पूरा गरे ।

‘यो भाइको अन्तर्राष्ट्रिय अनुभव छैन । त्यसैले उसले विपक्षीको गति बुझ्न सकेनन्, नत्र यो भाइले धेरै राम्रो गर्नसक्थें । पहिलोपल्ट हो । तिम्रो उमेर छ । धेरै राम्रो गर्न सक्छौं,’ खेलपछि आर्मीका प्रशिक्षक पुष्पराज ओझा, १० हजार मिटर दौडका पूर्व च्याम्पियन राजेन्द्र भण्डारी यसो भन्दै हौस्याइरहेका थिए । दीपकले पनि राजेन्द्रले आफूलाई जहिल्यै राम्रो गर्नुपर्छ भनेर हौसला दिइरहने गरेको सुनाए ।

१० हजार मिटरमा नेपालले १९ वर्षपछि जितेको पदिक हो । यसअघि सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा यामबहादुर पुडासैनीले यो इभेन्टमा कांस्य जितेका थिए ।

स्प्रिन्टतर्फ सबै खेलाडीले हिट चरण पार गर्न सकेनन् । २०० मिटर दौडमा आशिष चौधरी र आनन्ददेव चन्दले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय च्याम्पियन आशिषले २२.४७ सेकेन्ड र आनन्दले २४.०२ सेकेन्डको टाइमिङ निकाले । यो इभेन्टमा उजर रेहमानले २१.१५ सेकेन्डबाट पाकिस्तानका लागि स्वर्ण जिते । महिलातर्फ २०० मिटरमा सरस्वती चौधरीले २६.२६ सेकेन्डको टाइमिङ रह्यो ।

फिल्डतर्फ पदक जित्न नसके पनि धेरै खेलाडीले आठौं राष्ट्रियमा गरेको प्रदर्शनमा सुधार गरेका छन् । हाइजम्पमा सूर्यबहादुर खत्रीले १.९५ मिटरको प्रदर्शन गरे । जबकि उनले राष्ट्रियमा १.८५ मिटरबाट स्वर्ण जितेका थिए । लङजम्पमा शिला चौधरीले ५.३३ मिटर जम्प गरिन् । आठौंमा उनले ५.१४ मिटरबाट रजत जितेको भन्दा राम्रो प्रदर्शन दिइन् । डिसकस थ्रोमा पनि अमृता महतोले आठौं राष्ट्रियको स्वर्ण जित्दा भन्दा गतिलो प्रदर्शन बनाइन् ।

भारतीय र श्रीलंकन खेलाडीको वर्चस्व रहेको सागमा उनले ४०.१५ मिटर थ्रो गरिन् । राष्ट्रियमा ३६.०३ मिटरबाटै अमृताले स्वर्ण जितेकी थिइन् । लङजम्पमा भुवन महतोले आफ्नो प्रदर्शनमा सुधारे । राष्ट्रियमा रजत जित्दा ६.७२ मिटरको प्रदर्शन गरेका उनले यसपालि ६.७६ मिटर जम्प गरे । यसै इभेन्टमा नेपालकै शेरबहादुर विष्टले ९.८५ मिटरको प्रदर्शन गरे पनि पदक भेट्टाउन सकेनन् ।

प्रकाशित : मंसिर १९, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×