बिहारमा विद्यार्थी प्रदर्शनकारीमाथि एके-४७ चलाउने प्रहरी निलम्बित

भाइरल भिडियोमा एक प्रहरी जवानले एके-४७ चलाइरहेको देखिन्छ ।

श्रावण ११, २०८३

एजेन्सी

Police officer suspended for firing AK-47 at student protesters in Bihar

नयाँ दिल्ली — भारतको बिहारस्थित सिवानमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले एके-४७ बन्दूक चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना संलग्न प्रहरी जवान निलम्बनमा परेका छन् ।

जिल्ला गुप्तचर इकाई (डिआईयू) मा कार्यरत ती प्रहरी जवानलाई निलम्बन गरिएको सिवानका प्रहरी उपरीक्षक पूरन कुमार झाले सोमबार जानकारी दिएका छन् । त्यस्तै उनीविरुद्ध विभागीय कारबाहीको प्रक्रियासमेत अगाडि बढाइएको जानकारी झाले दिए ।

भिडियोमा एक प्रहरी जवानले एके-४७ चलाइरहेको देखिन्छ । 

केही दिनअघि योग्यता तथा प्रवेश परीक्षा (नीट) लगायत परीक्षा भएको प्रश्नपत्र चुहावटको विरोध तथा  कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको आन्दोलनमा ऐक्येबद्धता प्रकट गर्दै बिहारमा विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका थिए । त्यसक्रममा सिवान, पटनालगायत क्षेत्रमा प्रहरी र विद्यार्थीहरूबीच हिंसात्मक झडप भएको थियो।

सीवानमा भएको दमनका क्रममा भिड तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो। सोही क्रममा ढुंगामुढासमेत भएको थियो भने प्रहरीको गोली लागेर तीन जना विद्यार्थी घाइते भएको दाबी गरिएको छ। 

यद्यपि, घाइतेहरूलाई लागेको गोली प्रहरीतर्फबाट चलेको हो वा प्रदर्शनकारीतर्फबाट भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी झाले बताएका छन्।  उनले केही असामाजिक तत्वहरू प्रदर्शनकारीसँग मिसिएर प्रहरीमाथि नै गोली चलाएपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्न बाध्य भएको बताएका छन् । 

भाइरल भिडियो र प्रहरी दमनलाई लिएर विपक्षी दलहरूले राज्यको सत्तारूढ भारतीय जनता पार्टी सरकारको कडा विरोध गरेका छन् । लोकसेवाका विपक्षी दलका नेता राहुल गान्धीले विद्यार्थीहरुप्रति राज्य कठोर बन्दै गएको बताए । 'सरकार विद्यार्थीहरूप्रति निकै क्रूर बन्दै गएको छ। दिल्लीमा छर्रा र बिहारमा एके-४७ प्रयोग गरियो। उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार वा दिल्ली—सबैतिर ढाँचा एउटै छ,' उनले भने । 

आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले भने, 'विद्यार्थीहरूले न्याय माग्दा गोली दिइयो। सीवानमा निहत्था प्रदर्शनकारीमाथि एके-४७ बाट गोली चलाइएको यो कानुनको पालना होइन, राज्यको बर्बरता हो।  

एजेन्सी

Link copied successfully