बर्लिन प्राइड फेस्टिवलमा सहभागीमाथि गाडी कुदाउँदा १ जनाको मृत्यु, १६ घाइते

बर्लिन प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनाको पहिचान भएको जनाएको छ। ती व्यक्ति हाल फरार रहेका छन् र उनी बर्लिनका इस्लामिक समूहसँग आबद्ध रहेको प्रहरीले जनाएको छ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

One dead, 16 injured after vehicle plows into participants at Berlin Pride Festival

What you should know

बर्लिन — जर्मनीको राजधानी बर्लिनमा शनिबार राति आयोजित प्रसिद्ध प्राइड फेस्टिवलका सहभागीमाथि एउटा भ्यान जाँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना घाइते भएका छन्। घटनापछि प्रहरीले उत्सव र त्यसअन्तर्गतको सांगीतिक कार्यक्रम तत्काल स्थगित गरेको छ।

बर्लिन प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनाको पहिचान भएको जनाएको छ। ती व्यक्ति हाल फरार रहेका छन् र उनी बर्लिनका इस्लामिक समूहसँग आबद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता फ्लोरियन नाथका अनुसार आशंकित व्यक्ति प्रहरीको निगरानीमा पहिल्यै रहेका थिए। 'ती व्यक्ति बर्लिनका इस्लामिक समूहसँग आबद्ध रहेको जानकारी हामीसँग छ र उनको खोजी तीव्र रूपमा भइरहेको छ,' उनले भने।

यद्यपि घटनाको उद्देश्य, घटनाक्रमको वास्तविक विवरण वा आशंकितको प्रत्यक्ष संलग्नताबारे अझै स्पष्ट जानकारी प्राप्त नभएको नाथले बताए।

यसअघि प्रहरीले केही घाइतेको अवस्था गम्भीर रहेको जनाएको थियो। सामाजिक सञ्जाल एक्समार्फत प्रहरीले सर्वसाधारणलाई घटनास्थल तत्काल खाली गर्न आग्रह गरेको थियो। घटनास्थलमा एम्बुलेन्स र दमकल परिचालन गरिएको थियो।

प्रहरीका अनुसार राति करिब १० बजे सेतो रङको एउटा भ्यान प्राइड र्‍याली गुज्रिएको मार्ग नजिकैको टियरगार्टेन पार्कमा प्रवेश गरी सर्वसाधारणलाई ठक्कर दिएको थियो। त्यसपछि भ्यान एउटा रूखमा ठोक्किएको थियो।

घटनास्थलमा कति प्रहरी परिचालन गरिएको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन। तर 'धेरै संख्यामा प्रहरी परिचालन गरिएको' जनाएको छ।

प्राइड र्‍याली तथा अन्य एलजीबीटीक्यू+ कार्यक्रमको सुरक्षाका लागि शनिबार बिहानदेखि नै बर्लिनमा दुई हजार २०० भन्दा बढी प्रहरी खटिएका थिए।

रातभर प्रहरीले घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग बयान लिएको थियो। दुर्घटनासँगै केही पीडितमा धारिलो हतियार प्रहारका संकेतसमेत देखिएको भन्ने दाबीमाथि पनि अनुसन्धान भइरहेको छ।

यद्यपि त्यसबारे कुनै निष्कर्षमा पुग्न हतार गर्न नहुने प्रहरीले जनाएको छ।

कान्तिपुर

Link copied successfully