साहबुद्दीन सन् २०२३ मा राष्ट्रपति निर्वाचनमा निर्विरोध निर्वाचित भएका थिए
ढाका — बंगलादेशका राष्ट्रपति मोहम्मद साहबुद्दीनले आफ्नो कार्यकाल दुई वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार ७६ वर्षीय साहबुद्दीनले शुक्रबार अपराह्न स्वास्थ्यको कारण देखाउँदै आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्।
सभामुख हाफिज उद्दिन अहमदले यसलाई स्विकृत गरेका छन् । बंगलादेशको संवैधानिक व्यवस्थाअनुसार नयाँ राष्ट्रपति चयन नभएसम्म अहमदले नै अब कार्यवहाक राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछन् ।
सन् २०२४ को विद्यार्थी आन्दोलन दबाएको आरोपमा मृत्युदण्डको सजाय पाएकी र अहिले भारतमा निर्वासित जीवन बिताइरहेकी अवामी लिगकी नेतृ शेख हसिनाले बंगलादेश फर्कने घोषणा गरेसँगै सत्तारुढ बंगलादेश नेशनल पार्टीले राष्ट्रपति साहबुद्दीनलाई राजीनामाका लागि दबाब दिएको थियो ।
साहबुद्दीन अवामी लिगको समर्थनमा सन् २०२३ मा राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका थिए । त्यसबेला उनी निर्विरोध निर्वाचित भए । अवामी लिगको भातृ संगठगनमार्फत विद्यार्थीकालदेखि नैराजनीतिमा संलग्न साहबुद्दीनले विगतमा न्यायालयमा समेत सेवा गरिसकेका छन् ।
उनले सन् २०११ देखि २०१६ सम्म एन्टी-करप्सन कमिसनको आयुक्तको रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । बंगलादेशको संविधानको व्यवस्थाअनुसार संसद्ले ९० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेछ।
सन् २०२४ को राजनीतिक उथलपुथलपछि पनि पदमा कायम रहेने अवामी लिग सरकारका अन्तिम उच्च संवैधानिक पदाधिकारी साहबुद्दीन थिए ।
