साउदी अरेबिया र अमेरिकाबीच ऐेतिहासिक आणविक ऊर्जा सम्झौता

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसले भविष्यमा साउदी अरेबियालाई युरेनियम सम्वर्द्धन गर्ने अनुमति दिनेछ । उच्च ग्रेडको युरेनियम पावर प्लान्टको इन्धनका रूपमा मात्र नभई आणविक बम बनाउन पनि प्रयोग हुनसक्छ ।

श्रावण ७, २०८३

एजेन्सी

Historic Nuclear Energy Agreement Between Saudi Arabia and the United States

काठमाडौँ — अमेरिका र साउदी अरेबियाबीच आणविक ऊर्जा कार्यक्रमलाई लिएर ऐतिहासिक सम्झौता भएको छ । अमेरिकी ऊर्जा मन्त्रालयले यो सम्झौतालाई शान्तिपूर्ण आणविक सहकार्य सम्झौताको रूपमा वर्णन गरेको छ । यसले  साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूलाई ठूलो पहुँच प्रदान गर्नेछ।

सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसले भविष्यमा साउदी अरेबियालाई युरेनियम सम्वर्द्धन गर्ने अनुमति दिन सक्नेछ । उच्च ग्रेडको युरेनियम पावर प्लान्टको इन्धनका रूपमा मात्र नभई आणविक बम बनाउन पनि प्रयोग हुनसक्छ ।

विज्ञहरूका अनुसार यसले पहिले नै अशान्त रहेको पश्चिम एसिया क्षेत्रमा आणविक हतियारको विस्तारको जोखिम बढाउन सक्छ। अमेरिकी ऊर्जा मन्त्रालयले सहकार्य सम्झौतासँग  दुईपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको जनाएको छ।

'यी दुई सम्झौताहरूले मिलेर दशकौँसम्म चल्ने र अर्बौँ डलरको साझेदारीका लागि कानूनी आधार तयार गर्छन् । जसले आणविक अप्रसारलगायत धेरै प्राथमिकता प्राप्त आर्थिक तथा रणनीतिक उद्देश्यहरूलाई अगाडि बढाउँछन्,' विज्ञप्तिमा उल्लेख छ । 

अमेरिका र इरानबीचको द्वन्द्व  चलिरहेका बेला घोषणा गरिएको हो । इरानले साउदी अरेबियामा रहेका अमेरिकी सैन्य अखडाहरुलाई लगातार निशाना बनाइरहेको छ । दुई दिनअघि मात्रै इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरेबियाविरुद्ध बब अल मान्देव जलमार्गमा नाकाबन्दी घोषणा गरेको थियो । 

परमाणु सम्झौताका  विवरण सार्वजनिक गरिएको छैन। तर यसअघि आएका सञ्चारमाध्यमका प्रतिवेदनअनुसार, अमेरिकासँग संयुक्त अध्ययन सम्पन्न गरेपछि साउदी अरेबियालेआफ्नै भूमिमा युरेनियम सम्वर्द्धन गर्न पाउनेछ । युरेनियम समृद्धीकरण केन्द्र अमेरिकाले निर्माण गर्नेछ । 

यो सम्झौता अमेरिकाका लागि अर्बौं डलर बराबरको हुन सक्ने अनुमान गरिएको छ। युरेनियम समृद्धीकरण केन्द्र निर्माणमा अमेरिकी कम्पनीहरू सहभागी हुने भएकाले यसबाट उनीहरूले ठूलो आर्थिक लाभ लिन सक्नेछन् । 

सम्बर्द्धन गरिएको युरेनियमलाई बिजुली उत्पादनका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ। तर उच्च स्तरमा समृद्ध गरिएको युरेनियम आणविक हतियार निर्माणमा पनि प्रयोग हुन सक्छ।

एजेन्सी

Link copied successfully