जन्तरमन्तरमा तेस्रो दिन पनि सीजेपीको प्रदर्शन जारी

सीजेपीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तरमन्तरमा आन्दोलन जारी राखेको हो

श्रावण ६, २०८३

गोविन्द देवकोटा

CJP's protest continues for the third day at Jantar Mantar

नयाँ दिल्ली — भारतको दिल्लीस्थित जन्तरमन्तरमा ‘कक्रोज जनता पार्टी’ (सीजेपी) र विद्यार्थीहरूको प्रदर्शन बुधबार पनि जारी रहेको छ । बुधबार बिहान परेको वर्षाकाबीच पनि प्रदर्शनकारीहरू जन्तरमन्तरमै डटेर बसेका छन् । उनीहरूले वर्षाबाट जोगिन त्रिपालको प्रयोग गरेका छन् ।

यसअघि मंगलबार साँझ शिवसेना (यूबीटी) का नेता उद्धव ठाकरे र तृणमूल कांग्रेस (टीएमसी) की नेता महुआ मोइत्रालगायत विपक्षी दलका नेताहरू प्रदर्शनस्थल पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।

भारतमा राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) मा भएको भनिएको अनियमितताको विरोधमा आन्दोलन सुरु भएको थियो । 

‘कक्रोज जनता पार्टी’ (सीजेपी) ले बुधबार बिहानैदेखि हजारौं प्रदर्शनकारी दिल्लीको जन्तरमन्तरमा भेला भइसकेको जनाएको छ । पार्टीका प्रवक्ता सौरभ दासले प्रदर्शनस्थलमा भीड बढ्दै गएको दृश्य सार्वजनिक गर्दै सरकारले माग सम्बोधन नगरे अझै लाखौं मानिस सडकमा उत्रिने चेतावनी दिएका छन् । 

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीमा संसद् भवन, रफी मार्गलगायत विभिन्न क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । सीजेपीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तरमन्तरमा आन्दोलन जारी राखेको हो ।

सोमबार संसद् मार्चका क्रममा भएको झडप र तोडफोडसँग सम्बन्धित घटनामा हालसम्म ६ वटा एफआईआर दर्ता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसार घटनापछि व्यापक तथा आपराधिक षड्यन्त्र भएको हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाइएको छ । 

सोमबार साँझ प्रहरीले मञ्च हटाएर प्रदर्शनस्थल खाली गराए पनि प्रदर्शनकारी पुनः जन्तरमन्तरमै फर्किएर धर्नामा बसेका छन् ।

यसैबीच, विद्यार्थीमाथि भएको लाठीचार्ज तथा कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीको पक्राउको विरोधमा केरल, जम्मु–कश्मीर, असमलगायत भारतका विभिन्न राज्यमा कांग्रेसले प्रदर्शन गरेको छ । राहुल, प्रियंका तथा अन्य कांग्रेस नेताहरूले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको निवासबाहिर धर्ना दिएका थिए । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई पनि सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दिल्ली उच्च अदालतको आदेशपछि अनसनरत अभियन्ता सोनम वाङचुकलाई गुरुग्रामस्थित मेदान्ता अस्पतालमा सारिएको छ । उनी अनिश्चितकालीन अनसनमै रहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंह र स्वास्थ्य मन्त्री जगतप्रकाश नड्डाले मंगलबार राति अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

‘चलो संसद्’ मार्चमा दर्जनौं पक्राउ, धेरै घाइते

सोमबारको ‘चलो संसद्’ मार्चका क्रममा कम्तीमा ७० जना प्रदर्शनकारी पक्राउ परेका थिए । त्यसपछि सीजेपी, आम आदमी पार्टीलगायतले पक्राउ परेका विद्यार्थीलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । 

हजारौं प्रदर्शनकारी संसद्तर्फ मार्चमा सहभागी भएका थिए ।सडकमा अवरोध, केही मेट्रो स्टेशन बन्द र मोबाइल इन्टरनेट सेवा स्थगित गरिए पनि प्रदर्शनकारी जन्तरमन्तरमा भेला भएर संसद्तर्फ अघि बढेका थिए ।

दिउँसोसम्म कनट प्लेस, पटेल चोक, रायसिना रोड, इन्डिया गेट र अशोका रोड आसपासका क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । घटनामा धेरै प्रदर्शनकारी घाइते भएका छन् । 

उनीहरूलाई लेडी हार्डिङ र राम मनोहर लोहिया (आरएमएल) अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । एक महिला प्रदर्शनकारीको आरएमएल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको जनाइएको छ ।

दिल्ली प्रहरीले प्रदर्शनका क्रममा आफ्ना ११८ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । प्रहरीका अनुसार प्रदर्शनकारीले निषेधाज्ञा उल्लंघन गर्दै ढुंगा तथा अन्य वस्तु प्रहार गरेपछि अवस्था नियन्त्रणबाहिर गएको थियो ।

धर्मेन्द्र प्रधानले के प्रतिक्रिया दिए ?

केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री निवासबाहिर कांग्रेसले गरेको प्रदर्शनको आलोचना गरेका छन् । उनले कांग्रेसले संसद्को मनसुन अधिवेशनमा अवरोध सिर्जना गर्न विद्यार्थीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको आरोप लगाए ।

सामाजिक सञ्जाल एक्समार्फत उनले राहुल गान्धी र भारतीय राष्ट्रिय कांग्रेसले प्रधानमन्त्री निवासबाहिर धर्ना दिएर सर्वसाधारणलाई सास्ती दिएको तथा सुरक्षा प्रोटोकलको बेवास्ता गरेको बताएका छन् ।

प्रधानले सरकारले नीटसम्बन्धी विषयमा संसद्मा छलफल गर्न पूर्ण रूपमा तयार रहेको दाबी गर्दै विद्यार्थीका वास्तविक चिन्ताको सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनका अनुसार विद्यार्थीलाई राजनीतिक अभियानको साधन बनाइनु उचित होइन । (एजेन्सीको सहयोगमा)

गोविन्द

Link copied successfully