दुई देशबीच व्यापारिक द्वन्द्व पहिलेदेखि नै जारी थियो। अमेरिकाले यसअघि नै क्यानडाबाट आउने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार महसुल लगाउँदै आएको छ ।
लण्डन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न प्रकारका वस्तुहरूमा ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने निर्णय गरेका छन् । अमेरिकी गाडी, दुग्धजन्य उत्पादन र मदिराप्रति क्यानडाले असमान र भेदभावपूर्ण व्यवहार गरेकाले जवाफमा यो कडा कदम चालिएको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार नयाँ भन्सार महसुल आगामी ३० दिनभित्र लागू हुनेछ । यसले दुई उत्तर अमेरिकी छिमेकीहरूबीचको व्यापारिक तनावलाई थप उत्कर्षमा पुर्याएको छ ।
ट्रम्पले अमेरिकी भन्सार ऐनको सेक्शन ३३८ अनुसार यो निर्णय गरेका छन् । सन् १९३० को यो ऐनले कुनै पनि देशबाट निर्यात हुने सामाग्रीमा ५० प्रतिशतसम्म भन्सार लगाउने निर्णय गर्ने अधिकारी राष्ट्रपतिलाई दिन्छ ।
नयाँ महसुल अमेरिका, क्यानडा र मेक्सिकोबीचको विद्यमान स्वतन्त्र व्यापार सम्झौतामा समावेश भए÷नभएका सबै सूचीकृत वस्तुहरूमा लागू हुने बताइएको छ।
क्यानडाबाट आउने मदिरा, हक्की स्टिक, दैनिक उपभोग्य वस्तुदेखि सिमेन्टजस्ता औद्योगिक सामग्रीहरू यस निर्णयले प्रत्यक्ष प्रभावित हुनेछन् ।
यद्यपी, यस नयाँ भन्सार शुल्क ऊर्जा, पोटास (कृषिमा प्रयोग हुने मल), माछा, खनिजलगायत उत्पादनमा लाग्ने छैन । यी उत्पादनमा ट्रम्पले यसअघि नै राष्ट्रिय सुरक्षासँग सम्बन्धित सेक्शन २ सय ३२ प्रयोग गरेर कर थोपरिसकेका छन् ।
अमेरिकी कदमप्रति क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कडा आपत्ति जनाएका छन् । उनले अमेरिकी प्रशासनको यो एकपक्षीय निर्णय विद्यमान सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको बताएका छन् ।
यसका बाबजुद क्यानडा आफ्नो आर्थिक हितको रक्षा गर्दै आगामी साताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई अघि बढाउन तयार रहेको प्रधानमन्त्री कार्नीले स्पष्ट पारेका छन् ।
दुई देशबीच व्यापारिक द्वन्द्व पहिलेदेखि नै जारी थियो । अमेरिकाले यसअघि नै क्यानडाबाट आउने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार महसुल लगाउँदै आएको छ । क्यानडाले पनि अमेरिकी गाडी तथा धातुहरूमा २५ प्रतिशत जवाफी महसुल लागू गरेको छ ।
ओन्टारियो प्रान्तका प्रिमियर डोग फोर्डले यस कदमको निन्दा गरेका छन् । उनले दुबै पक्षका सीमा क्षेत्रमा यसले आर्थिक रुपमा राम्रो नगर्ने बताए । उनले ओन्टारियोको हितमा काम नगर्न नछाड्ने पनि बताए । यसअघि ओन्टारियाले अमेरिकी उत्पादनमा कर बढाएको भन्दै वासिङ्टनले असन्तुष्टी जनाएको थियो ।
‘म ओन्टारियोलाई जोगाउनका लागि लड्न छाड्दिँन । यदी यी करहरु अगाडि बढ्यो भने कयानेडाले पनि कर लगाएर जवाफ दिनुपर्छ । डलरको जवाफ डलरले दिनुपर्छ ।’
क्यानडा चम्बेर अफ कमर्शका सिइओ क्यान्डेस लाइङले यो निर्णयले अन्ततः ट्रम्प प्रशासनलाई पछुतो हुने बताइन् । एशोसियट प्रेस (एपी) सँगको कुराकानीमा उनले ३० दिनको अवधिमा दुबै देशले वार्ता पनि उपयुक्त हुने सुझाव दिइन् ।
