मंगलबार सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडीए)को बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लिक गर्नेलाई सरकारले कडा कारबाही गरेको बताएका छन् ।
What you should know
काठमाडौँ — नयाँदिल्लीको जन्तर मन्तरमा शिक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवाहरू प्रदर्शनरत छन् । अर्कोतिर प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सांसद राहुल गान्धीको नेतृत्वमा लोककल्याण मार्गस्थित प्रधानमन्त्री आवासमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
कांग्रेस अध्यक्ष एवं राज्यसभाका प्रतिपक्षी नेता मल्लिकार्जुन खरगेसहित विपक्षी सांसद प्रधानमन्त्री आवाससम्म पैदलै पुगेका छन् । कांग्रेसले नरेन्द्र मोदी नेतृत्वको सरकारले युवाविरोधी नीति अँगालेको भन्दै विरोध गरेको छ ।
प्रधानमन्त्री आवासअगाडि कांग्रेस सांसदहरूले सरकार विरोधी नारा लगाएका थिए । कांग्रेस सांसदहरूले 'जब जब मोदी डराउँछन्, प्रहरीलाई अघि सार्छन्' भन्ने नारा लगाएका थिए । त्यस्तै विद्यार्थीमाथि कुटपिटलाई गुन्डागर्दीको संज्ञा दिँदै कांग्रेसले गुण्डागर्दी गर्नेहरूलाई सरकारमा बस्ने कुनै हक नभएको बताएको छ । कांग्रेसले शिक्षामन्त्री धर्मेन्द्र प्रधानसहित गृहमन्त्री अमित शाह र प्रधानमन्त्री मोदीले समेत राजीनामा दिनुपर्ने बताएको छ ।
राहुल गान्धीले विरोधबारे जानकारी दिँदै एक्समा लेखेका छन्, 'हिजो युवा विद्यार्थीहरूमाथि गरिएको क्रुर दमनबारे प्रधानमन्त्री मोदीसँग जवाफ माग्न हामीले उहाँको निवासतर्फ मार्च गरेका छौँ । सरकार न त यसको जिम्मेवारी लिन चाहन्छ, न त यस विषयमा संसद्मा छलफल गर्न नै तयार छ । भारतका युवाको भविष्य बर्बाद गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।'
मोदीले के भने ?
सामाजिक अभियन्ता सोनम वाङ्चुकको आमरण अनशन र कक्रोच जनता पार्टी(सीजेपी) ले शिक्षा प्रणाली सुधार र शिक्षामन्त्रीको राजीनामाका लागि प्रदर्शन गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ पनि सार्वजनिक भएको छ ।
मंगलबार सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडीए)को बैठकमा प्रधानमन्त्री मोदीले प्रश्नपत्र लिक गर्नेलाई सरकारले कडा कारबाही गरेको बताएका हुन् । 'मंगल मिलन' नाम दिइएको उक्त बैठकमा प्रधानमन्त्री मोदीले 'नीट' परीक्षाबारे प्रधानमन्त्रीले अनियमिततासम्बन्धी सूचना प्राप्त हुनासाथ सरकारले तत्काल कदम चालेको र १३ जनालाई पक्राउ गरी जेल पठाइएको बताएको संसदीय मामिलामन्त्री किरेन रिजुजुले जानकारी दिए ।
प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै मन्त्री रिजुजुले भने,'विद्यार्थीहरूको भविष्यलाई प्राथमिकतामा राख्दै पुनः परीक्षा सञ्चालन गरियो । नतिजा पनि कुनै ढिलाइ नगरी सार्वजनिक गरिएको छ । भविष्यमा प्रश्नपत्र चुहावटजस्ता घटना हुन नदिन कडा कदम चालिएको छ ।' सबै मिलेर पूर्ण रूपमा सुरक्षित र भरपर्दो परीक्षा प्रणाली निर्माण गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
