इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य पूर्वाधारमा लगातार आक्रमण गरिरहेको छ भने अमेरिकाले पनि लगातार १० रातसम्म इरानमा आक्रमण गरेको छ।
वासिङ्टन — इरानसँगको द्वन्द्वका क्रममा पछिल्लो दुई सातामा आफ्ना झण्डै १०० जना सैनिकहरू घाइते भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जनाएको छ।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जाल 'एक्स' मा जानकारी दिँदै भनेका छन्, 'जुलाई ७ पछि झण्डै १०० जना सेवाकर्मीहरू सामान्य वा मध्यम रूपमा घाइते भएको पाइए पनि तीमध्ये ९६ प्रतिशत आफ्नो ड्युटीमा फर्किसकेका छन्। उनीहरू युद्ध मैदानमा फर्किन दृढ छन्। धेरैजसोलाई टाउकोमा सामान्य चोट लागेको थियो।'
यसअघि इरानसँगको युद्धमा अमेरिकी सेनालाई लागेको चोटपटक र घाइतेहरूको विवरण पेन्टागनले लुकाएको समाचार ‘द न्युयोर्क टाइम्स’ ले प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित भएपछि प्रवक्ता पार्नेलले त्यसको खण्डन गर्दै यस्तो दाबी गरेका हुन्।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म युद्धमा कम्तीमा १७ जना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। त्यसमध्ये ३ जना पछिल्लो दुई साताभित्र इरान र जोर्डनमा मारिएका हुन्।
इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य पूर्वाधारमा लगातार आक्रमण गरिरहेको छ भने अमेरिकाले पनि लगातार १० रातसम्म इरानमा आक्रमण गरेको छ।
यसैबीच, अमेरिकी सेनाले घाइते सैनिकहरूको तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ गरेको विषयमा सीएनएनले पनि सोमबार समाचार प्रसारण गरेको थियो। सैनिकहरूको सुरक्षा र गोपनीयता कायम राख्नका लागि सूचना सार्वजनिक गर्न अमेरिकी सरकारले ढिलाइ गरेको उक्त समाचारमा जनाइएको थियो ।
