दुई देशबीच युद्ध चलिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका सधैँ कूटनीतिक समाधानका लागि खुला रहने बताएका छन्।
वासिङ्टन — इरान र अमेरिकाबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले सोमबार लगातार नवौँ रात पनि इरानका विभिन्न सैन्य ठेगानाहरूलाई लक्षित गरी भीषण मिसाइल तथा ड्रोन आक्रमण गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पछिल्लो आक्रमणले इरानलाई अत्यन्तै ठुलो धक्का पुगेको दाबी गरेका छन्।
ट्रम्पका अनुसार पछिल्ला दिनहरूमा इरानी आक्रमणमा परी मारिएका तीन अमेरिकी सैनिकहरूको सम्मान र बदलास्वरूप यो कारबाही गरिएको हो । मारिएका सैनिकहरूमध्ये दुई जना जोर्डनमा र एक जना इराकमा खटिएका थिए ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सोमबार बिहानै विज्ञप्ति जारी गर्दै हर्मुज जलमार्गमा व्यापारिक जहाजहरूमाथि भइरहेका इरानी आक्रमण रोक्न र तेहरानको सैन्य क्षमतालाई कमजोर पार्न आक्रमणको यो नयाँ शृङ्खला सुरु गरिएको जनाएको छ।
अमेरिकी सेनाले इरानको तटीय निगरानी प्रणाली, सञ्चार नेटवर्क र मिसाइल भण्डारण केन्द्रहरूलाई निशाना बनाएको छ।
यता, इरानले पनि अमेरिकी आक्रमणको कडा प्रतिवाद गर्दै सिरियामा आकस्मिक जवाफी आक्रमण गरेको जनाएको छ ।
त्यस्तै, जोर्डनको अक्काबा विमानस्थलमा रहेका अमेरिकी सैन्य विमानहरूलाई निशाना बनाइएको इरानको दाबी छ। यसैबीच, कुवेतको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेका केही इरानी ड्रोनहरूलाई नष्ट गरिएको बताएको छ।
इरानको अर्ध-सरकारी समाचार संस्था तास्निमका अनुसार अमेरिकी मिसाइलहरू इरानका प्रमुख सहरहरू ताब्रीज, चाबहार, कोनारक, बन्दर माहशहर र बन्दर इमाम खोमेनीमा खसेका छन् । ती स्थलमा ठुला विष्फोटका आवाजहरू सुनिएका थिए।
हर्मुज जलक्षेत्रमा पनि तनाव बढ्दो छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले हर्मुज पार गर्न खोज्दा दुईवटा तेल ट्याङ्करहरूमा विष्फोट भएको दाबी गरेका छन्।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) का अनुसार ती ट्याङ्करहरूले असुरक्षित दक्षिणी मार्ग प्रयोग गरिरहेका थिए । यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो दाबीलाई खण्डन गरेको छ।
आइआरजिसिले चेतावनी दिँदै भनेको छ, 'जबसम्म अमेरिकाले इरानमाथि आक्रमण गरिरहन्छ, तबसम्म हर्मुज जलमार्गबाट पेट्रोकेमिकल उत्पादन वा तेल र ग्यासको एक थोपा पनि सुरक्षित रूपमा ओसारपसार हुन दिइने छैन र यसको कडा सजाय दिइनेछ।'
अमेरिकी आक्रमणका कारण जलक्षेत्र असुरक्षित बनेको दाबी इरानले गर्दै आएको छ । गएको शनिबार मात्रै इरानले गरेको ड्रोन आक्रमणमा परेर उत्तरी इराकमा खटिएका एक अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
त्यसअघि शुक्रबार जोर्डनस्थित एक सैन्य शिविरमा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
त्यस्तै एक जना सैनिक बेपत्ता भएका थिए। दुई देशबीच युद्ध चलिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका सधैँ कूटनीतिक समाधानका लागि खुला रहने बताएका छन्।
