रुबियोले सम्पूर्ण विश्वका जहाजहरूको सुरक्षा गरिरहने काम अमेरिकाको मात्रै नभएको बताए ।
वासिङ्टन — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग वार्ताका लागि अझै पनि ढोका खुला रहेको बताएका छन् । इरानमाथि अमेरिकी सेनाले लगातार नवौँ रात पनि भीषण हवाई आक्रमण जारी राखेका बेला आइतबार विदेशमन्त्री रुबियोको यस्तो भनाइ आएको हो ।
एसियाली राष्ट्रहरूको संगठन (आसियान) सम्मेलनमा भाग लिन मनिला प्रस्थान गर्नुअघि अमेरिकाको मेरिल्यान्डमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री रुबियोले भने, ‘हामीले इरानसँग पटक-पटक प्रयास गर्यौँ र यो प्रयास जारी राख्नेछौँ । यदि संवादको ढोका खुल्छ भने हामी त्यसलाई स्वागत गर्छौँ ।’
यद्यपि, उनले अमेरिकी रणनीतिमा परिवर्तन आउनका लागि इरानले पहिले आफ्नो व्यवहार सुधार्नुपर्ने सर्त राखेका छन् । ‘हाम्रो व्यवहार परिवर्तन हुनका लागि पहिले उनीहरूको व्यवहार परिवर्तन हुनुपर्छ,’ उनले थपे ।
विदेशमन्त्री रुबियोका अनुसार इरानले प्रत्यक्ष रूपमा तथा मध्यस्थकर्ता मुलुकहरूमार्फत अमेरिकासँग वार्ता गर्न चाहेको संकेतहरू पठाइरहेको छ, तर उनले यसको विस्तृत विवरण भने खुलाएनन् । विगत एक हप्तादेखि दुवै पक्षले एकअर्कामाथि आक्रमण तीव्र पारेका कारण सार्वजनिक रूपमा कूटनीतिको कुनै संकेत देखिएको छैन ।
इरानको पछिल्लो कदमप्रति टिप्पणी गर्दै रुबियोले भने, ‘हामीले इरानको व्यवहारको जवाफ मात्र दिएका हौँ । उनीहरूले आज राति पनि पानीजहाजहरूलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरिरहेका छन्, जुन स्वीकार्य छैन ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई अमेरिकाले अभिभाकत्व दिने र त्यसबापत शुल्क लिने बताएका थिए ।
तर यस्तो घोषणाको केही दिनभित्रै ट्रम्पले उक्त योजना स्थगित भएको पनि बताएका थिए । यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री रुबियोले अन्य राष्ट्रहरूलाई पनि अघि बढ्न आग्रह गरेका छन् ।
उनले सम्पूर्ण विश्वका जहाजहरूको सुरक्षा गरिरहने काम अमेरिकाको मात्रै नभएको बताए । 'यो धर्तीका सम्पूर्ण जहाजहरूलाई सधैँभरि सुरक्षा दिइरहने काम अमेरिकाको मात्र होइन,' रुबियोले भने, ' अब अन्य देशहरूले पनि अगाडि बढेर सहयोग गर्न आवश्यक छ । चाहे त्यो सैन्य उपकरण दिएर होस् वा आर्थिक रूपमा ।'
