नियमअनुसार कम्पनीहरूले अब छुट, वैकल्पिक बजार वा परोपकारी संस्थामार्फत त्यस्ता सामानहरू बिक्री, दान वा व्यवस्थापन गर्नुपर्नेछ ।
What you should know
म्युनिख — युरोपियन युनियन (ईयू) का २७ वटा सदस्य राष्ट्रहरुमा फेसन कम्पनीहरुले बिक्री नभएका कपडा र जुत्ता नष्ट गर्न नपाउने भएका छन् ।
ईयूको ‘इकोडिजाइन फर सस्टेनेबल प्रोडक्ट्स रेगुलेसन’ अन्तर्गत सन् २०२४ मा स्वीकृत गरिएको यो प्रतिबन्ध आइतबारदेखि कार्यान्वयनमा आएको हो ।
वातावरणीय संकटलाई न्यूनीकरण गर्न चालिएको यस नीतिले उपभोक्तालाई पनि फाइदा पुग्ने विज्ञहरुले बताएका छन् । क्षति पुगेका, पुराना र अनलाइनबाट फिर्ता आएका लाखौं टन फेसनका सामान यसअघि युरोपेली कम्पनीहरुले नष्ट गर्ने गरेका थिए ।
अब २५० भन्दा बढी कर्मचारी र ५ करोड युरोभन्दा बढी वार्षिक कारोबार भएका ठूला कम्पनीहरूलाई कपडा, जुत्ता तथा अन्य फेसनका सामानहरू नष्ट गर्न निषेध गरिएको छ । केही निश्चित अवस्थाबाहेक कम्पनीहरूले ती सामग्रीहरु जलाउन, नस्ट गर्न वा ल्यान्डफिल साइडमा पठाउन पाउने छैनन् ।
यस नियमअनुसार कम्पनीहरूले अब छुट, वैकल्पिक बजार वा परोपकारी संस्थामार्फत त्यस्ता सामानहरू बिक्री, दान वा व्यवस्थापन गर्नुपर्नेछ । स्वास्थ्यका लागि हानिकारक, असुरक्षित, मर्मत गर्न नसकिने वा परोपकारी संस्थाले अस्वीकार गरेका अवस्थामा मात्रै सामग्रीहरु नस्ट गर्न पाइनेछ ।
त्यस्तै, कम्पनीहरूले आफूले फ्याँकेका सामानहरूको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र त्यसको अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने अनिवार्य नियम बनाइएको छ । सन् २०३० पछि मझौला आकारका कम्पनीहरुमा पनि यो नियम लागु हुनेछ ।
फेसन उद्योगमा देखिएको फोहोरको समस्या निकै ठूलो छ । युरोपेली वातावरण एजेन्सी (ईईए) का अनुसार युरोपमा मात्रै प्रत्येक वर्ष बिक्री नभएका करिब ४ देखि ९ प्रतिशत कपडाजन्य उत्पादनहरू नष्ट गरिन्छन् ।
त्यसमध्ये धेरैजसो सामग्री प्रयोगमा आउनुअघि नै नस्ट गरिएका हुन्छन् । एजेन्सीका अनुसार यसबाट वार्षिक अनुमानित २,६४,००० देखि ५,९४,००० टन बराबर फोहोर निस्कन्छ ।
अनलाइन किनमेल र सामग्री फिर्ता गर्ने प्रवृत्ति तीव्र रूपमा बढेका कारण यो समस्या अझ चुलिएको छ । ईयूभर अनलाइन अर्डर गरिएका फेसनसम्बन्धी सामानहरूमध्ये पाँचवटामा एउटा सामान फिर्ता हुने गरेको छ र त्यसलाई फेरि बिक्री वा प्रयोगमा ल्याउनुको साटो कम्पनीहरुले नष्ट गरिदिन्छन् । त्यस्तै, अनलाइन स्टोरमा थन्किएका कतिपय विलासी सामग्रीहरु पनि लामो समय बिक्री नभएपछि छुटमा लैजानुको साटो नस्ट गरिन्छन् ।
यी सबै कारणले गर्दा हरेक वर्ष सयौँ हजार टन तयारी पोशाक, त्यसलाई तयार गर्न प्रयोग हुने कपडा, जुत्ताहरू नष्ट हुने गरेका छन् । लाखौँ कपडा जलाउँदा हरितगृह ग्यासको उत्सर्जन घटाउने प्रयासमा बाधा पुगिरहेको छ, जसलाई कम गर्न यो नयाँ प्रतिबन्ध ल्याइएको हो ।
कच्चा पदार्थ, पानी, ऊर्जा र यातायातबाट हुने फोहोरलाई ध्यान दिने तथा पुनः प्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गर्ने नीति ईयू सदस्य राष्ट्रहरूले लिइरहेका छन् ।
यस प्रतिबन्धप्रति विभिन्न प्रतिक्रियाहरू आएका छन् । जर्मन खुद्रा व्यापार महासंघ (एचडीई) ले आउटलेट, क्लियरन्स बजार र सेकेन्डह्यान्ड च्यानलहरूमार्फत धेरै छुटसहितका कपडा बिक्रीमा राखिने हुँदा उपभोक्ताहरूले यसबाट लाभ उठाउन सक्ने बताएको छ । तर एचडीईका प्रबन्ध निर्देशक स्टेफन जेन्थले यो नियम परिवर्तन धेरै पसलहरूका लागि भने चुनौतीपूर्ण हुने चेतावनी दिएका छन् ।
प्याकेजिङ बिग्रिएको, उच्च लजिस्टिक लागत, मागको कमी वा उत्पादनको दाँजोमा प्राप्त हुने कम मूल्यका कारण सबै बिक्री नभएका सामानहरू सजिलै पुनः बिक्री गर्न वा दान दिन नसकिने उनको भनाइ छ । त्यस्तै, ती सामग्रीहरुलाई भण्डार वा मर्मत गर्दा लागत बढ्न जाने पनि कम्पनीहरुले जनाएका छन् ।
लामो समयदेखि विलासी कम्पनीहरुले भण्डारण, मर्मत वा छुट दिनुभन्दा सामान नष्ट गर्नु नै सस्तो पर्ने तर्क गर्दै आइरहेका छन् । यस्ता कम्पनीहरुले निकै थोरै मात्र सामग्री उत्पादन गर्छन् । निश्चित समयसम्म बिक्री नभएका सामग्रीहरुलाई नस्ट गरेर आफ्ना ब्रान्डका उत्पादन सीमित रहेको देखाउँछन् ।
जसले उनीहरुको नयाँ ब्रान्ड निस्कनासाथ विलासी ग्राहकहरु खरिदका लागि आतुर हुन्छन् । यसै हप्ता हङकङको उच्च अदालतले विलासी सामग्री उत्पादन गर्ने फ्रेन्च ब्रान्ड शानेलले बिक्री नभएका हजारौं उत्पादनहरू नियमित रूपमा नष्ट गर्ने गरेको ठहर गरेको थियो ।
केही विज्ञहरूका अनुसार बिक्री नभएका सामानहरूलाई आउटलेट, परोपकारी संस्था वा दोस्रो बजारमा पठाउँदा मूल्य घट्ने वा अनाधिकृत बिक्री बढ्ने जोखिम हुन्छ । यसका साथै मर्मत गर्ने, भण्डार गर्ने र सामग्रीहरू पुनः प्राप्त गर्ने कामले कम्पनीहरूको खर्च बढाउन सक्छ ।
जर्मनीको अनुसन्धानमूलक संस्था बर्नस्टेनका फेसन विश्लेषक लुका सोल्का भने यस्ता नियमले फेसन ब्रान्डहरुलाई अझै धेरै जवाफदेही बनाउने बताउँछन् ।
‘नयाँ नियमले कम्पनीहरूलाई योजना बनाउन र सामानको व्यवस्थापन गर्न अझ बढी ध्यान दिन बाध्य पार्नेछ । विशेषगरी कपडा ब्रान्डहरूसँग सिजनको अन्त्यमा केही सामानहरू बाँकी रहनु स्वभाविक हो । ब्रान्डको गुणस्तर गुणस्तर कायम राख्दै, विशेष अफरहरु ल्याउन र आफ्ना बाँकी रहेका सामग्रीहरुलाई राम्रोसँग बिक्री, दान वा व्यवस्थापन गर्न कम्पनीहरुले अझै धेरै प्रयास गर्नेछन् भन्ने मलाई लाग्छ,’ उनले भने ।
नयाँ नियम लागु भएपछि सामानको व्यवस्थापन गर्न र बजार मागबारे वैज्ञानिक पूर्वानुमान लगाउनका लागि एआईको प्रयोग तीव्र हुन सक्ने प्रविधिविद्हरुले बताएका छन् ।
