उत्तरपूर्वी सहर खार्किभमा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । त्यस्तै, राजधानी किभमा एक जनाले ज्यान गुमाएका छन् र १६ जना घाइते भएका छन् ।
काठमाडौँ — रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी शनिबार भीषण ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ । यस आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३६ जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् ।
उत्तरपूर्वी सहर खार्किभमा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । त्यस्तै, राजधानी किभमा एक जनाले ज्यान गुमाएका छन् र १६ जना घाइते भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयता किभमा भएका ठूला ब्यालेस्टिक आक्रमणमध्ये शनिबारको आक्रमण एक रहेको बताए ।
रातभर किभ क्षेत्रका विभिन्न भागहरूमा मिसाइल प्रहार भएको युक्रेनी सेनाले जनाएको छ ।
रुसले प्रहार गरेका ४१ मध्ये १८ वटा मिसाइललाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको पनि सेनाले जनाएको छ । यस्तै, प्रतिरक्षा प्रणालीले १०८ वटा ड्रोनहरूलाई पनि निस्तेज पारेको छ ।
यसैबीच, युक्रेनले पनि रुसी भूभागमाथि आफ्ना प्रत्याक्रमण जारी राखेको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनले ब्ल्याक सीमा रहेका तीनवटा रुसी तेल ट्यांकर र दक्षिणपश्चिमी स्टाभ्रोपोल क्षेत्रका विभिन्न पूर्वाधारहरूलाई लक्षित गरी आक्रमण गरेको छ ।
खार्किभका क्षेत्रीय प्रमुख ओलेग सिनीहुबोभका अनुसार सहरको उपनगरमा रहेको एउटा हुलाक टर्मिनलमा रुसले आक्रमण गरेको छ । यस घटनामा तीनजना पुरुषको मृत्यु भएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममार्फत पछिल्लो एक सातामा रुसले युक्रेनविरुद्ध करिब १,४५० वटा स्ट्राइक ड्रोन, १,६४० भन्दा बढी नियन्त्रित बम र विभिन्न प्रकारका ९९ वटा मिसाइल प्रहार गरेको जानकारी दिएका छन् ।
जेलेन्स्कीका अनुसार युक्रेनले पनि प्रत्याक्रमणलाई तिव्र पारेको छ । युक्रेनले रुसको स्टाभ्रोपोल क्षेत्रका तीनवटा तेल डिपोहरूमा एकैसाथ आक्रमण गरेको छ । सोही क्षेत्रमा युक्रेनी सेनाले अर्को एक ऊर्जा पूर्वाधारमा पनि क्षति पुर्याएको छ ।
त्यसैगरी, रुसले किभलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणमा ‘इस्कान्दर’ र ‘जिरकोन’ जस्ता हाइपरसोनिक क्षेप्यास्त्रसहित १२५ वटा ड्रोनहरूको प्रयोग गरेको युक्रेनी वायुसेनाले जनाएको छ ।
किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणबाट आवासीय भवनहरू, सुपरमार्केट, छात्रावास र विभिन्न कार्यालय तथा औद्योगिक स्थलहरूमा क्षति पुगेको छ ।
बुचा जिल्लामा रहेको एक लजिस्टिक हबमा पनि प्रहार भएको छ, जहाँ दुईजना घाइते भएका छन् ।
रुसको स्टाभ्रोपोलका गभर्नरले ड्रोन आक्रमणका कारण एक औद्योगिक पार्कमा आगलागी भएको पुष्टि गरेका छन् ।
साथै, क्यास्पियन पाइपलाइन कन्सोर्टियमले आफ्नो टर्मिनलमा भएको आक्रमणपछि तेल लोड गर्ने काम बन्द गरिएको छ । यद्यपि कुनै मानवीय क्षति वा तेल चुहावट नभएको कम्पनीले जनाएको छ ।
यसअघि युक्रेनले रुसको सबैभन्दा ठूलो इ–कमर्श प्लेटफर्म ‘वाइल्डबेरीज’ का दुईवटा गोदामहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा आठजनाको मृत्यु हुनुका साथै ठूलो आगलागी भएको थियो ।
मस्कोबाट करिब ४७५ किलोमिटर दक्षिण–पूर्वमा रहेको कोटोभ्स्क सहरस्थित गोदाममा भएको आक्रमणमा २५ जना घाइते भएका थिए । क्षेत्रीय गभर्नर इभ्गेनी पर्भिशोभका अनुसार मारिएका सबै रातको सिफ्टमा काम गरिरहेका कर्मचारी हुन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसका महत्वपूर्ण पूर्वाधार र सेवा क्षेत्रमा आक्रमण गरिएको स्विकारेका छन् ।
‘हाम्रा नागरिक पूर्वाधार, सहर र समुदायहरूमा रुसले गरिरहेको आक्रमणको जवाफमा युक्रेनले यी कारबाही गरेको हो,’ जेलेन्स्कीले भने ।
उनले रुसको ऊर्जा पूर्वाधारमा लामो दूरीको ड्रोन आक्रमण गरएको बताए । युक्रेनी अधिकारीहरुले पछिल्लो समय भएका युक्रेनी आक्रमणका कारण रुसमा इन्धन अभाव सिर्जना भएको दाबी गरेका छन् ।
पछिल्लो समय रुसले आक्रमण बढाएपछि युक्रेनले तयसलाई रोक्नका लागि आफ्ना युरोपेली साझेदारहरुसँग ब्यालेस्टिक मिसाइल्स रोक्न प्रतिरक्षा प्रणालीको आपूर्ति बढाउन माग गरिरहेको छ ।
जेलेन्स्कीले आइतबार युक्रेनको वर्तमान अवस्थाबारे भने, ‘ब्यालेस्टिक मिसाइलबाट हुने हानीबाट बच्नु अहिले हाम्रो प्रमुख प्राथमिकता हो । हामीलाई प्रत्येक दिन प्रतिरक्षा प्रणालीको आवश्यकता छ ।’
यसअघि जेलेन्स्कीले अमेरिकासँग पेट्रियट इन्टरसेप्टरहरू उत्पादन गर्ने इजाजतपत्रबारे राजनीतिक सहमति भएको र यस वर्षको अन्त्यसम्ममा उत्पादन सुरु हुने अपेक्षा राखेको बताएका थिए ।
तर, पछिल्ला दिनमा रुसले गरेको तीव्र आक्रमणले गर्दा सहयोगी राष्ट्रहरूबाट तुरुन्तै हतियार र प्रतिरक्षा प्रणाली आपूर्ति गर्नुपर्ने दबाब युक्रेनसामु परेको छ ।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेसँगै सुरु भएको यस युद्धमा ठूलो संख्यामा मानिसहरु मारिएका छन् । दुबै देशका सार्वजनिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ ।
यसअघि दुई देशबीच वार्ता गराउन अमेरिकाले पहल थालेको थियो। तर, २८ फेब्रुअरीमा इरानमाथि गरेको सैन्य आक्रमणपछि अमेरिका आफैं प्रत्यक्ष युद्धमा होमिएकाले उक्त शान्ति प्रयास अवरुद्ध हुन पुगेको छ।
