अमेरिकी आक्रमण दक्षिण इरानका पूर्वाधारमा किन केन्द्रीत छ ?

बन्दर अब्बासलाई जोड्ने सडक, रेलवे र पुलहरू ध्वस्त भएमा इरानमा अत्यावश्यक सामग्रीको तीव्र अभाव हुने जोखिम रहन्छ

श्रावण २, २०८३

एजेन्सी

Why is the US attack focused on infrastructure in southern Iran?

काठमाडौँ — अमेरिकाले इरानमाथि लगातार सातौँ रात पनि भीषण हवाई आक्रमण जारी राखेको छ । पछिल्लो सैन्य कारबाहीमा अमेरिकी सेनाले इरानका पुल, ऊर्जा केन्द्र र सञ्चार टावरहरू जस्ता सार्वजनिक पूर्वाधारहरूलाई समेत निशाना बनाएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिने हर्मुज जलमार्गमाथिको इरानी नियन्त्रण घटाउन र तेहरानलाई दबाबमा ल्याउन त्यहाँका भौतिक पूर्वाधारहरूमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।

अमेरिकी सेनाको पश्चिम एसिया हेर्ने सेन्ट्रल कमाण्ड (सेन्टकम) ले लडाकु विमान, ड्रोन र युद्धपोतहरूको प्रयोग गरी इरानका सैन्य अखडा, भूमिगत हतियार भण्डार र जलसेनाका रणनीतिक स्थलहरूमा घातक प्रहार गरिएको पुष्टि गरेको छ ।

पछिल्लो साता अमेरिकी आक्रमण विशेष गरी दक्षिणी इरानको हर्मुजान प्रान्तका सार्वजनिक पूर्वाधारहरूमा केन्द्रित देखिन्छ । इरानी समाचार एजेन्सी इर्नाका अनुसार शनिबार बिहान बुसेहर र याज्द प्रान्तमा पनि भीषण बमबारी भएको छ । यज्द प्रान्तमा पाँचपटक र हर्मुजानको सिरिक क्षेत्रमा तीनवटा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् ।

हर्मुज जलमार्गको तटीय क्षेत्रमा अवस्थित हर्मुजान प्रान्तमा अहिलेसम्म अमेरिकी आक्रमणबाट कम्तीमा ६ वटा महत्वपूर्ण पुलहरू ध्वस्त भइसकेका छन् । यस प्रान्तको राजधानी एवं प्रमुख बन्दरगाह सहर बन्दर अब्बासबाट केन्द्रीय राजधानी तेहरानसहित देशका विभिन्न भागमा ठूलो परिमाणमा दैनिक उपभोग्य सामग्री ओसारपसार हुने गर्छ ।

त्यहीकारण यस शहर जोड्ने सडक, रेलवे र पुलहरू नै ध्वस्त भएमा इरानमा अत्यावश्यक सामग्रीको तीव्र अभाव हुने जोखिम छ । 

इरानी अधिकारीहरूका अनुसार अमेरिकाले सैन्य निसानाभन्दा बाहिर गएर खानेपानी प्रशोधन केन्द्र, विद्युत् गृह र खाद्यान्न भण्डारण स्थलहरूमा जानीजानी प्रहार गरिरहेको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी कदमको कडा निन्दा गर्दै वासिङ्टनले युद्ध अपराध’ गरिरहेको आरोप लगाएका छन् ।

इरानी ऊर्जा मन्त्रालयले विद्युतीय पूर्वाधारमा क्षति पुगेका कारण दक्षिणी प्रान्तका नागरिकहरूलाई विद्युत् खपत कम गर्न अपिल गरेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसेन केर्मानपुरले शुक्रबार दिएको जानकारीअनुसार पछिल्ला ६ दिनमा भएका अमेरिकी आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भइसकेको छ । ४०० भन्दा बढी घाइते भएका छन् ।

सैन्य विश्लेषकहरूका अनुसार हर्मुज जलक्षेत्रमा अमेरिकी जलसेनाको नाकाबन्दीलाई पूर्ण रूपमा लागू गर्न र इरानलाई आत्मसमर्पण वा वार्ताको टेबलमा आउन बाध्य पार्न अमेरिकाले यो रणनीति अपनाएको हो ।

बन्दर अब्बासमा इरानी जलसेनाको मुख्यालय छ, जहाँ तेहरानबाट हुने हतियार आपूर्ति रोक्न अमेरिकाले सडक र पुलहरू भत्काइरहेको छ । बन्दर अब्बासमा इरानी जलसेना कमजोर हुँदा हर्मुज जलमार्गमाथिको उसको नियन्त्रण स्वतः कमजोर हुने आँकलन अमेरिकाको छ ।

किङ्ग्स कलेज लण्डनका स्कुल अफ सेक्युरिटी स्टडिजका वरिष्ठ प्राध्यापक मार्क हिलबोर्नले अल जजीरासँग कुरा गर्दै अमेरिकी आक्रमणहरू सैन्य लक्ष्यभन्दा बाहिर गइसकेको टिप्पणी गरेका छन् । ‘सैनिक सामाग्री ओसारपसारमा यी पूर्वाधार प्रयोग भइरहेको तर्क अघि सारेर अमेरिकाले आक्रमणको बचाऊ गर्न खोजेको देखिन्छ । तर, यसको प्रत्यक्ष र गम्भीर असर सर्वसाधारण नागरिकमाथि परिरहेको छ,’ उनले भने ।

अमेरिकी आक्रमणको प्रतिवाद गर्दै इरानले मध्यपूर्वमा रहेका अमेरिकी साझेदार राष्ट्रहरूमाथि लगातार मिसाइल प्रहार गरिरहेको छ । मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसहित जोर्डन, साउदी अरेबिया, बहराइन र कुवेतलगायतका मुलुकहरूमा इरानले क्षेप्यास्त्र प्रहार गरेको हो । शुक्रबार मात्रै कुवेतको कुल आपूर्ति धान्ने मुख्य खानेपानी प्रशोधन केन्द्रमा आक्रमण हुँदा ठूलो क्षति पुगेको छ ।

इरानले अहिलेसम्म प्रतिरोधको रणनीतिमात्रै अपनाएको दाबी गरेको छ । तर, अमेरिकाले आक्रमण जारी राखेमा आक्रामक र पूर्ण विनाशकारी चरण युद्ध प्रवेश गर्ने चेतावनी इरानका सर्वोच्च नेताका सल्लाहकार मेजर जनरल मोहसेन रेजाईले दिएका छन् ।

‘अमेरिकी हमला आगामी दुई वा तीन दिनसम्म जारी रहेमा इरानको रणनीति प्रतिशोधात्मक प्रतिक्रियामा मात्र सीमित रहने छैन । युद्ध विनाशकारी चरणमा प्रवेश गर्नेछ र कुनै पनि राजनीतिक सीमा सुरक्षित रहने छैनन्,’ रेजाइलाई उद्रृत गर्दै इरानी समाचार एजेन्सी ’आईआरआईबीले लेखेको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा सैन्य अभियान सुरु गरेलगत्तै इरानले विश्वकै प्रमुख इन्धन करिडोर मानिने हर्मुज जलमार्ग ठप्प पारेको थियो ।

इरानको यो कदमले विश्व बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढाउनुका साथै वार्तामा इरानलाई बलियो बार्गेनिङ शक्ति दिलाएको थियो। जुन १७ मा भएको अन्तरिम सम्झौतामा ३० दिनभित्र जलमार्ग खोल्ने सहमति भए पनि दुवै पक्षले सम्झौता पालना नगरेपछि तनाव उत्कर्षमा पुगेको हो।

लन्डनस्थित सैन्य विश्लेषक एलेक्स अल्भारेज–सियर्सले अल जजीरासँग कुरा गर्दै परम्परागत सैन्य अखडा बाहिरका पूर्वाधारमा भइरहेको आक्रमणले अमेरिकी रणनीतिमा आएको ठूलो बदलावको सङ्केत गर्ने बताए।

उनले अमेरिकी राष्ट्रपति ट्रम्प हतास देखिएको र उनी इरानको जमिनमा सेना उतार्ने तयारीमा हुन सक्ने र अहिलेको आक्रमण त्यसैको प्रारम्भिक चरण हुन सक्ने अडकल गरे।

यद्यपि, बेलायतको ल्यान्कास्टर विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक साइमन म्याबन भने इरानमा स्थल सेना परिचालन गर्नु आत्मघाती हुने भएकाले ट्रम्पले त्यस्तो जोखिम मोल्ने सम्भावना कम रहेको तर्क गर्छन्।

उनले यो केवल इरानलाई वार्तामा ल्याउनका लागि सिर्जना गरिएको अधिकतम दबाब मात्रै हुन सक्ने तर नागरिक पूर्वाधारमाथिको यस्तो आक्रमणले इरानी जनतामा अमेरिकाविरोधी भावना झन् तीव्र बनाउने विश्लेषण गरे ।

कच्चा तेलको भाऊ लगातार बढ्दै

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ४ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । यो वृद्धि गत एक महिनायताकै उच्च हो ।  हर्मुज जलमार्गमा सिर्जित अवरोध र रेड सी बन्द हुनसक्ने हुथी विद्रोहीको चेतावनीले ते ढुवानीमा गम्भीर संकट पैदा गरेको छ ।

शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ३.८७ डलर (४.५९ प्रतिशत) बढेर ८८.१० डलर पुगेको छ । त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि ३.५४ डलर (४.४८ प्रतिशत) ले वृद्धि भएर प्रति ब्यारेल ८२.४९ डलर कायम भएको छ ।

दुवै प्रकारका कच्चा तेलको यो मूल्य गत जुन मध्ययताकै उच्च हो । त्यसैगरी भारतले खरिद गर्ने कच्चा तेल इन्डियन बास्केट ८१ दशमलव ८२ डलर हाराहारीमा कारोबार भएको ओयल प्राइस डटकमले जनाएको छ ।

इरान–अमेरिकाबीच १७ जुनमा अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएलगत्तै तेलको भाऊ उल्लेख्य रुपमा घटेको थियो । तर पछिल्लो साता युद्ध भड्किएसँगै हर्मुजमा अवरोध हुँदा निरन्तर रुपमा मूल्य बढेको छ ।

एजेन्सी

Link copied successfully