नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म ५ हजार ६९ जनाको मृत्यु भइसकेको छ
काठमाडौँ — गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ।
पुनर्निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताए।
गत जुन २४ मा एक मिनेटको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो।
नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म ५ हजार ६९ जनाको मृत्यु भइसकेको छ। मृतकहरूमध्ये अधिकांश तटीय क्षेत्रका बासिन्दा हुन्।
यस विपद्मा घाइते हुनेको सङ्ख्या १६ हजार ७४० पुगेको छ। यद्यपि, अधिकांश घाइते उपचारपछि अस्पतालबाट घर फर्किसकेको अधिकारीहरूले जनाए। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको पुनर्निर्माणका लागि आइएमएफबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिइन्।
आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले उक्त रकम उपलब्ध गराइएको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकताको सम्बोधनका लागि भेनेजुएलाको आफ्नै सञ्चित स्रोत (रिजर्भ ट्राञ्च) प्रयोग गर्न सहयोग गरिएको बताइन् ।
हाल भेनेजुएलासँग आइएमएफमा करिब ५ अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात छ। यसअघि निकोलस मादुरोलाई राष्ट्रपति नमानिएको अवस्थामा उक्त स्रोतको उपयोग रोकिएको थियो ।
यस वर्ष जनवरीमा निकोलस मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलमा भेनेजुएलासँगको सहकार्य पुनः सुरु गरेका थिए। सन् २०१९ देखि यी संस्थासँगको सम्बन्ध स्थगित थियो। भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन भएका छन्।
उनीहरू हाल अस्थायी शिविरमा बस्दै आएका छन्, जहाँ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था नभएको बताइएको छ।
