अमेरिकाको चुनावमा चीनले हस्तक्षेप गरेको ट्रम्पको दाबी कति तथ्यपरक छ ?

अमेरिकीस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ चाङले चीनले कसैको मामिलामा हस्तक्षेप नगर्ने बताए

श्रावण २, २०८३

एजेन्सी

How factual is Trump's claim that China interfered in the US election?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी पुनः दोहोर्‍याएका छन् ।  यसपटक उनले चीनको षड्यन्त्रका कारण आफु पराजित भएको दाबी गरेका छन् । 

बिहीबार राति टेलिभिजनमार्फत गरिएको एक विशेष सम्बोधनमा ट्रम्पले भर्खरै सार्वजनिक गरिएका गोप्य दस्ताबेजहरुले विदेशी हस्तक्षेपको पुष्टि गरेको दाबी गरे । यद्यपि, अमेरिकी गुप्तचर निकायहरूले यसअघि नै यस्तो कुनै हस्तक्षेप नभएको निष्कर्ष सार्वजनिक गरेका थिए । 

चीनले वर्षौं लगाएर २२ करोड अमेरिकी मतदाताको व्यक्तिगत विवरण अवैध रूपमा संकलन गरेको आरोप  ट्रम्पले लगाए । चीनले २०१८ को मध्यवधि चुनाव र २०२० को राष्ट्रपति चुनावमा रिपब्लिकनहरूलाई हराउन र आफ्नो छवि बिगार्न हस्तक्षेप गरेको उनको आरोप छ ।

ट्रम्पले २०२० को निर्वाचन नतिजा चोरी भएको आरोप लगाउँदै आएका छन् । उनको यही दाबीबाट प्रेरित भएर  २०२१, जनवरी ६ मा क्यापिटल हिल (अमेरिकी संसद् भवन) मा उग्र समर्थकहरुले  हिंसा निम्त्याएका थिए । 

हाल उनी  कडा मतदाता परिचयपत्र सम्बन्धी कानुन पारित गराउन लागिपरेका छन् । यसलाई उनका समर्थकहरुले ‘सेभ अमेरिका एक्ट’ नाम दिएका छन् ।

यो कानुनले मतदातामाथि कडा परिचयपत्र नियम लागू गर्ने र निर्वाचनमा संघीय सरकारको हस्तक्षेप बढाउने उद्देश्य राखेको छ । तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदन (सिनेट) मा विपक्षी डेमोक्रेटिक पार्टीका सिनेटरहरुको विरोधका कारण यो विधेयक रोकिएको छ । 

ट्रम्पले सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तयारी गरिरहेका छन् । ट्रम्पले थालेको व्यापार युद्धका कारण निकै तनावपूर्ण बनेको दुई देशीय सम्बन्ध मे महिनाको मध्यमा ट्रम्पले बेइजिङ भ्रमण गरेपछि केही मत्थर भएको थियो । सेप्टेम्बरमा सी वासिङटन आउने कार्यक्रम छ ।

आधिकारीक प्रतिवेदन र ट्रम्पको प्रतिबेदन फरक 

सन् २०२१ मा जारी भएको आधिकारिक अमेरिकी गुप्तचर प्रतिवेदनमा २०२० को निर्वाचनमा चीनले हस्तक्षेप प्रयास गर्नेबारे विचार गरेको उल्लेख छ । तर, अन्त्यमा कुनै पनि हस्तक्षेप नगरेको यस प्रतिवेदनको निष्कर्ष छ । जबकि, रुस, इरानलगायत देशहरुले हस्तक्षेपको प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ ।

ट्रम्पले अहिले सार्वजनिक गरेका दस्तावेजहरू तत्कालीन गुप्तचर निर्देशक जोन र्‍याटक्लिफको कार्यकालमा तयार पारिएका थिए।

यी दस्तावेजहरूले चीनले सन् २००८ देखि नै अमेरिकी मतदाता र राजनीतिक दलहरूको जानकारी संकलन गर्ने प्रयास गरेको देखाएको थियो । तर, अन्त्यमा चीनले निर्वाचन परिणामलाई प्रभावित पार्ने गरी कुनै सक्रिय कदम नचालेको ठहर अन्तिम प्रतिवेदनले गरेको थियो । 

अन्तिम प्रतिवेदनले अमेरिकी मतदाता र राजनीतिक दलहरुको जानकारी सार्वजनिक रुपमा उपलब्ध हुने भएकाले त्यसको प्रयोग गरेर मतदान परिणाम परिवर्तन गर्न सम्भव नहुने ठहर गरेको थियो । यद्यपि, निर्वाचन नतिजाको पूर्वानुमान गर्नका लागि यस्ता डेटा  प्रयोग गर्न  सकिन्छ ।

चीन के भन्छ ?

अमेरिकीस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ चाङले ट्रम्पका आरोपहरूको कडा प्रतिवाद गरेका छन् । चीनले कसैको मामिलामा हस्तक्षेप नगर्ने उनले बताए ।

‘अमेरिकी चुनाव अमेरिकाको आन्तरिक मामिला हो र यसको नतिजा अमेरिकी जनताको भोटबाट निर्धारण हुन्छ,’ चाङले भने,‘ चीनले कहिल्यै पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको छैन र भविष्यमा पनि गर्ने छैन ।’

डेमोक्रेटिक पार्टीका सिनेटर मार्क वार्नरले ट्रम्पका भनाइहरू ‘पूर्णतः झूटो’ रहेको प्रतिक्रिया दिएका छन् । ट्रम्पले आफ्ना राजनीतिक उद्देश्यका लागि पुरानै र पटक–पटक खारेज भइसकेका दाबीहरू दोहो¥याइरहेको उनल बताए । 

नोभेम्बर २०२६ मा हुने मध्यवधि अर्थात् संसदीय निर्वाचनलाई प्रभावित पार्ने र अमेरिकी निर्वाचन प्रणालीप्रति जनताको विश्वास घटाउने षड्यन्त्रको रूपमा उनले ट्रम्पको कदमलाई व्याख्या गरेका छन् ।

कुन–कुन देशले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेका थिए?

सन् २०२१ मा अमेरिकी गुप्तचर निकायहरूले गरेको विस्तृत अनुसन्धानले २०२० को निर्वाचनमा विभिन्न देशको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । तर चीनले हस्तक्षेप नगरेको यसमा उल्लेख छ । 

प्रतिवेदनअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा रुसका सरकारी निकायले अमेरिकी चुनावलाई प्रभाव पार्ने अभियान सञ्चालन गरेका थिए । यसको मुख्य उद्देश्य बाइडेनको चुनावी अभियानलाई कमजोर बनाउने, ट्रम्पप्रति समर्थन जुटाउने, निर्वाचन प्रक्रियाप्रति जनताको विश्वास घटाउने र राजनीतिक विभाजनलाई थप बढाउने थियो ।

इरानले गोप्य रूपमा ट्रम्पको चुनावी सम्भावनालाई कमजोर पार्ने प्रयास गरेको अनुसन्धानले देखाएको छ ।क्युबा, भेनेजुएला र लेबनानको हेजबुल्लाह समूहले पनि अमेरिकी निर्वाचनलाई प्रभावित पार्न ‘साना स्तरका’ प्रयासहरू गरेको प्रतिवेदनमा उल्लेख छ । 

अमेरिकी गुप्तचर निकायले ब्राजिलको नाम उल्लेख नगरे पनि अनुसन्धानमूलक संस्था ‘एजेन्सिया पब्लिका’  को विश्लेषणले फरक तथ्य बाहिर ल्याएको थियो ।

विश्लेषणअनुसार सन् २०२० को निर्वाचनका बेला ब्राजिलबाट ट्रम्पको पक्षमा हजारौँ ट्विटहरू ट्रेन्डिङमा थिए । यी ट्विटहरूले निर्वाचनमा धाँधली भएको षड्यन्त्रका सिद्धान्तहरू फैलाएका थिए ।

यी अभियानहरूमा ट्रम्पका कट्टर सहयोगी र तत्कालीन ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरू तथा स्वचालित अकाउन्ट (बट्स) हरूको मुख्य भूमिका रहेको उक्त संस्थाले जनाएको थियो ।

एजेन्सी

Link copied successfully