प्रारम्भिक विवरणले ठूलो मानवीय क्षतिको सङ्केत गरेको राष्ट्रसङ्घीय निकायहरूले बताएका छन्
काठमाडौँ — म्यान्मारको राखिन प्रान्त नजिक रहेको तटबाट रोहिङ्ग्या शरणार्थी बोकेर जुन महिनाको अन्तिम साता छुटेका दुई डुंगा दुर्घटना हुँदा ५०० भन्दा बढी मानिस बेपत्ता भएको हुनसक्ने आँकलन संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले गरेका छन् ।
राष्ट्रसङ्घका अनुसार करिब २५० यात्रु रहेको एउटा डुङ्गा यात्रा सुरु गरेको केही समयमै सम्पर्कविहिन भएको थियो ।
अर्को, करिब २८० यात्रु बोकेको डुङ्गा जुलाई ८ मा म्यान्मारको अय्यारवाडी तट नजिक डुबेको अनुमान गरिएको छ ।
प्रारम्भिक विवरणले ठूलो मानवीय क्षतिको सङ्केत गरेको राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले संयुक्त वक्तव्य जारी गर्दै यस विषयको जानकारी दिएका हुन् ।
ती डुङ्गामा अधिकांश यात्रु रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका सदस्य रहेको बताइएको छ । बंगलादेशको कक्स बजारमा शरणार्थी शिविरमा बस्ने कतिपय मानिसहरु पनि म्यान्मार फर्किएर अन्यत्र जाने योजनासहित यस डुंगामा चढेका थिए । कोक्स बजारस्थित शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गर्दै आएका छन् ।
युएनएचसीआर र आइओएमले घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सम्भावित ठूलो जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
दुवै निकायले यी यात्रा सामान्य समुद्री यात्राको मौसमभन्दा बाहिर गरिएको उल्लेख गर्दै त्यसबेला समुद्रको अवस्था अत्यन्त जोखिमपूर्ण हुने र पछिल्लो समय परेको अविरल वर्षा तथा बाढीले जोखिम अझ बढाएको बताएका छन् ।
रोहिङ्ग्या समुदायका मानिसहरू हरेक वर्ष सुरक्षित जीवन र राम्रो अवसरको खोजीमा मानव तस्करहरूले सञ्चालन गर्ने जोखिमपूर्ण समुद्री यात्रामा निस्कने गरेका छन् ।
युएनएचसीआरका अनुसार गत वर्ष मात्रै छ हजार ५०० भन्दा बढी रोहिङ्ग्यामध्ये करिब ९०० जना उत्तर हिन्द महासागर पार गर्ने क्रममा बेपत्ता भएका वा मृत्यु भएको विवरण प्राप्त भएको थियो ।
राष्ट्रसङ्घीय निकायहरूले म्यान्मामा जारी द्वन्द्व, बिग्रँदो मानवीय अवस्था, बङ्गलादेशका शरणार्थी शिविरमा सीमित सहायता तथा अवसरका कारण रोहिङ्ग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेको उल्लेख गरेका छन् ।
साथै, मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालहरूले उनीहरूको निराशाको फाइदा उठाइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
आइओएम र युएनएचसीआरले खोज तथा उद्धार अभियान विस्तार गर्न, शरण र संरक्षणमा पहुँच सुनिश्चित गर्न तथा मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालविरुद्ध प्रभावकारी कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
साथै, वर्षौंदेखि रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको बङ्गलादेशको प्रशंसा गर्दै शरणार्थी र उनीहरूलाई आश्रय दिने समुदायका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग तथा जबर्जस्ती विस्थापनका मूल कारण समाधान गर्न थप प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।
