खाडी क्षेत्रका  प्रमुख निर्यात कोरिडोर बन्द गर्ने इरानको चेतावनी

इरानी सञ्चारमाध्यमहरुका अनुसार अमेरिका र उसका सहयोगीलाई फाइदा हुने सबै निर्यात कोरिडोरहरु बन्द गर्ने चेतावनी आइआरजीसीले दिएको छ

असार ३१, २०८३

एजेन्सी

Iran warns of closing key Gulf export corridor

दुबई — इरानको रिभोलुशनरी गार्ड कोप्र्स (आइआरजीसी) ले पश्चिम एशिया क्षेत्रका सबै प्रमुख निर्यात कोरिडोरहरु बन्द गर्ने चेतावनी दिएको छ । इरानी सञ्चारमाध्यमहरुका अनुसार अमेरिका र उसका सहयोगीलाई फाइदा हुने सबै निर्यात कोरिडोरहरु बन्द गर्ने चेतावनी आइआरजीसीले दिएको हो । 

यसअघि गत आइतबार आइआरजीसीले हर्मुज जलमार्ग बन्द भएको घोषणा गरेको थियो । त्यसपछि अमेरिकाले पनि हर्मुजमा नाकाबन्दी पुनः लगाएको थियो । 

‘क्षेत्रीय ऊर्जा निर्यातको हिस्सा या सबैले पाउँछन्, वा कसैले पाउँदैनन्,’ आइआरजीसीले जारी गरेको विज्ञप्ति उद्रृत गर्दै बुधबार इरानको इर्ना समाचार एजेन्सीले जनाएको छ । 

विश्लेषकहरुले इरानले लाल सागरस्थित बाब इल मान्देव गेटवे बन्द गराउने संकेत गरेको बताएका छन् । यो जलक्षेत्र यमनको हुथी विद्रोहीको नियन्त्रणमा छ । यो समुह इरान समर्थित हो । यस साँघुरो जलमार्गले लाल सागरलाई अडेनको खाडीसँग जोड्छ ।

साउदीलगायतका देशहरुले यस मार्ग हुँदै आफ्नो कच्चा तेलबाहिर पठाउने गरेका छन् । हर्मुज बन्द भइसकेको अवस्थामा यो जलक्षेत्र पनि बन्द हुँदा खाडी राष्ट्रको तेल व्यापार ठप्पजस्तै हुनेछ । 

यसअघि सोमबार हुथीका एक वरिष्ठ अधिकारीले साउदी अरेबियाले आक्रमण जारी राखेमा आफ्नो समुहले यस जलक्षेत्र कब्जा गर्ने चेतावनी थिए । उनले यस जलक्षेत्र बन्द हुँदा कच्चा तेलको भाऊ २ सय डलर प्रतिब्यारेलसम्म पुग्ने चेतावनी पनि दिएका थिए । 

यसअघि मंगलबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग कुराकानी गर्दै इरानका पुल र विद्युतगृहमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।

‘आगामी साता उनीहरूका लागि निकै खराब हुनेछ । यदि उनीहरू वार्ताको टेबलमा आउँदैनन् भने हामी उनीहरूका सबै विद्युत गृह र पुलहरू ध्वस्त पारिदिनेछौँ ।’

राष्ट्रपति ट्रम्पले यसअघि गत अप्रिलमा पनि इरानका नागरिक पूर्वाधार, पुल र विद्युत गृहहरूमा बमबारी गर्ने धम्की दिएका थिए ।

ट्रम्पको उक्त धम्कीप्रति तत्कालै कडा प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले सर्वसाधारण र नागरिक पूर्वाधारहरूमाथि जानाजानी आक्रमण गर्नु युद्ध अपराध हुने चेतावनी दिएका थिए ।

सन् १९४९ को जेनेभा महासन्धिले पनि सर्वसाधारणका लागि अत्यावश्यक मानिने भौतिक संरचनाहरूमाथि आक्रमण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

मध्यस्थकर्ताहरुले वार्ताका लागि पहल गरेपनि दुई देश झन्डै एक सातादेखि युद्ध लडिरहेका छन् । अमेरिकी सेनाले बुधबार पनि इरानका पूर्वाधारहरुमा हवाई आक्रमण गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार बुधबार दिउँसो झन्डै ९० मिनेटसम्म सैनिक कारबाही चलेको थियो । पछिल्ला केही दिनमा अमेरिकी आक्रमणमा परेर दक्षिणी इरानमा ३० सर्वसाधारणको मृत्यु भएको र २ सय ६० जना घाइते भएको इरानी अधिकारीहरुले बताएका छन् । 

इरानको रिभोलुशनरी गाड्र्स कोप्र्सले पनि बहराइन, कुवेत र जोर्डनमा आक्रमण गरेको छ । अमेरिकाको बहराइनस्थित अमेरिकी जलसेना (फिफ्थ फिल्ट) को मुख्यालयलाई ध्वस्त गरिएको दाबी आइआरजीसीले बुधबार गरेको छ । 

एजेन्सी

Link copied successfully