प्रहरी प्रमुख कित्तिरात फानफेतले यो घटनाले ग्राहकको सुरक्षाप्रति बार सञ्चालकको लापरबाही र हेलचेक्र्याइँ उजागर गरेको बताएका छन्। बार सञ्चालक आफैं पनि गम्भीर घाइते भई सघन उपचार कक्षमा उपचाररत छन्।
काठमाडौँ — थाइल्यान्डको राजधानी बैंककस्थित ‘रोङ बियर ना लादफ्राओ’ बारमा आइतबार राति भएको भीषण आगलागीमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ।
यो घटनालाई पछिल्लो १७ वर्षयताकै सबैभन्दा घातक आगलागी मानिएको छ।
प्रत्यक्षदर्शी र बारमा कार्यरत संगीतकर्मीहरूका अनुसार स्टेज नजिकैको सर्किट ब्रेकरबाट धुवाँ निस्किएको केही क्षणमै विद्युत गएको थियो।
त्यसपछि ठूलो विस्फोटको आवाजसँगै बारमा भीषण आगलागी भएको थियो।
प्रहरीले आगलागीको घटनामा लापरबाही भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
उद्धारकर्मीहरूले अधिकांश शव शौचालय क्षेत्रमा फेला पारेका छन्। बारमा आपतकालीन निकासको स्पष्ट संकेत नभएको र ढोकाहरू बन्द रहेको प्राम्भिक अनुसन्धानमा देखिएको छ ।
बारको सजावटमा अत्यधिक प्रज्वलनशील सामग्री प्रयोग गरिएको र छतमा फोमको प्रयोगले आगोलाई छिटो फैलाउन मद्दत गरेको विशेषज्ञहरूले बताएका छन्।
प्रहरी प्रमुख कित्तिरात फानफेतले यो घटनाले ग्राहकको सुरक्षाप्रति बार सञ्चालकको लापरबाही र हेलचेक्र्याइँ उजागर गरेको बताएका छन्। बार सञ्चालक आफैं पनि गम्भीर घाइते भई सघन उपचार कक्षमा उपचाररत छन्।
मंगलबार बिहानसम्म २७ जना मृतकको सनाखत भइसकेको छ। ७० भन्दा बढी घाइतेमध्ये २४ जनाको अवस्था अझै चिन्ताजनक रहेको बैंकक महानगर प्रशासनले जनाएको छ। घटनास्थलमा अहिले पनि धेरैले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
थाइल्यान्डको इन्जिनियरिङ इन्स्टिच्युटका अग्नि सुरक्षा विज्ञ बुसाकोर्न साएनसुकले शौचालय नजिकको आपतकालीन ढोका बन्द रहेको र प्रवेशद्वारका दुई ढोकाहरू फर्निचर तथा अन्य वस्तुहरू राखिएकाले आंशिक रूपमा अवरुद्ध भएको बताएका छन् । उनले दुर्घटनापछि बारको अवस्था निरीक्षण गरेका थिए ।
'अगाडिपट्टी आगो लागेकाले ग्राहकहरू स्वाभाविक रूपमा सुरक्षित निकासको खोजीमा पछाडिको भागतिर भागेका थिए। यदि आपत्कालीन संकेतहरूमा बत्ती बलिरहेको हुन्थ्यो भने मानिसहरूले ढोका कसरी बन्द छ भनी देख्न सक्थे र सायद त्यसलाई खोल्न पनि सक्थे,' बुसाकोर्नले भनिन्।
आगलागी हुँदा प्रस्तुति दिइरहेको थाइ इन्डी ब्यान्ड 'थोत्साकान' ले यस दुर्घटनामा आफ्ना दुई सदस्य गुमाएको छ।
