सन् १९९३ मा प्रदर्शनमा आएको जुरासिक पार्क चलचित्रमा डा. एलन ग्रान्टको भूमिकाबाट विश्वभर परिचित बनेका थिए साम निल ।
काठमाडौँ — हलिउडका चर्चित अभिनेता साम निलको सोमबार ७८ वर्षको उमेरमा निधन भएको छ । सन् १९९३ मा प्रदर्शनमा आएको जुरासिक पार्क चलचित्रमा डा. एलन ग्रान्टको भूमिकाबाट विश्वभर परिचित बनेका निलको सिड्नीमा निधन भएको हो ।
परिवारले निलको निधन अचानक र अप्रत्याशित रूपमा भएको जनाएको छ । सन् २०२३ मा आफूलाई क्यान्सर भएको सार्वजनिक गरेका निलले यसै वर्षको अप्रिलमा आफू क्यान्सरमुक्त भएको बताएका थिए ।
उत्तरी आयरल्यान्डमा जन्मिएका निल सात वर्षको उमेरमा परिवारसँगै न्यूजिल्यान्ड बसाइँ सरेका थिए । उनले लोकप्रिय टेलिभिजन शृङ्खला पीकी ब्लाइन्डर्स मा बेलफास्टका प्रहरी प्रमुखको भूमिका पनि निर्वाह गरेका थिए ।
साम निलले जुरासिक पार्क पछि सोही फ्रेन्चाइजका अन्य चलचित्रहरूमा पनि डा. एलन ग्रान्टको भूमिका दोहोर्याएका थिए । त्यसबाहेक 'द पियानो', 'द हन्ट फर रेड अक्टोबर' र 'इभेन्ट होराइजन' जस्ता चर्चित चलचित्रमा पनि उनले प्रशंसनीय अभिनय गरेका थिए ।
सन् १९९३ मा जुरासिक पार्कको प्रिमियरका क्रममा बीबीसीसँग कुरा गर्दै साम निलले चलचित्रले सुरुदेखि नै पाएको सकारात्मक प्रतिक्रियालाई 'ठूलो आश्चर्य' भनेका थिए । पछि जुरासिक पार्कले विश्वभर ९७ करोड अमेरिकी डलर (करिब ७२ करोड पाउन्ड स्टर्लिङ) भन्दा बढी कमाइ गर्दै त्यसबेलासम्मकै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको थियो । यो कीर्तिमान सन् १९९७ मा टाइटानिक प्रदर्शनमा आएपछि मात्र तोडिएको थियो ।
सन् २०२२ को 'जुरासिक वर्ल्ड : डोमिनियन' का निर्देशक कोलिन ट्रेभोरोले साम निललाई 'अत्यन्त संवेदनशील हृदय र सुन्दर व्यक्तित्वका धनी' भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'कठिन समयमा स्याम मेरा साथी र सहकर्मी थिए । उनको दृढताले हामी सबैलाई शक्ति दिन्थ्यो ।'
जीवनमा निलजस्ता महान कलाकारसँग मित्रता गर्ने अवसर विरलै प्राप्त हुने उल्लेख गर्दै ट्रेभोरोले लेखेका छन्, 'म उनलाई उनको शान्त स्वभाव, वाइनप्रतिको प्रेम र आफ्ना पात्रहरूमा ल्याउने आत्मविश्वासपूर्ण संयमताका लागि सधैं सम्झिरहनेछु ।'
