भारतको फोहोर प्रशोधन केन्द्रमा पहिरो : ९ जनाको मृत्यु, १४ को जीवितै उद्धार

पुरिएका ९ जनाको मृत्यु भएको र १४ जनालाई जीवितै उद्धार गरिएको सञ्चालक कम्पनीले जनाएको छ

असार २९, २०८३

रासस/एएफपी

Landslide at India waste treatment plant: 9 dead, 14 rescued alive

नयाँ दिल्ली — भारतको पश्चिमी राज्य महाराष्ट्रस्थित एक फोहोर प्रशोधन केन्द्रमा फोहोरको विशाल थुप्रो खस्दा ९ जना कामदारको मृत्यु भएको छ । पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्र (वेस्ट-टु-एनर्जी प्लान्ट) मा गत बुधबार उक्त घटना भएको हो ।

अविरल वर्षाका कारण थुप्रिएको फोहोरले प्रशोधन केन्द्रको प्रशासनिक भवन पुरिएको थियो ।त्यसक्रममा पुरिएका ९ जनाको मृत्यु भएको र १४ जनालाई जीवितै उद्धार गरिएको सञ्चालक कम्पनीले जनाएको छ । 

भारतमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा भारी वर्षाका कारण भवन तथा पूर्वाधारसम्बन्धी दुर्घटनाहरू हुने गरेका छन् । लामो समयको वर्षाले कमजोर संरचना भत्किने वा पहिरो जाने जोखिम बढाउने गर्छ ।

उद्धार टोलीले वर्षाका कारण कठिन परिस्थितिमा काम गर्नुपरेको र भग्नावशेषमुनि फसेकाहरूको उद्धारमा चुनौती भएको अधिकारीले बताएका छन् । संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा रोकिएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि, गर्मी तथा अन्य चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको छ ।

मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका छन् ।

रासस/एएफपी

Link copied successfully