उद्धारकर्मीहरूले घटनास्थलबाट सार्वजनिक गरेका फुटेजमा पबको मूल ढोकाबाट आगोको ठूलो मुस्लो निस्किएको देखिन्छ । त्यस्तै, मानिसहरू ज्यान बचाउन भागदौड गरिरहेका देखिन्छन् ।
बैंकक — थाइल्याण्डको राजधानी बैंककमा सोमबार बिहान एक पबमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं व्यक्ति घाइते भएका छन् ।
पर्यटकीय क्षेत्र बैंककको उत्तरी भागमा रहेको ‘रोङ बियर ना लाटप्राओ’ पबमा मध्यरात आगलागी भएको थियो ।
उद्धारकर्मीहरूले घटनास्थलबाट सार्वजनिक गरेका फुटेजमा पबको मूल ढोकाबाट आगोको ठूलो मुस्लो निस्किएको देखिन्छ । त्यस्तै, मानिसहरू ज्यान बचाउन भागदौड गरिरहेका देखिन्छन् ।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनास्थलको निरीक्षण गर्दै २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार अधिकांशको शव पबको पछाडिपट्टी रहेको आकस्मिक मार्गनजिकैको बाथरुममा भेटिएको थियो । त्यहाँ भेटिएका केही मानिसहरु बेहोस छन् ।
जसकारण, आकस्मिक द्धारमा अवरोध भएको हुन सक्ने आशंका अधिकारीहरुले गरेका छन् । यद्यपी, यी विषयहरू फरेन्सिक जाँचपछि मात्र पुष्टि हुनेछन् ।
‘धेरैजना बाहिरिन पाएनन् किनकी उनीहरु भवनको पछाडिपट्टी गएर बाथरुममा लुक्न खोजे । उनीहरु धुँवा र आगोबाट आफुलाई जोगाउन त्यहाँ लुकिरहेका थिए । अधिकांश शव बाथरुममै भेटियो,’ चार्नविराकुलले भने ।
घटनास्थलमा पुगेकी गायिका सुकन्या वोङवोङवाईले आफूले पबनजिकै प्रस्तुति दिइरहेको बेला यस्तो दुखद् खबर सुनेको बताइन् ।
उनको ब्याण्डका केही साथीहरूले सोही पबमा सांगीतिक कार्यक्रम गरिरहेका थिए । उनले भनिन्, ‘भित्र भएका मानिसहरूले बताएअनुसार आगो लाग्नेबित्तिकै सबैतिर अध्येँरो भयो। बत्ती गयो र जताततै धुवाँ भरियो, जसले गर्दा मानिसहरूले एकअर्कालाई भेट्न सकेनन्।’
सुकन्याका अनुसार उनका एक साथीको मृत्यु भएको छ । तीनजना अस्पतालमा छन् भने एकजनाको अझै पत्तो लागेको छैन ।
बैंककका गभर्नर चाडचार्ट सिट्टीपुन्टका अनुसार घटनामा घाइते भएका ६३ जनालाई अस्पताल लगिएको छ । जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको छ ।
पीडितहरुको पहिचान गर्ने कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । उनीहरुका अनुसार धेरै पीडितहरूको साथबाट परिचयपत्र भेटिएको छैन । कतिपय बेहोस अवस्थामा छन् ।
अग्नीनियन्त्रकहरुले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । तर, आगो नियन्त्रणमा आइसक्दा पनि पबभित्रको अवस्था भयावह नै थियो ।
सार्वजनिक तस्बिरहरूमा पबभित्रका टेबल र कुर्सीहरू पूर्ण रूपमा जलेर खरानी भएको देखिन्छ । घटनास्थलमा आफ्ना आफन्तको खोजीमा आएका परिवारजनका लागि सूचना संकलन गर्न एक विशेष केन्द्र स्थापना गरिएको छ ।
थाइल्याण्डले विगतमा पनि यस्ता दर्दनाक घटनाहरू भोग्दै आएको छ । सन् २०२२ मा देशको पूर्वी भागमा रहेको एउटा म्युजिक पबमा आगलागी हुँदा १४ जनाको ज्यान गएको थियोे ।
त्यसभन्दा एक दशक अघि, १ जनवरी २००९ मा बैंकककै सान्टिका नाइटक्लबमा नयाँ वर्षको अवसरमा भएको आगलागीमा ६६ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए । उक्त आगलागी पबभित्र गरिएको आतिशबाजीका कारण सुरु भएको थियो ।
बैंककको विपद् न्यूनीकरण विभागका अनुसार प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनरमा भएको विद्युतीय सट–सर्किटका कारण आगलागी भएको हुन सक्ने संकेत गरेको छ ।
यद्यपि आधिकारिक कारण अझै पुष्टि हुन बाँकी छ । अधिकारीहरूले विस्तृत र निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।
विपद् न्यूनीकरण विभागका निर्देशक सुरियाचाई रव्विानले अधिकांश पीडितहरूको मृत्यु धुवाँका कारण निसास्सिएर भएको प्रारम्भिक जानकारी दिएका छन् । बैंककका गभर्नर चाडचार्ट सिट्टीपुन्टका अनुसार पबको छतमा रहेका सजावटका सामग्रीहरूले गर्दा आगो तीव्र रूपमा फैलिएको हुन सक्छ ।
अहिलेसम्म १० जना पीडितहरूको पहिचान खुलेको छ, जसमध्ये ९ जना थाई नागरिक र १ जना लाओसका नागरिक रहेका छन्।
घटनाको समयमा पबभित्र रहेका लाओसका पर्यटक कान कुतिरातले उक्त क्षण निकै भयावह रहेको स्मरण गरे । ‘भित्रबाट धेरै मानिसहरूको चिच्याएको ठूलो आवाज सुनियो । त्यहाँ पूर्ण रूपमा भागदौड र अराजकता मच्चिएको थियो,’ उनले भने, ‘मैले यस्तो त्रासदी यसअघि कहिल्यै अनुभव गरेको थिइनँ । त्यो दृश्य अझै पनि मेरो दिमागमा ताजै छ ।’
त्यसैगरी, मोटरसाइकल चालक सुरिन जाइहार्नले पबको ढोकाबाट आगोको लप्का सडकमा नै निस्किएको देखेको बताए ।
४५ वर्षीय सुरिनले कपडाले बेरेर पाँचजना व्यक्तिलाई सुरक्षित बाहिर निकाल्न मद्दत गरेका थिए । घटनाबारे सुरिनले एएफपीसँग भने, ‘म निकै निराश छु । मैले धेरैको मृत्यु भएको देखेँ र मैले ज्यान बचाउन मद्दत गरेका ती व्यक्तिहरूको अवस्था अहिले कस्तो छ, मलाई केही थाहा छैन ।’ अर्का एक चालकले एएफपीसँगको कुराकानीमा झ्याल तोडेर दुईजनालाई सकुशल बाहिर निकालेको बताए ।
सोमबार बिहानसम्म पब क्षेत्रलाई पूर्ण रूपमा सिल गरिएको छ । पबबाहिर फुटेका झ्यालका सिसा र जलेका फर्निचरहरूको थुप्रो देखिन्छ । बाहिर लाइनमा राखिएका शवका झोलाहरूले घटनाको भयावह अवस्था दर्शाउँछन् । पबका भित्ता र छत पूर्ण रूपमा जलेर कालो भएको छ ।
घटनापछि चाटुचक जिल्ला कार्यालयले उक्त भवनलाई ३० दिनका लागि बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, सरकारले मृतकका परिवार र अस्पतालमा उपचाररतः घाइतेहरूलाई राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
