बैंककको पबमा आगलागी, कम्तीमा २७ जनाको मृत्यु

६३ जनालाई अस्पताल भर्ना गरिएको छ। धेरैसँग परिचयपत्र नभएको वा उनीहरू बेहोस अवस्थामा रहेकाले मृतक तथा घाइतेको पहिचान गर्ने काम जारी छ।

असार २९, २०८३

एपी

बैंकक — थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।

उत्तरी बैंककको ना लाडफ्राओ पबमा लागेको आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बताएका छन्।

प्रधानमन्त्री अनुतिनका अनुसार पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले मञ्चनजिकको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए। त्यसलगत्तै विद्युत् आपूर्ति बन्द भएको, विस्फोटको आवाज सुनिएको र केही क्षणमै बाक्लो धुवाँले पब भरिएको उनले बताए। अधिकांश मृतक पबको पछाडिपट्टिको शौचालय क्षेत्रमा फेला परेका थिए।

बैंककका गभर्नर चाडचार्ट सित्तिपुन्टका अनुसार ६३ जनालाई अस्पताल भर्ना गरिएको छ। धेरैसँग परिचयपत्र नभएको वा उनीहरू बेहोस अवस्थामा रहेकाले मृतक तथा घाइतेको पहिचान गर्ने काम जारी छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका उद्धारकर्ताका भिडियोमा पबबाट ठूलो आगोको ज्वाला र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ। आगलागीको सूचना मध्यराततिर प्राप्त भएको थियो।

घटनास्थलमा आफन्तको खोजीमा आएका परिवारजनबाट विवरण संकलन गर्न छुट्टै दर्ता केन्द्र स्थापना गरिएको छ।

गायिका सुकन्या वोङवोङवाईका अनुसार उनका केही ब्यान्ड सदस्य उक्त पबमा प्रस्तुति दिइरहेका थिए। तीमध्ये एक जनाको मृत्यु भएको छ, तीन जना अस्पतालमा उपचाररत छन् भने एक जनाको अवस्था अझै अज्ञात छ। उनका अनुसार आगलागी सुरु हुनेबित्तिकै विद्युत् आपूर्ति बन्द भएपछि चारैतिर धुवाँ फैलिएकाले भित्र रहेका मानिसहरू बाहिर निस्कन कठिन भएको थियो।

थाइल्यान्डमा यसअघि पनि यस्ता ठूला आगलागीका घटना भएका छन्। सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो।

त्यसभन्दा अघि सन् २००९ को जनवरी १ मा बैंककस्थित सान्टिका नाइटक्लबमा भएको आगलागीमा ६६ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए।

एपी

Link copied successfully