अफगानिस्तानको बाख्तर समाचार एजेन्सीले कुल ७९० शरणार्थी परिवारका ४१ सयजना व्यक्तिहरु आइतबार स्वदेश फर्किएको जनाएको छ ।
काबुल — अफगानिस्तानमा आइतबार ४,००० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।
अफगानिस्तानको बाख्तर समाचार एजेन्सीले कुल ७९० शरणार्थी परिवारका ४१ सयजना व्यक्तिहरु आइतबार स्वदेश फर्किएको जनाएको छ ।
उक्त संख्यामध्ये ७७२ परिवारलाई सीमा नाकामा आवश्यक सहायता उपलब्ध गराएपछि उनीहरूको प्रदेशमा पठाइएको थियो । बाँकी १८ परिवारलाई पनि चाँडै नै उनीहरूको प्रदेशमा स्थानान्तरण गरिने समाचारमा उल्लेख छ ।
यसअघि, अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले गत महिना मात्रै ७६,१८१ अफगान शरणार्थीहरू देश फर्किएको र फर्किने क्रम जारी रहेको जानकारी दिएका थिए ।
अफगान अधिकारीहरूका अनुसार सन् २०२१ अगस्टमा तालिवानले सत्ता कब्जा गरेयता ८० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किसकेका छन् ।
पाकिस्तानले नोभेम्बर २०२३ देखि कागजपत्रविहिन शरणार्थीहरुलाई डिपोर्ट गर्न थालेको थियो । त्यसयता झन्डै २६ लाख अफगानीहरुलाई डिपोर्ट गरिएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।
यसका बाबजुद ९ लाख अफगानीहरु अझै पनि पाकिस्तानमै शरण लिइरहेका छन् । पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीच युद्ध भड्किएसँगै शरणार्थीहरुमाथि थप कडाई गरिएको छ । यसअघि पाकिस्तानले जुलाई १० भित्र सबै शरणार्थीहरुलाई देश छाड्न उर्दी जारी गरेको थियो ।
सन् २०२६ मा मात्रै ७ लाख ३८ हजारभन्दा धेरै अफगानी शरणार्थी स्वदेश फर्किएको शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सी (युएनएचआरसी) ले जनाएको छ । उनीहरुमध्ये अधिकांश पाकिस्तानबाट आएका हुन् ।
अफगानिस्तानमा जनतालाई आधारभूत सेवाहरु उपलब्ध गराउन संघर्ष गरिरहेका सरकारी निकाय, समुदाय र शहरहरुमाथि उनीहरुको संख्याले थप दबाब पुग्नसक्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् ।
अफगानिस्तानका शरणार्थीहरुलाई जर्बजस्ती डिपोर्ट नगर्न युनएनएचसीआरले पाकिस्तानलाई आग्रह गरेको छ । अफगानीहरुलाई स्वेच्छाका आधारमा सुरक्षित र स्वाभिमानपूर्वक देश फर्काइनुपर्ने विज्ञहरुले बताएका छन् ।
पाकिस्तानस्थित युएनएचसिआरका प्रवक्ता कैसर खान अफ्रिदीले दशकौंसम्म अफगानीहरुलाई शरण दिएकोमा पाकिस्तानलाई धन्यवाद् दिएका छन् । तर, कुनै पनि शरणार्थीलाई उनीहरुको ज्यान जोखिममा पर्नेगरी फर्काउन नमिल्ने बताएका छन् ।
