अमेरिकाले हर्मुजमा जहाजहरुको आवागमन निर्बाध हुनुपर्ने बताउँदै आएको छ । इरानले युद्धपूर्वको अवस्थामा हर्मुज फर्कन नसक्ने बताइरहेको छ ।
तेहरान — इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आइआरजीसी) को जलसेनाले अर्को सूचना जारी नभएसम्मका लागि हर्मुज जलक्षेत्र बन्द गरिएको घोषणा गरेको छ ।
पश्चिम एसिया क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज खुला नहुने पनि आइआरजीसीले जनाएको छ ।
आइतबार बिहान आइआरजीसीले जारी गरेको एक विज्ञप्तिमा इरानको चेतावनीलाई ख्याल नगरी अवैध मार्ग हुँदै अघि बढ्न खोजेको एक जहाजमाथि गोली चलाइएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, 'चेतावनीहरूलाई बेवास्ता गरियो र विदेशीहरूद्वारा उक्साइएका केही जहाजहरूले स्वीकृत मार्ग बाहेक अन्यत्रबाट जाने प्रयास गरे । आफ्नो मार्ग सच्याएर स्वीकृत मार्गमा हिँड्न दिइएका हाम्रा चेतावनीहरूलाई बेवास्ता गरे । परिणामस्वरूप, समुद्री सुरक्षालाई खतरामा पार्ने एक जहाजलाई चेतावनीका रूपमा गोली चलाएर रोकिएको छ ।'
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले हर्मुज बन्द गरेको थियो । १७ जुनमा भएको अन्तरिम शान्ति सम्झौतामा हर्मुज जलमार्ग खुला रहने उल्लेख थियो । त्यहाँ रहेका अवरोधहरुलाई पनि ३० दिनभित्र हटाइने उक्त सम्झौता उल्लेख थियो ।
६० दिनभित्र सबै विवादका विषय समाधान गरेर विस्तृत सम्झौता गर्ने विषय पनि अन्तरिम सम्झौतामा उल्लेख थियो । तर, यस सम्झौतालाई इरान र अमेरिकाले आ-आफ्नै ढंगले व्याख्या गर्दा नयाँ चरणको वार्ता सहज रुपमा अघि बढ्न सकेको छैन ।
युद्ध सुरु हुनुअघि हर्मुज जलमार्ग हुँदै विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास बाहिरिने गरेको थियो । अमेरिकाले हर्मुजमा जहाजहरुको आवागमन निर्बाध हुनुपर्ने बताउँदै आएको छ ।
इरानले युद्धपूर्वको अवस्थामा हर्मुज फर्कन नसक्ने बताइरहेको छ । शुल्क बुझाएरमात्रै यस क्षेत्रबाट जहाजहरु अघि बढ्न पाउने दाबी इरानले गरिररहेको छ ।
इरानको यस्तो दाबीपछि अन्तर्राष्ट्रिय समुद्री संगठनले ओमानतर्फको दक्षिणी किनार नजिकबाट जहाजहरुलाई बाहिर निकाल्ने काम थालेको थियो । तर, आइआरजीसीले दक्षिणतर्फबाट नजान जहाजहरुलाई चेतावनी दिएको थियो ।
त्यहीक्रममा सोमबार केही जहाजहरुमाथि आक्रमण भएको आक्रमणको आरोप अमेरिकाले इरानलाई लगाएको छ । त्यसको जवाफमा अमेरिकाले मंगलबारदेखि लगातार इरानमाथि आक्रमण गरिरहेको छ ।
बदलामा इरानले पनि पश्चिम एशियाका कतार, साउदी अरेबिया, कुवेत, बहराइनलगायत देशमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाइरहेको छ । शनिबार अमेरिकाले युद्धविरामयताकै सबैभन्दा ठूलो कारबाही गर्यो । अमेरिकी सेन्ट्रल कमाण्डले इरानका १४० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।
जसमा मिसाइल र ड्रोन लन्च साइटहरू, हतियार भण्डारणस्थल र सञ्चार उपकरणहरूलाई ध्वस्त पारिएको छ । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले इरानलाई चेतावनी दिँदै भनेका छन्, 'इरानले गलत विकल्प रोज्यो, अब उनीहरूले त्यसको मूल्य चुकाउनुपर्छ।'
यसको जवाफमा इरानले बहराइन, कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । युएई र कतारमा ठूला विस्फोटका आवाज सुनिएका छन् भने कतारको सेनाले केही इरानी मिसाइलहरूलाई आकाशमै नष्ट गरेको दाबी गरेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग सबै जहाजहरूका लागि खुला रहेको घोषणा गरेको छ।
अमेरिकी सेनाले भनेको छ, 'इरानको अनावश्यक आक्रामक व्यवहार, दुर्व्यवहार, धम्की र स्वेच्छाचारी घोषणाका बाबजुद पनि जलमार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्न अमेरिकी सेना तैनाथ र तयार छ।'
सेन्ट्रल कमाण्डले थप यस जलमार्गमा इरानको नियन्त्रण नरहेको र जहाजहरूको आवागमन सामान्य रूपमा चलिरहेको दाबी पनि गरेको छ।
सुरक्षा विश्लेषक भोल्फगाङ पुज्ताइले इरानमा अमेरिकाविरुद्ध आक्रमण जारी राख्न चाहने कट्टरपन्थीहरू र शान्ति वार्ताको प्रयास गरिरहेका मध्यमार्गीहरूबीच आन्तरिक द्वन्द्व चलिरहेको बताए ।
उनले अलजजिरासँग कुरा गर्दै भने, 'अहिले इरानमा दुईवटा खेमाहरू छन्, एउटा कट्टरपन्थी समूह र सेना, जो इरानमाथि भएको आक्रमणको बदलामा अमेरिकालाई सजाय दिन चाहन्छन् । अर्कोतिर, देशको आर्थिक समृद्धिका लागि शान्ति वार्ता गर्न चाहने समूह छ ।' उनले भने, 'अहिलेको अवस्था हेर्दा कट्टरपन्थी पक्ष नै हाबी देखिन्छ ।'
'उनीहरूले जहाजहरूमाथि आक्रमण गरिरहेका छन्, जसले गर्दा शान्ति चाहने पक्षलाई वार्ता अगाडि बढाउन असम्भव भइरहेको छ,' उनले थपे ।
इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीका सल्लाहकारले हर्मुजको जलमार्ग इरानका लागि दर्जनौं आणविक बमभन्दा पनि महत्वपूर्ण रहेको बताएका छन् ।
'इरानले यसको सुरक्षा गर्नेछ । यो रणनीतिक जलमार्ग दर्जनौं आणविक बमभन्दा पनि महत्वपूर्ण छ,' मोहसेन रेजाइनले इस्ना न्युज एजेन्सीसँग भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या प्रयास गरेको आरोप बुधबार टर्किएमा आयोजित नेटो सम्मेलनमा लगाएका थिए । शनिबार सर्वोच्च नेता मोज्ताबा खामेनीले जनताका नाममा सन्देश जारी गर्दै आफ्ना बाबु अली खामेनीको हत्याको बदला लिएरै छाड्ने बताए ।
यसअघि खामेनीको अन्तिम दाहसंस्कारमा सहभागी भएकाहरुले पनि ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूलाई मारेर बदला लिनुपर्ने नारा लगाएका थिए ।
संयमता अपनाउन पाकिस्तानको आग्रह
अमेरिका र इरानबीच अन्तरिम सम्झौता गराउने क्रममा मुख्य मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
पाकिस्तानका विदेश मन्त्री मोहम्मद इसाक दारले आइतबार इरानी विदेश मन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै द्वन्द्व अन्त्यका लागि कूटनीति र वार्ता नै एकमात्र विकल्प भएको बताए ।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार मन्त्री दारले अन्तरिम समझदारीका आधारमा क्षेत्रीय स्थिरता कायम राख्न प्रयास जारी राख्नुपर्ने आवश्यकता औंल्याए ।
उनले पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरताका लागि पाकिस्तानले रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धतासमेत दोहोर्याएका छन् ।
दुवै मन्त्रीहरूले निकट सम्पर्कमा रही समन्वय कायम राख्ने सहमति गरेका छन् । यसअघि शुक्रबार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरानी राष्ट्रपति मसूद पेजेश्कियनसँग टेलिफोन वार्ता गरेका थिए ।
त्यसक्रममा उनीहरुबीच क्षेत्रीय शान्ति, दुई पक्षीय सम्बन्धलगायत विषयमा छलफल भएको पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
फोन वार्ताका क्रममा शान्ति स्थापनाका लागि पाकिस्तानले खेलेको भूमिकाको पेजेश्कियनले प्रशंसा गरेका थिए ।
