७४ बर्षीय हमादले आधुनिक कतार निर्माताको नेतृत्व लिएदेखि कतारमा नेपालीको महत्वपूर्ण गन्तब्यको रुपमा चिनिन थालेको हो ।
काठमाडौँ — कतारमा नेपालीको लागि रोजगारको लागि ढोका खोलिदिने कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल–थानीको आइतवार निधन भएको छ । ७४ बर्षीय हमादले आधुनिक कतार निर्माताको नेतृत्व लिएदेखि कतारमा नेपालीको महत्वपूर्ण गन्तब्यको रुपमा चिनिन थालेको हो ।
अमिरी दिवानले आइतबार शोक वक्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ । निधनको कारण भने सार्वजनिक गरिएको छैन ।
उनले सन् १९९५ मा सत्ता सम्हालेका शेख हमदले सन् २०१३ सम्म कतारको नेतृत्व गरेका थिए । २५ जुन २०१३ मा उनले स्वेच्छाले आफना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए ।
त्यतिखेर तमिम ३३ बर्षका थिए । त्यसपछि हमादलाई ‘फादर अफ अमिर’ को रुपमा चिनिथ्यो । खाडी क्षेत्रमा सत्ता नेतृत्वको मृत्यु वा सत्ताच्युतपछि मात्र नेतृत्व परिवर्तन हुने अवस्था रहेको वेला उनले युवालाई अगाडि बढाउने भन्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेको थिए ।
कतारका लागि नेपाली पूर्वराजदूत सूर्यनाथ मिश्रले शेख हमाद कुशल उदार र दुरदर्शी शाशक भएको सम्झना गरे । ‘उहाँको नेपाल र नेपालीप्रतिे ज्यादै स्नेह थियो । नेपालीप्रति उच्च सम्मान थियो । तत्कालीन समयमा कतार भ्रमणमा रहनुभएका राष्ट्रपति रामबरण यादवसँग नेपालले जग्गा उपलब्ध गराए आफैले घर वनाएर पहाडमा वस्ने इच्छा राख्नु भएको थियो,’ उनले कान्तिपुरसँग भने,‘उहाँको नेपाल–कतार आउजाऊ गर्ने इच्छा थियो ।’
उहाँकै पालामा नेपाल कतारमा रहेको जनसंख्याको आधारमा दोस्रो ठूलो समुदाय बनिसकेको थियो। त्यतिखेर भारतीय श्रमिक चार लाख ५२ हजार थिए भने नेपाली तीन लाख ५० हजार थिए। - पूर्वराजदूत सूर्यनाथ मिश्रउनको कार्यकाललाई कतारको आर्थिक, सामाजिक र कूटनीतिक रूपान्तरणको कालखण्डका रूपमा लिइन्छ । प्राकृतिक ग्यासबाट प्राप्त आम्दानीलाई विकास र पूर्वाधार विस्तारमा केन्द्रित गर्दै उनले सानो खाडी मुलुकलाई विश्वको प्रभावशाली राष्ट्रमध्ये एकमा रूपान्तरण गरेका थिए । उनकै पालामा कतारमा नेपाली दूतावास स्थापना भएको हो ।
सन् २००६ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजाने कतार खाडीमा पहिलो राष्ट्र हो । कतारमा कुल जनसंख्याको १२.५ प्रतिशत नेपाली श्रमिक छन् ।
‘उहाँकै पालामा नेपाल कतारमा रहेको जनसंख्याको आधारमा दोश्रो समुदाय भइसकेको थियो,’ पूर्वराजदूत मिश्रले भने,‘त्यतिखेर भारतीय श्रमिक चार लाख ५२ हजार रहेका थिए । नेपाली तीन लाख ५० हजार जना थिए ।’
पूर्वअमिर हमादले तत्कालीन राजदूत मिश्रलाई उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै अवार्ड दिएर विदाई गरेका थिए । कतारमा राजदूतको पुरा कार्यकाल (२००८ देखि ०१२) मा काम गर्न पाउने मिश्र मात्रै हुन् ।
शेख हमादको नेतृत्वमा कतारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ गुणाभन्दा बढीले वृद्धि भएको थियो । उत्तर क्षेत्र (नर्थ फिल्ड) को ग्यास उत्पादन विस्तारसँगै कतार सन् २००६ मा विश्वकै सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकर्ता बनेको थियो । केही वर्षमै देशको एलएनजी उत्पादन क्षमता वार्षिक ७ करोड ७० लाख टन पुगेको थियो।
शेख हमदको कार्यकालमा कतार फाउन्डेसन स्थापना भयो । सन् १९९६ मा अल जजिरा समाचार च्यानल सञ्चालनमा आयो । सन् २००४ मा देशको पहिलो स्थायी संविधान जारी गरिएको थियो । स्थानीय तहको निर्वाचन मार्फत महिलालाई मतदान र उम्मेदवार बन्ने अधिकारसमेत प्रदान गरिएको थियो।
उनकै नेतृत्वमा कतारले ‘कतार नेसनल भिजन २०३०’ सार्वजनिक गरेको थियो । साथै सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार पनि कतारले प्राप्त गरेको थियो । जसलाई उनको दूरदर्शी नेतृत्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ । ‘पुरानो कतारलाई नयाँ कतार वनाएर विश्वमा नै हिरा जसरी चम्काउने काम उहाँको पालोमा भयो,’ मिश्रले भने,‘कतारको हरेक निर्माण परियोजनामा नेपालीले ठूलो अवसर पाए ।’
वैदेशिक रोजगार विभागका अनुसार कतारमा श्रमस्वीकृति गरेर जाने नेपालीको संख्या १९ लाख जना भन्दा बढी छ । शेख हमादले नै सत्ता समालेको बर्ष १९९६ मा नै कतारमा रोजगारीको लागि पुगेका खोटाङका चानक पोखरेलले आफूहरु जस्तो नेपालीको सुन्दर भविष्य बनेको वताए ।
‘म कतार आउँदा जग हाल्ने काम भइरहेको थियो । त्यतिखेर उराठ लाग्दो भरुभुमि थियो । मलाई विदेश जस्तै लागेको थिएन । ठूला टावरहरु कहीँकतै थियो । सडक गल्ली खासै गतिला थिएनन् । हामीले हेर्दा हेर्दा बिकासले तिव्र गति लियो,’ ३० बर्षदेखि कतारमा कार्यरत पोखरेलले भने,‘फाटफुट् नेपाली भेटिने कतारमा गल्ली गल्लीमा नेपाली देखिन थाले । उहाँले कतार मात्रै बनाउनुभएन, हामी जस्ता नेपालीको भविष्य कोरिदिनु भयो ।’
सन् १९५२ मा दोहामा जन्मिएका शेख हमदले बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट सैन्य शिक्षा हासिल गरेका थिए। त्यसपछि उनी कतारको सशस्त्र बलका कमाण्डर बनेका थिए । सन् १९७७ मा युवराज तथा रक्षामन्त्री नियुक्त भएका उनी २७ जुन १९९५ मा अमिर बनेका थिए ।
