बेलायती सञ्चारमाध्यम द टेलिग्राफमा प्रकाशित समाचारअनुसार ट्रम्पले नेटो सदस्य राष्ट्रहरूले गर्ने रक्षा खर्चको आधारमा उनीहरूलाई पुरस्कार दिने वा दण्ड दिने योजना बनाइरहेका छन् ।
वासिङ्टन — अमेरिकाले उत्तर एटलान्टिक सन्धी (नेटो) सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ ।
टर्किएको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा आइतबार अमेरिकी अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । यस नीतिले गर्दा मंगलबारबाट सुरु हुने शिखर सम्मेलनमा नेटो गठबन्धनभित्र तनावको वातावरण सिर्जना हुने जोखिम छ ।
सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरुको चेतावनी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धताअनुसार रक्षा खर्च नबढाएको भन्दै लामो समयदेखि नेटो सदस्य राष्ट्रहरुको आलोचना गर्दै आएका छन् ।
यसअघि ट्रम्पको जोडबलमा गत वर्ष नेदरल्यान्डसको हेगमा भएको सम्मेलनका दौरान नेटोका सदस्य देशहरुले सन् २०३५ सम्म आफ्नो कुल ग्राहस्थ उत्पादन (जीडिपी) को ५ प्रतिशत रकम सुरक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए । तर, धेरै देशहरु उक्त प्रतिबद्धता पूरा गर्ने बाटोमा निकै पछि परेको अमेरिकी अधिकारीहरुको निष्कर्ष छ ।
यसै साता बेलायती प्रधानमन्त्री सर किअर स्टार्मरले रक्षा बजेट १५ अर्ब पाउण्डले वृद्धि गर्ने घोषणा गरेका थिए । यो वृद्धिका बाबजुद सन् २०२९ सम्ममा बेलायतको रक्षा खर्च कुल जीडीपीको २.७ प्रतिशत मात्र पुग्ने देखिन्छ ।
नेटोका लागि अमेरिकी राजदूत म्याट ह्वाइटेकरले आइतबार राति भने, ‘केही सहयोगी राष्ट्रहरूले अरूभन्दा बढी काम गरिरहेका छन् । पोल्याण्ड, नोर्डिक देशहरू र बाल्टिक देशहरू यसमा अग्रपङ्क्तिमा छन् ।’
उनले थपे, ’तर, धेरै देशहरू पछि परेका छन् । सबै सहयोगी राष्ट्रहरूले तत्काल प्रभावकारी कदम चाल्ने राष्ट्रपति ट्रम्पको अपेक्षा छ । उनीहरूलाई सकेसम्म चाँडो ५ प्रतिशतको लक्ष्य पूरा गर्ने बाटोमा लैजानुपर्ने आवश्यकता छ ।’
बेलायती सञ्चारमाध्यम द टेलिग्राफमा प्रकाशित समाचारअनुसार ट्रम्पले नेटो सदस्य राष्ट्रहरूले गर्ने रक्षा खर्चको आधारमा उनीहरूलाई पुरस्कार दिने वा दण्ड दिने योजना बनाइरहेका छन् ।
विशेषज्ञहरूका अनुसार ट्रम्प प्रशासनको यो कडा अडानले नेटोभित्रको शक्ति सन्तुलन र सुरक्षा रणनीतिमा ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना छ । मंगलबार सुरु हुने सम्मेलन बुधबारसम्म चल्नेछ ।
सम्मेलनका दौरान ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीसँग विशेष भेटघाट गर्नेछन् । बुधबार हुने उक्त भेटमा रुस–युक्रेन युद्धका विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।
जेलेन्स्कीले रुसविरुद्धको लडाँइमा हतियार तथा मिसाइल सहयोग गर्नका लागि अमेरिका तथा युरोपेली देशहरुलाई आग्रह गर्दै आएका छन् ।
ट्रम्पले शिखर सम्मेलनकै दौरान सिरियाली राष्ट्रपति अहमद अल–सारासँग पनि भेट गर्ने योजना बनाएका छन् ।
ट्रम्पले लेबनानमा हिजबुल्लाहसँग लड्न सिरियाले अझ ठूलो भूमिका खेल्ने बताउँदै आएका छन् । यद्यपी, साराले आफुलाई यस विषयमा कुनै चासो नभएको बताउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपतिले सम्मेलनका आयोजक टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि विशेष भेट गर्ने योजना बनाएका छन् । ट्रम्पसँग उनको पनि राम्रो सम्बन्ध छ ।
तर, उनले अन्य नेताहरूसँग दुईपक्षीय बैठकको योजना बनाएका छैनन् । पछिल्लो समय युरोपेली नेताहरुसँग ट्रम्प सम्बन्ध खासै राम्रो छैन ।
यसअघि गत जुनको मध्यमा फ्रान्समा भएको शिखर सम्मेलनबाट फर्किएलगत्तै ट्रम्पले युरोपेली नेताहरुको आलोचना गरेका थिए ।
किअर स्टार्मरले बेलायतको प्रधानमन्त्रीबाट औपचारिक रुपमा राजीनामा गर्नुअघि नै ट्रम्पले उनको राजीनामा आउने खुलासा गरेका थिए ।
त्यस्तै, जी ७ सम्मेलनका दौरान इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आफूसँग तस्बिरका खिच्नका लागि निकै कर गरेको दाबी पनि ट्रम्पले गरे । मेलोनीले यसको कडा खण्डन गरिन् र इटालीका विदेश मन्त्रीको अमेरिका भ्रमण नै रद्द भयो ।
ग्रिनल्यान्डबारे दिएको अभिव्यक्तिका कारण डेनमार्क ट्रम्पसँग चिढिएको छ । गत महिना ट्रम्पलाई भर्साइल्सको दरबारमा भव्य डिनर दिएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोसँग पनि विगतमा ट्रम्पको सम्बन्ध चिसिएको थियो ।
ट्रम्पले इरान युद्धमा नेटो सहयोगीहरुले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् । सन् १९४९ मा स्थापना भएको नेटोमा अहिले ३२ राष्ट्र सदस्य छन् ।
किभमा रुसको आक्रमण
टर्किएमा नेटोको सम्मेलन सुरु हुने पूर्वसन्ध्यामा रुसले सोमबार बिहानै युक्रेनको राजधानी किभमा घातक आक्रमण गरेको छ ।
रुसले लगातार ब्यालेस्टिक मिसाइल ड्रोन प्रहार गर्दा कम्तिमा किभमा कम्तिमा १२ जना र नजिकैका क्षेत्रमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौं घाइते रहेको स्थानीय अधिकारीले बताएका छन् ।
किभका मेयर भिटाली क्लिट्स्च्कोका अनुसार चारवटा जिल्लामा ठूलो क्षति निम्तिएको छ । नेटो सम्मेलनमा रुस–युक्रन युद्धबारे गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।
यस दौरान जेलेन्स्कीले ट्रम्पसँग विशेष भेट गर्नेछन् । रुसी विदेश मन्त्रालयका अनुसार ट्रम्पले आइतबार पुटिनसँग ९० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि सहयोग गर्ने इच्छा प्रकट गरेका थिए । त्यसअघि उनले शनिबार जेलेन्स्कीसँग टेलिफोन कुराकानी गरेका थिए ।
नेटो सदस्य राष्ट्र नभएपनि नेटोका अधिकांश सदस्यसँग युक्रेनले सुरक्षा सहकार्य गरिरहेको छ । नेटो सदस्यहरुले युक्रेनलाई आर्थिक तथा हतियार सहयोग गरिरहेका छन् ।नेटोकोप्रतिको बढ्दो झुकावलाई नै कारण देखाएर रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो ।
ट्रम्पले राष्ट्रपतीय चुनावका दौरान आफु राष्ट्रपति बनेको २४ घण्टाभित्रै यो युद्ध समाप्त गरिदिने दाबी गरेका थिए । तर, ट्रम्पको कार्यालयको ५ सय दिन कटिसक्दा पनि युद्ध अन्त्य भएको छैन । जेलेन्स्कीले नेटोका सम्मेलनअघि युरोपेली सहयोगीहरुसँग युक्रेनलाई नयाँ मिसाइल र हतियार सहयोग गर्न आग्रह गरेका छन् ।
पछिल्ला दिनहरुमा रुस र युक्रेन दुबैले एकअर्कामाथिको आक्रमण बढाएकाछन् । युक्रेनले केही दिनअघि मात्रै रुसी भूभागमा मिसाइल र ड्रोन प्रहार गरेको थियो ।
त्यसक्रममा तेल प्रशोधन गृह, बन्दरगाह र सैनिक संरचनामा क्षति पुगेको थियो । सोमबार युक्रेनबाट प्रहार भएका ५ सय १३ वटा ड्रोनहरुलाई खसालिएको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।
