कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, औषधिको परीक्षण हुँदै

सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ । त्यस्तै कम्तिमा ४९२ जनाको मृत्यु भएको छ ।

असार २१, २०८३

एजेन्सी

Ebola infection spreading at community level in Congo, drug trials underway

बुनिया — प्रजातान्त्रिक गणतन्‍त्र कंगोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ । त्यस्तै कम्तिमा ४९२ जनाको मृत्यु भएको छ ।

कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् । त्यस्तै, ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ ।

प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख छ ।

महामारीको गणनाअनुसार २५औँ र २६औँ हप्तामा प्रति हप्ता ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको सङ्केत गरेको अधिकारीले बताएका छन् ।

प्रतिवेदनमा मृत्युपश्चात् नमूना सङ्कलनमा समुदायको असहयोग तथा विशेषगरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ ।

सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि सङ्क्रमण नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको जनाइएको छ ।

साथै, औषधि तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी सामग्रीको अभाव, असुरक्षा र प्रभावित केही क्षेत्रमा स्थानीयको स्वास्थ्य संस्थामा सीमित पहुँचका कारण महामारी नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले बिहीबार जनाएअनुसार बुन्डिबुग्योभाइरसका लागि कंगोमा औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ । इबोलाबाट अति प्रभावित इटुरी  प्रान्तको बुनियास्थित एभान्जेलिकल मेडिकल सेन्टरमा  परीक्षण सुरु गरिएको हो ।

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका आपतकालीन रेस्पोन्स प्रमुख प्रोफेसर याप बुमले हालको परीक्षण विशेषज्ञ उपचार केन्द्रहरूभित्र उपचार गराइरहेका प्रमाणित इबोला बिरामीहरूमा केन्द्रित रहेको बताए ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले महामारीविरुद्ध लड्ने प्रयासमा यो परीक्षण एउटा महत्वपूर्ण कोशढुङ्गा भएको बताएका छन् । यो परीक्षण सम्पन्न हुन महिनौं लाग्न सक्छ र यसमा १,००० भन्दा बढी बिरामीहरू समावेश हुनेछन् ।

परीक्षणमा म्याप बायोफार्मास्युटिकलको प्रयोगात्मक एन्टिबडी 'एमबीपी१३४' र गिलियड साइन्सेसको एन्टिभाइरल औषधि 'रेम्डेसिभिर' लाई बेग्‍ला-बेग्लै तथा मिश्रित रुपमा प्रयोग गरिनेछ ।

डब्ल्यूएचओका अनुसार परीक्षणका लागि आवश्यक औषधिको पर्याप्त आपूर्ति छ । परीक्षण सफल भएमा सहज रुपमा औषधि उपलब्ध गराउनुपर्ने चुनौती पनि डब्ल्युएचओसँग हुनेछ । यसका लागि विभिन्‍न कम्पनीहरुसँग डब्ल्युएचओले सहकार्य गरेको छ ।

डब्लुएचओका अनुसन्धान सल्लाहकार डा. वासी मुर्थीका अनुसार, उपचार सुरु गरेपछिको २८ दिनसम्म बिरामीहरूको अनुगमन गरिनेछ ।

डब्लुयुएचओको सहयोगमा भइरहेको यो परीक्षण कंगोको राष्ट्रिय बायोमेडिकल अनुसन्धान संस्थान, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, एन्टवर्पको इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य समूहहरूबीचको सहकार्य हो ।

परीक्षणको दोस्रो चरणमा स्वास्थ्यकर्मी, संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरू र संक्रमणको उच्च जोखिममा रहेका अन्य मानिसहरूलाई समावेश गरिने उनले बताए ।

स्थानीयबासीहरुले यस परीक्षणले आशाको सञ्चार गराएको प्रतिक्रिया दिएका छन् । बुनियाकी स्थानीय अड्रे तेङ्गेतेङ्गेले भनिन्, 'यो परीक्षण सुरुङको छेउमा देखिएको उज्यालोजस्तै हो । सबै कुरा चाडैं अघि बढेर चाडैं राहत पाउने आशा हामीले राखेका छौं ।'

निको भएर दुई हप्ताअघि मात्रै इबोला उपचार केन्द्रबाट डिस्चार्ज भएकी ग्ल्याडिस मुन्गुराले आफूले उपचार गराइरहँदा आफ्ना अन्य बिरामीहरू मरेको देखेको बताइन्।

परीक्षण भइरहेका नयाँ उपचारहरूले बिरामीहरूको बाँच्ने सम्भावना बढाउने र प्रकोपलाई नियन्त्रणमा ल्याउन मद्दत गर्ने आशा उनले व्यक्त गरिन् ।

'यो प्रयोगात्मक चरण हाम्रा लागि आवश्यक छ,' मुन्गुराले एसोसिएटेड प्रेसलाई भनिन्,'उच्च जोखिममा रहेका व्यक्तिहरूका लागि परीक्षणको अर्को चरण सुरु हुने बित्तिकै म स्वयंसेवकको रूपमा तयार हुनेछु ।'

तर केही मानिसहरुले अविश्वास पनि प्रकट गरेका छन् । बुनियाका एक पसल सञ्चालक नेल्सन धेबीले आफूले वैज्ञानिक अनुसन्धानलाई समर्थन गर्ने र सकारात्मक परिणामको आशा गर्ने बताए ।

तर यस परीक्षणले मृत्यु निम्त्याउन सक्ने उनको आशंका छ । ' सबैभन्दा पहिले हाम्रा निर्वाचित प्रतिनिधिहरूमा परीक्षण गरिनुपर्छ, किनकि उनीहरूले नै हाम्रो प्रतिनिधित्व गर्छन्,'उनले भने ।

एजेन्सी

Link copied successfully