अमेरिकाले मनायो २५०औं स्वतन्त्रता वर्ष 

स्वतन्त्रता दिवसको शुभकामना दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिका अहिले पनि विश्वकै शक्तिशाली राष्ट्र हो ।’

असार २१, २०८३

सुदीप शिवाकोटी

America celebrates 250th anniversary of independence

अमेरिका — संयुक्त राज्य अमेरिकाले आफ्नो स्वतन्त्रताको २ सय ५० वर्ष पूरा गरेको छ । अमेरिका सन् १७७६ जुलाई ४ मा स्वतन्त्र भएको थियो । शनिबार अर्थात २०२६ जुलाई ४ लाई ‘अमेरिका २५०’ नाम दिएर उत्सव मनाएको हो ।

यस वर्ष अमेरिकी सरकारले ‘अमेरिका २५०’  लाई विशेष समारोह गरेर मनाएको हो । शनिबार देशभर सार्वजनिक बिदा दिँदै वर्षभर ऐतिहासिक, सांस्कृतिक र शैक्षिक कार्यक्रम आयोजना गर्ने अमेरिकी सरकारको योजना छ ।

अमेरिकी स्वतन्त्रताको औपचारिक सुरुवात सन् १७७६ मा भएको थियो । दोस्रो महाद्वीपीय कंग्रेसले सन् १७७६ जुलाई २ मा बेलायतबाट स्वतन्त्र हुने प्रस्ताव पारित गरेको थियो । जुलाई २ मा स्वतन्त्रता घोषणापत्रको अन्तिम भाषा र संशोधन स्वीकृत भएपछि जुलाई ४ मा उक्त दस्तावेज औपचारिक घोषणा गरिएको थियो । अमेरिकाले यसै दिनलाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । 

यसरी भएको थियो अमेरिका स्वतन्त्र 

अमेरिका सुरुवातमा १३ वटा राज्य मिलेर बनेको देश थियो । स्वतन्त्रताअघि अमेरिकाका १३ उपनिवेश बेलायती शासनभित्र थिए । बेलायतको राजनीतिक हस्तक्षेप मात्र नभई उपनिवेश बन्नु परेकोमा अमेरिकीले त्यसबेला नै स्वतन्त्रताको माग उठान गरिरहेका थिए । विशेषतः ‘प्रतिनिधित्वबिनाको कर’, व्यापारिक प्रतिबन्ध र राजनीतिक हस्तक्षेप नीतिहरूले अमेरिकाका १३ वटै राज्य बेलायतको उपनिवेश बन्न बाध्य थियो । 

America celebrates 250th anniversary of independence

स्वतन्त्रताका लागि सन् १७७४ मा पहिलो महाद्वीपीय कंग्रेस पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा बसेको थियो । जुन अमेरिकाको पुराना राजधानी भएको राज्यसमेत हो । पहिलो महाद्वीपीय कंग्रेसमा जर्जिया राज्यबाहेक १२ उपनिवेश (हालको राज्य)का प्रतिनिधि सहभागी थिए । सन् १७७५ मा सुरू भएको अमेरिकी क्रान्तिकारी युद्ध अन्त्य गर्दै १२ उपनिवेश प्रतिनिधिको पहिलो कंग्रेस बैठकले नै अमेरिका स्वतन्त्रता आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याएको थियो ।

स्वतन्त्रता घोषणापत्र तयार पार्न टमस जेफर्सनको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् । जेफर्सन सन् १८०१–१८०९ सम्म राष्ट्रपति भएका थिए । समितिमा जोन एडम्स, बेन्जामिन फ्यांलिन, रोजर शरमन र रोबर्ट लिभिङ्स्टन सहभागी थिए । जेफरसनले तयार पारेको मस्यौदालाई समितिले परिमार्जन गरेपछि कंग्रेसले अनुमोदन गरेको थियो । कंग्रेसको अनुमोदनसँगै अमेरिका बेलायतबाट स्वतन्त्र भएको हो । त्यही अनुमोदनको मितिलाई अमेरिकाले स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ ।

‘पुरानो अमेरिका’मा १३ राज्य

स्वतन्त्रता प्राप्त गर्ने प्रारम्भिक १३ उपनिवेश (हालका राज्य)मा डेलावेयर, पेन्सिलभेनिया, न्यूजर्सी, जर्जिया, कनेक्टिकट, म्यासाचुसेट्स, मेरिल्यान्ड, साउथ क्यारोलाइना, न्यु ह्याम्पसायर, भर्जिनिया, न्युयोर्क, नर्थ क्यारोलाइना र रोड आइल्यान्ड हो । यिनै उपनिवेशबाट सुरु भएको अमेरिका ५० राज्यमा विस्तार गर्दै संयुक्त राज्य अमेरिका बनेको हो । स्वतन्त्रता दिवसमा राष्ट्रपति ट्रम्पले भने, 'अमेरिकाका शत्रुहरू इतिहासबाटै हराइसकेका छन् ।'

America celebrates 250th anniversary of independence

अमेरिकी स्वतन्त्रताको २ सय ५० औं वार्षिकोत्सवका अवसरमा दक्षिण डकोटास्थित माउन्ट रसमोरमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले शीतयुद्धपछि अमेरिकाका शत्रु इतिहासको गहिराइमा हराएको बताएका हुन् । 

राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको शक्ति र इतिहासको प्रशंसा गर्दै भने, ‘हामीले संसारकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेका छौं । हामीले दुई विश्वयुद्ध जित्यौं । त्यसपछि हाम्रा शत्रु इतिहासको गहिराइमै हराइसकेका छन् । अमेरिका अहिले पनि विश्वकै शक्तिशाली राष्ट्र हो ।’

पछिल्ला द्वन्द्वबारे ट्रम्पले कडा टिप्पणीसमेत गरेका छन् । उनले अमेरिकाले एकै दिनमा भेनेजुएलालाई हराएको र इरानलाई नराम्ररी प्रहार गरेको बताए । विभिन्न देशहरूबीच तनाव झेलिरहेका ट्रम्पले अमेरिका उदार राष्ट्र भएको दाबीसमेत गरे । इरानी सर्वोच्च नेता खामेनेईको अन्त्येष्टिका लागि एक साताको समय दिएको र यसबाट अमेरिका उदार भएको पुष्टि हुने ट्रम्पको भनाइ छ । 

ट्रम्पले अमेरिकाले स्वतन्त्रताको २ सय ५० वर्ष बितारहँदा ठूला-ठूला प्रगति गरिएको उद्घोष गरे । ‘२५० वर्षको इतिहासमा अमेरिका विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता भएको देश र सबैभन्दा न्यायपूर्ण तथा दीर्घकालीन संविधान भएको राष्ट्र हो,’ ट्रम्पले भने ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully