अमेरिकाको महाशक्ति छवि विवादरहित भने छैन । विश्वका अन्य देशको राजनीतिक मामिलामा हस्तक्षेप गर्ने, अस्थिरता निम्त्याउने र युद्ध सिर्जना गर्ने कार्यमा अमेरिकी राजनीतिज्ञहरु उद्दत हुने गरेका छन् ।
काठमाडौं — अमेरिकामा शनिबार आतिशबाजी, कन्सर्ट र सैनिक विमानबाट पुष्पवर्षा गर्दै स्वतन्त्रता संग्रामको २ सय ५० औं वर्षगाँठ मनाइएको छ ।
वासिंगटन डिसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै अमेरिकी सपना फर्किएको दाबी गरेका थिए । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको दाबी समेत गरे ।
चट्यांगका कारण मानिसहरु भेला हुन ढिला भएपछि वासिंगटनमा कार्यक्रम केही ढिला सुरु भएको थियो । पूर्वी अमेरिकाका धेरै राज्यहरु गर्मीको लहरले प्रभावित भइरहेका बेला कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रपति ट्रम्पमाथि स्वतन्त्रता संग्रामको कार्यक्रमलाई राजनीतिक लाभ लिने उद्देश्यले उपयोग गरेको आरोप पनि लागेको छ ।
हरेक वर्ष स्वतन्त्रता संग्रामको संझनामा ४ जुलाईमा यसरी नै मानिसहरु भेला हुने गर्छन् र खुसीयाली मनाउँछन् । यसपटक २ सय ५० औं वर्षगाँठ परेकाले अमेरिकाले वर्ष दिनभर विभिन्न कार्यक्रमहरु गर्दैछ ।
१७७६ मा सुरु भएको अमेरिकी स्वतन्त्रता संग्राम औपनिवेशिक र साम्राज्यवादी युगविरुद्धको सबैभन्दा ठूलो प्रतिरोध थियो ।
जर्ज वासिंगटन, बेन्जामिन फ्रयांकलिन, थोमस जफर्सन, जोन एडम्सलगायत नेताहरुले यस संग्रामको नेतृत्व गरेका थिए । यसपछि क्रमशः धेरै उपनिवेशहरुले आफुलाई स्वतन्त्र घोषणा गर्न थाले ।
अहिलेसम्म कायम रहेका विश्वका लिखित संविधानमध्ये अमेरिकाको संविधान सबैभन्दा पुरानो हो । यस उदार संविधानमा संघीयता, मानवअधिकार, प्रजातन्त्र र वैयक्तिक स्वतन्त्रताजस्ता विषय समेटिएका छन् ।
अमेरिकाका विभिन्न भूगोलमा १५ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म विभिन्न औपनिवेशिक शक्तिहरुले शासन गरे ।
१८ औं शताब्दीसम्म आइपुग्दा यहाँ बेलायत सबैभन्दा ठूलो औपनिवेशिक शक्ति थियो । १७५६ देखि १७६३ सम्म उसले फ्रान्सको नियन्त्रणमा रहेका भूभाग कब्जा गर्नेगरी आक्रमण गर्यो । यस ७ वर्षे युद्धले अमेरिकी स्वतन्त्रता संग्रामका लागि मार्ग प्रशस्त गरेको थियो । किनकि, यस युद्ध हारेपछि आफ्ना भूभाग बेलायतलाई सुम्पन्न बाध्य भएको फ्रान्स त्यसको बदला लिन चाहन्थ्यों ।
अर्कोतर्फ, पहिले फ्रान्स र बेलायत दुबैसँग लड्नुपर्ने अवस्था भएपनि फ्रान्सको बहिर्गमनसँगै अमेरिकीहरुलाई एउटै शक्तिविरुद्ध लडे पुग्ने अवस्था सिर्जना भएको थियो । तेस्रो महत्वपूर्ण विषय, फ्रान्ससँग लड्ने क्रममा बेलायतले ठूलो धनरासी गुमाएको थियो ।
उसले अमेरिकी जनताबाटै त्यो रकम उठाउने योजना बनायो । जसले अमेरिकीहरुलाई बेलायती उपनिवेशविरुद्ध लड्नका लागि झक्झक्यायो । अर्कोतर्फ, युद्धका दौरान कोही अमेरिकी फ्रान्स र कोही बेलायतबाट लडेका थिए । जसकारण, उनीहरुले आधुनिक युद्धकला सिक्ने अवसर पनि पाए ।
१७६० को दशकमा बेलायती प्रधानमन्त्री जर्ज ग्रेनभिलले अमेरिकी उपनिवेशहरूबाट कर संकलन गर्ने लक्ष्यका साथ १७६४ को चिनी अधिनियम, १७६५ को स्ट्याम्प अधिनियम, क्वार्टरिंग ऐन, आदि लागु गरे ।
स्ट्याम्प अधिनियमअनुसार बेलायत सरकारले लगाएको छापलाई मात्रै आधिकारीक दस्तावेज मानिन्थ्यों । फ्रान्स र अन्य ठाउँबाट अमेरिका तथा ती ठाउँहरुमा अमेरिकाबाट सामान तस्करी नहोस् भनेर बेलायतले यस्तो कडाई गरेको थियो ।
अमेरिकीहरुले यसको प्रतिवाद गरे । उनीहरुले बेलायती संसद्मा अमेरिकीहरुको प्रतिनिधित्व सुनिश्चित नभएसम्म कर नतिर्ने बताए ।
‘नो ट्याक्स विथआउट रिप्रिजेन्टेशन’ यसबेलाको लोकप्रिय नारा थियो । यो विरोधलाई नजरअन्दाज गर्दै १७६७ मा बेलायती मन्त्री जर्ज टाउनसेन्डले अमेरिकामा निर्यात हुने गिलास, कागज, चिया, रंग, तेल आदिमा नयाँ कर लगाए । यसलाई टाउनसेन्ड ऐन नामक दिइएको थियो । यसको विरोधमा अमेरिकीहरुले बेलायती सामना बहिस्कार गरे । जसकारण बेलायतले ठूलो घाटा व्यहोर्नुपर्यो ।
बेलायतले अवैध तस्करी रोक्न बोस्टनमा दुई सैनिक टुकुडी पठाएको थियो । ५ मार्च १७७० मा बेलायतीको गोली लागेर ५ जना अमेरिकी मरे । यसलाई बोस्टन नरसंहार भनिन्छ । यसपछि अमेरिकीहरुको आक्रोश चरम हो ।
१७७१ मा प्रधानमन्त्री बनेका लर्ड नर्थले ईस्ट इन्डिया कम्पनीलाई आर्थिक संकटबाट निकाल्ने लक्ष्यका साथ १७७३ मा ‘टी पोलिसी’ घोषणा गरे ।
यस नीतिले इस्ट इन्डिया कम्पनीलाई चियामा भन्सार छुटको व्यवस्था गरिदिएको थियो । जसअनुसार कम्पनीले चीनबाट सस्तोमा चिया किनेर इंग्ल्यान्ड ल्याउँथ्यो, त्यसपछि उक्त चिया अमेरिका लगेर बेच्न पाउँथ्यो ।
इस्ट इन्डिया कम्पनीको घाटा कम गर्ने, फ्रान्सलगायत देशबाट अमेरिकामा हुने तस्करी निरुत्साहित गर्ने र सस्तो चिया बेचेर अमेरिकीहरुलाई रिझाउने लक्ष्य यसले राखेको थियो । तर चियामा कर घटाइएपनि अन्य सामाग्रीहरुमा कर बढाइएको थियो । त्यहीकारण अमेरिकीहरु खुसी हुन सकेनन् ।
स्यामुयल एडम्सको नेतृत्वमा १६ डिसेम्बर १७७३ मा स्वतन्त्रता पक्षधरहरु बोस्टनस्थित बन्दरगाहमा चियाले भरिएका इस्ट इन्डिया कम्पनीका जहाजमा चढे । उनीहरुले ३ सय ४० पेटी चिया समूद्रमा फालिदिए ।
यसपछि बेलायतले थप कठिन कानुन बनायो । बोेस्टनको बन्दरगाह पूर्ण बन्द भयो, मासाचुसेट्स उपनिवेशलाई त्यसअघि दिइएको स्वशासनको अधिकार छिनियो, बोस्टन बन्दरगाहमा भएको घटनामा संलग्नहरुलाई कारबाही गरियो ।
बेलायती सरकारले बनाएका यी कानुनको अमेरिकामा चर्को विरोध गरियो । अमेरिकीहरुले यसपछि चिया पिउन छाडेर कफी पिउन थाले । हुँदा–हुँदा चिया पिउनेलाई बेलायती राजाप्रतिको बफादार र कफी पिउनेलाई अमेरिकी राष्ट्रभक्त मान्न थालियो ।
प्रसिद्ध अमेरिकी नेता जोन एडम्सले आफ्नी पत्नीलाई लेखेको पत्रमा उल्लेख छ, 'मैले चिया छोडेर कफी खान बानी पार्नुपर्छ, यो देशका लागि आवश्यक छ ।'
अमेरिका १२ वटा उपनिवेशहरुले फिलाडेल्फियामा ८ सेप्टेम्बर १७७५ मा एउटा सम्मेलन बोलाए । यस सम्मेलनमा न्यूयोर्क, न्यू ह्याम्पशायर, म्यासाचुसेट्स, रोड आइल्याण्ड, कनेक्टिकट, न्यूजर्सी, पेन्सिलभेनिया, डेलावेर, मेरिल्याण्ड, भर्जिनिया, उत्तर क्यारोलिना र दक्षिण क्यारोलिनाका प्रतिनिधि सहभागी थिए ।
यस सम्मेलनले जारी गरेको ओलिभर ब्रान्च नामक ज्ञापनपत्र राजा जर्ज तेस्रोलाई पठाइएको थियो । उक्त पत्रमा उपनिवेशमा सबै अधिकार बहाली गर्न माग गरिएको थियो । अन्यथा सबै अमेरिकी सामान बहिस्कार गर्ने चेतावनी पनि थियो । तर, राजा जर्ज तेस्रोले यसलाई हेर्न पनि मानेनन् ।
उल्टै, प्रोक्लेमेशन अफ रिबेलियन जारी गर्दै विद्रोहमा उत्रिएका सबै उपनिवेशलाई देशद्रोही घोषणा गरे । त्यस्तै कडा सजाय पनि घोषणा गरे ।
प्रतिरोधस्वरुप फिलाडेल्फियामा १७७६, ४ जुलाईमा १३ उपनिवेशका प्रतिनिधि सहभागी भए । यसपटक जर्जिया पनि सहभागी भएको थियो । यस भेलाले अमेरिकालाई स्वतन्त्र घोषणा गर्यो ।
केही वर्षअघि बेलायतसँग युद्ध हारेर अमेरिकाका उपनिवेशहरु गुमाएको फ्रान्सले पनि बदला लिनका लागि यस युद्धमा अप्रत्यक्ष सहयोग गर्यो । फ्रान्सले हतियार उपलब्ध गराएको थियो ।
स्वतन्त्रता संग्रामका लागि जर्ज वासिङटनलाई सेनापति घोषणा गरियो । बेलायतले यस विद्रोह दबाउनका लागि ४५ हजार सैनिक पठायो । त्यसपछि विद्रोहीहरुलाई निकै कठिन भएको थियो ।
यस अवस्थापछि फ्रान्सले ६ फेब्रुअरी १७७८ मा अमेरिकाको स्वतन्त्रता संग्रामलाई मान्यता दिदैं , अमेरिकाको रक्षार्थ फ्रान्सेली सेना नै पठायो ।
फ्रान्सको प्रवेशपछि अमेरिकीहरुलाई सहज हुँदै गयो । फ्रान्सअघि स्पेनले पनि बेलायतसँगको हारले अमेरिकाका आफ्ना उपनिवेश गुमाउको थियो । त्यहीकारण ऊ पनि स्वतन्त्रताकै पक्षमा खडा भयो ।
अमेरिकामात्रै नभएर फ्रान्स र स्पेनले बेलायतका अन्य उपनिवेशमा पनि आक्रमण गरे । चौतर्फी आक्रमणपछि बेलायती सेना हतास हुँदै गयो ।
आफ्नो सैन्य शक्ति बाँडिएकाले अमेरिकामा बेलायत कमजोर हुँदै गयो । १९ अक्टुबर १७८१ मा लर्ड कोर्नवालिसले योर्कटाउनको युद्धमा आत्मसमर्पण गरे ।
त्यसपछि वार्तामार्फत स्वतन्त्रताको विषय टुंग्याउन खोजिएको थियो । तर बेलायतले आफ्नै अधिनस्थ राखेर अमेरिकालाई स्वशासनको अधिकार दिने प्रस्ताव अघि सार्यो ।
यसले फेरि युद्ध सुरु गरायो । र, युद्धमा फेरि बेलायत हार्यो । जसकारण, ३ सेप्टेम्बर, १७८३ मा बेलायतले फ्रान्स, स्पेन र अमेरिकासँग सम्झौता गर्दै अमेरिकाको स्वतन्त्रतालाई स्विकार्यो ।
१७ सेप्टेम्बर १७८७ मा अमेरिकामा नयाँ संविधान बन्यो । यो विश्वकै पहिलो लिखित संविधान थियो । ३० अप्रिल १७८९ मा जर्ज वासिंगटन संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति बने ।
विश्वको ठूलो भूभागमा बेलायत र फ्रान्सजस्ता औपनिवेशिक शक्तिहरुले शासन गरिरहेको यो समय अमेरिका सबैभन्दा ठूलो र शक्तिशाली प्रजातान्त्रिक शक्ति थियो ।
यसअन्तर्गतका राज्यहरुलाई अविशिष्ट अर्थात् संविधानमा व्यवस्था नभएका अधिकारको व्याख्या राज्यले गर्न पाउने अधिकार दिइएको थियो । अमेरिकामा सेना, मुद्रा र विदेश नीतिबाहेक बाँकी धेरैजसो अधिकार राज्यसँग रहन्छ ।
बिस्तारै उत्तर अमेरिकी महादेश अन्य उपनिवेशहरुले पनि संयुक्त राज्य अमेरिकाको झन्डामुनी बस्ने इच्छा देखाए । कालान्तरमा ओहायो, फ्लोरिडा, इलाइनोइज, टेक्सासलगायत उत्तर अमेरिकाका राज्यहरु उपनिवेश त्यागेर अमेरिकी झन्डामुनी आए ।
स्वतन्त्रताको छोटो समयमै अमेरिका समृद्ध हुन थाल्यो । बढ्दो औद्योगिकरण र रोजगारीका अवसर, सस्तो वा निशुल्क जमिनको उपलब्धता, धार्मिक तथा राजनीतिक स्वतन्त्रतालगायत कारणले ठूलो संख्यामा युरोपेलीहरु १९ औं शताब्दीमा यहाँ बसाइँ सरेर आए ।
अमेरिकामा युरोपको राजनीतिक र आर्थिक सोच भित्र्न थाल्यो । यसले बिस्तारै बिस्तारवादी मत बलियो भएर गयो ।
अलस्का र हवाईको घटनाले अमेरिका कति चाडों बदलिएको थियो भन्ने स्पष्ट देखिन्छ ।
सन् १८६७ मा अमेरिकाले रुससँग अलास्का किन्दा व्यापक आलोचना भएको थियो । किनकि, जनताहरुले भूमि बिस्तारभन्दा समृद्धी र विकासलाई प्राथमिकतामा राखेका थिए ।
सन् १८९३ मा अमेरिकाले हवाई अधिराज्यका राजालाई हटाउने र त्यसको चार वर्षपछि त्यहाँको भूभाग कब्जा गर्दा खासै ठूलो जनविरोध सामना गर्नुपरेन ।
२० औं शताब्दीमा अमेरिका विश्वको उदाउँदो शक्ति बनिसकेको थियो । यसपछि ल्याटिन अमेरिकामा पनि उसले आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न थाल्यो ।
पहिलो र दोस्रो विश्वयुद्धपछि अमेरिका प्रभूत्वशाली बन्यो ।
यी विश्वयुद्धमा युरोपका देशहरु चपेटामा परे । जबकि, अमेरिकाले थोरैमात्र क्षति व्यहोर्यो । त्यहीकारण, दोस्रो विश्वयुद्धपछि अमेरिका विश्वको महाशक्ति राष्ट्र बन्यो ।
यस अवधिमा युद्धको त्रासदीबाट बच्न र नयाँ अवसरको खोजीमा युरोपका उत्कृष्ट वैज्ञानिक, बुद्धिजीवी र धनाढ्यहरू अमेरिका ओइरिएका थिए । अमेरिकाको विश्वव्यापी प्रभूत्व बिस्तार गर्न उनीहरुले निर्णायक भूमिका खेले ।
आफ्नो राष्ट्रलाई समृद्ध बनाउने र विदेशी मामिलामा हस्तक्षेप नगर्ने मत बलियो भएको अमेरिकी समाज निकै चाडैं बदलिएको थियो ।
दोस्रो विश्वयुद्धपछि मार्शल प्लानमार्फत अमेरिकाले युरोपको पुनःनिर्माण गरिदियो । यसले अमेरिकाको आर्थिक र राजनीतिक प्रभुत्व विश्वभर बिस्तार भयो । वित्तीय केन्द्रका रुपमा अमेरिका स्थापित भयो ।
कुनै समय बेलायती साम्राज्यको उपनिवेशविरुद्ध लडेको अमेरिका, अब आफैँ विश्वको नयाँ 'साम्राज्यवादी' स्वरूपमा उदायो, जसले डलर र सैन्य उपस्थितिको माध्यमबाट विश्व राजनीतिलाई आफ्नो अनुकूल चलाउन थाल्यो ।
आज अर्थतन्त्र, कुटनीति, सुरक्षा, प्रविधिलगायत धेरै क्षेत्रहरुमा अग्रणी भएकाले अमेरिकाको छवि महाशक्तिका रुपमा छ । तर, उसको महाशक्ति छवि विवादरहित छैन ।
विश्वका अन्य देशको राजनीतिक मामिलामा हस्तक्षेप गर्ने, अस्थिरता निम्त्याउने र युद्ध सिर्जना गर्ने कार्यमा अमेरिकी राजनीतिज्ञहरु उद्दत हुने गरेका छन् । जो, अमेरिकी स्वतन्त्रता संग्रामको उपनिवेश विरोधी र अहस्तक्षेपकारी मर्मविपरीत हो । (एजेन्सीको सहयोगमा)
