पश्‍चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा पेट्रोलको भाऊ २० रुपैयाँ घट्‍यो

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो ।

असार १६, २०८३

रासस/एएफपी

कोलम्बो — पश्चिम एसियामा युद्धविरामपछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ ।  श्रीलङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ ।

अमेरिका र इरानले युद्ध अन्त्य गर्ने सहमति गरेपछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो । 

द्वन्द्वको समयमा उच्च आयात र लागत बीच सन्तुलन कायम गर्न श्रीलङ्कामा बिजुलीको शुल्क पनि एक तिहाइले वृद्धि गरिएको अधिकारीहरूले बताएका थिए ।

श्रीलङ्काले आवाश्यक सबै तेल खरीद गर्ने र बिजुली उत्पादनका लागि आयातित कोइलामा पनि निर्भर रहने अवस्था थियो । पश्चिम एसिशया द्वन्द्वले त्यसलाई थप कमजोर बनाइदिएको थियो । 

रासस/एएफपी

Link copied successfully